१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘हामी असुरक्षित’

नेपाल निर्माण ब्यवसायी महासंघले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका पदाधिकारी । तस्बिर : नागरिक

काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीहरु दिनप्रतिदिन असुरक्षित बन्दै गएको बताएको छ। महासंघका अध्यक्ष रवि सिंहले बुधबार पत्रकार सम्मेलन गरेर मुलुकभित्र निर्माण व्यवसायीले काम गर्ने सहज वातावरण नभएको बताए।

‘अहिले दिनहँजसो निर्माण व्यवसायीका निर्माण उपकरणमा आगजनी र निर्माण व्यवसायीमाथि आक्रमणको प्रयास भइरहेको छ,’ उनले भने, ‘राज्यले निर्माण व्यवसायी र उपकरणलाई सुरक्षाको प्रत्याभूति दिन नसकेका कारण काम गर्ने वातावरण छैन। यस्तै भइरहे निर्माण व्यवसायीले काम  ठप्प  गरेर आन्दोलनमा उत्रिनुको विकल्प छैन।’

अध्यक्ष सिंहले राज्यले निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सुरक्षाको प्रत्याभूति दिन नसकेकाले काम गर्ने वातावरण नरहेको बताए। अध्यक्ष सिंहले राज्य निर्माण व्यवसायीलाई सुरक्षा दिन असफल भएको दाबी गरे। ‘विगत तीन–चार महिनाको अवधिमा व्यवसायीका करिब २० करोडभन्दा बढीको उपकरणमा आगजनी गरिएको छ,’ अध्यक्ष सिंहले भने, ‘राज्यले सुरक्षाको प्रत्याभूति नगरे निर्माण काम अघि बढाउन सकिँदैन।’ महासंघका सल्लाहकार रमेश शर्माले असुरक्षाका कारण साइटमा मजदुर बस्न सक्ने अवस्था नरहेको बताए।

महासंघको २१औं साधारण सभाले ३० बुँदे घोषणापत्र जारी गर्दै पूर्वाधारमैत्री नीतिगत व्यवस्थाले मात्र विकास निर्माणलाई प्रभावकारी कार्यान्वयन गर्न सकिने ठहर गरेको महासंघका महासचिव रोशन दाहालले बताए। घोषणापत्रलाई नेपाल सरकारसँग सहकार्य गरी संशोधन गर्नुपर्ने नीतिगत कार्य, भ्याट तथा राजस्व, प्रतिबद्धता कार्यान्वयन, व्यावसायिक प्रवद्र्धन र अन्तर्राष्ट्रिय सम्बन्धको विकास तथा व्यावसायिक सुदृढीकरणसम्बन्धी बुँदा समेटिएको छ। 

महासंघको साधारणसभा सँगसँगै महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इन्डियाको संयुक्त आयोजनामा सम्पन्न नेपाल बिल्डटेक एक्स्पो २०२०  करिब पाँच हजारले अवलोकन गरेको महासंघले जनाएको छ। महासंघले आफ्नो इतिहासमा पहिलोपटक आयोजना गरेको यस एक्स्पोमा करिब दुई अर्ब बराबरको प्रतिबद्घता सहितको कारोबार भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। महासंघको २१औं साधारणसभाले ३० बुँदे घोषणापत्र जारी गरेको छ।  

महासंघले लागत अनुमानको १५ प्रतिशतभन्दा बढी घट्ने बोलपत्रदाताले थप कार्यसम्पादन जमानत दाखिला गरी खरिद सम्झौता गर्नुपर्ने व्यवस्था खारेज हुनुपर्ने माग गरेको छ। त्यसैगरी, महासंघले उपभोक्ता समिति, नेपाली सेना र हालै नेपाल सरकारले दर्ता गरेको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबाट सिधै निर्माण कार्य गर्ने व्यवस्थालाई खारेज गर्नुपर्ने, जतिसुकै अवधिको जस्तो सुकै निर्माण कार्य खरिदमा पनि मूल्यवृद्धि समायोजन र बोनसको व्यवस्था हुनुपर्ने लगायत माग राख्दै आएको छ।

कहाँ र कहिले क्षति
–    २०७५ फागुनदेखि करिब तीन महिना सक्रिय निर्माण व्यवसायीलाई अज्ञात समूहद्वारा ज्यान मार्ने धम्की ।
–    २०७५ चैत २८ गते : डिभिजन सडक कार्यालय कञ्चनपुरबाट पुल निर्माणको जिम्मा पाएको राजेन्द्र/मालिका जेभीको क्याम्पमा रहेको ब्याकहो लोडरमा आगजनी
–    २०७६ भदौ २६ गते : बेनी नगरपालिका–५ स्थित बगुवाखोला नजिक बिएन कन्सट्रक्सनका तीनवटा स्काभेटरमा आगजनी
–    २०७६ मंसिर १० गते : बागलुङ नगरपालिका, पञ्चकोटमा सडक निर्माणमा प्रयोग गरिएको फेवा कन्सट्रक्सनको काम गरिरहेको पहारी कन्सट्रक्सन एन्ड विल्डर्सको एक थान रोलरमा आगजानी।
–    २०७६ मंसिर १४ गते : मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–दिक्तेल सडक खण्ड निर्माण गरिरहेको गोल्डेन गुड शेर्पा कन्सट्रक्सनका चारवटा स्काभेटरमा आगजनी
–    २०७६ माघ ५ गते : शर्मा–भिमेश्वर जेभीको स्वमित्वमा रहेका तीनवटा स्काभेटरमा मोरङ जिल्ला, मिक्लाजुङ गाउँपालिकाको आइतबारेमा आगजनी।
–    २०७६ माघ ५ गते : झापा जिल्लाको सेतुमारीमा शर्मा एन्ड शर्मा कम्पनीको स्वामित्वमा रहेको दुईवटा उपकरणमा आगजनी

स्रोत : नेपाल निर्माण व्यवसायी महासंघ   

प्रकाशित: ९ माघ २०७६ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App