१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अस्पतालको लापरबाहीले गर्भमै गयो बच्चाको ज्यान

ओखलढुंगा- सोलुखुम्बुकी कमला बस्नेतका लागि पुस २२ गते महत्वपूर्ण दिन थियो। किनकी उनि त्यो दिन पहिलो पटक आमा बन्दै थिईन्। चिकित्सकले त्यही दिन उनको बच्चा जन्मिने पक्का गरेका थिए। उनि असाध्यै हर्षित थिईन्।

अध्ययनका लागि काठमाडौ बस्दै आएकी कमलाले टिचिङ्ग अस्पतालमा गर्भवती भए पश्चात नियमित गर्भ जाँच गराएकी थिईन्। पुस २२ नजिकिदै गर्दा बच्चा कहाँ जन्माउने भन्ने विषयमा उनको घरमा योजना बन्न थाल्यो। काठमाडौमा बच्चा जन्माउदा बच्चा र आमाको स्याहार नपुग्ला भनेर उनका श्रीमान पेशल कार्की र सासुको सल्लाहमा उनि सोलुखुम्बु आईन्।

पुस ४ गते फाप्लु अस्पताल सोलुखुम्बुमा कमला र उनको गर्भमा रहेको बच्चाको स्वास्थ्य परिक्षण गराईएको उनका श्रीमान पेशल कार्कीले बताए। कार्कीका अनुसार बच्चा ठूलो भएकाले फाप्लु अस्पतालले ओखलढुंगा सामुदायिक अस्पताल रेफर गर्‍यो। श्रीमानसँगै कमला पुस १८ गते ओखलढुंगा सामुदायिक अस्पताल आईन्। चिकित्सकको सल्लाहमा उनि चार दिन अगाडी देखिनै भर्ना भएर अस्पतालमा बसिन्।

किनकी गर्भमा पानी कम भएकाले कुनै पनि समयमा औषधि प्रयोग गरेर बच्चा जन्माउनु पर्ने  चिकित्सकले बताएका थिए। निर्धारित मितिमा कमलाको बच्चा नजन्मिएपछि एक सातासम्म पर्खिनु पर्ने र त्यो अवधिमा पनि नजन्मिए औषधि चलाउने चिकित्सकले बताएको श्रीमान पेशलले भने। एक सातासम्म पनि बच्चा नजन्मिएपछि पुस २९ गते बेलुकादेखि अस्पतालका चिकित्सकले औषधि चलाएका थिए।

लगातार दुई दिन चलाएको औषधिले पनि बच्चा नजन्मिए पश्चात २४ घण्टा पर्खेर पाठेघरको मुखमा पाईप राख्ने चिकित्सकले बताएका थिए। चार गते राति पाईप राखे पनि बच्चा जन्मिएन। पाठेघरमा राखिएको पाईप बाहिर आएपछी माघ ५ गते उज्यालोमा नसाबाट औषधि चलाउने तयारी अस्पतालले गरेको श्रोतले जनाएको छ। चिकित्सकले तोकेको सुत्केरी हुने मिति ११ दिन बितिसकेको थियो। ५ गते राति २ बजे बच्चाको अवस्था सामान्य भए पनि बिहान ५ बजे गर्भमै अचानक बच्चाको ज्यान गएको थाहा भयो।

अस्पतालको लापरबाहीले गर्भमै बच्चाको ज्यान गएको पेशल कार्कीले बताएका छन्। औषधिले पनि काम नगरेपछि शल्यक्रिया गर्न तथा अन्यत्र पठाउन अस्पतालसँग माग गरेको कार्कीको भनाई छ। माघ २ गते श्रीमतीलाई लिएर अन्यत्र जान खोज्दा अस्पतालले रेफर अनुमती नदिएको कार्कीले बताएका छन्।

‘दशा लागेर यो अस्पतालमा आएछु।’ उनले भने ‘अन्तै लैजान्छु भन्दा अस्पतालले डिसचार्ज दिएन।’ शल्यक्रिया गरिएकी आफ्नी श्रीमतीको उपचारमा समस्या हुने डरले यो घटना सार्वजनिक नगरेको उनको भनाई छ। नाति तथा नातिनी खेलाउने रहर बोकेर ओखलढुंगा अस्पताल आएकी कमलाकी सासु निराश भएर घर फर्केकी छन्।

गर्भमै बच्चाको ज्यान जानुका कुनै कारण नभेटिएको अस्पतालका मेडिकल सुपरिटेन्ट जोन पेडगेटले बताए। नाल बेरिएर, दिशा मुखमा परेर, नाभि छोटो भएर अधिकांश बच्चाको ज्यान गर्भमै जान्छ तर त्यस्तो कुनै कारण नभेटिएको उनले बताए। गर्भमा बच्चाको ज्यान अचानक जाने भएकाले कारण थाहा हुँदैन उनले भने। यस अस्पतालमा विगत ६ महिनाको अवधिमा तीन शिशुको गर्भमै ज्यान गइसकेको छ।

 

प्रकाशित: ९ माघ २०७६ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App