१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सडककाे ठेक्का सकियो, काम २५ प्रतिशत मात्र

ठेक्काको म्याद सकिइसकेको विर्तामोड–भद्रपुरसम्म पुग्ने रोडको अहिलेसम्म २५ प्रतिशत मात्र काम भएको छ। तस्बिर : नागरिक

दमक – झापाको विर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर रोडको निर्माण अवधि सकिए पनि काम भने २५ प्रतिशत मात्र भएको छ। आशिष प्रेरा जेभीले निर्माणको ठेक्का लिएको सो रोडमा विभिन्न विवादका कारण काम अघि बढ्न सकेको थिएन।

गत मंसिर ११ गतेदेखि स्थानीय निर्माण व्यवसायी केदार गिरीले स्थानीय ठेकेदारको रूपमा काम गरिरहेका छन्। सम्झौताअनुसार सडक निर्माणको काम सक्नुपर्ने २०७६ पुस मसान्त हो। ‘मैले काम सुरु गरेपछि कामलाई तीव्र बनाएको छु,’ ठेकेदार गिरीले भने, ‘टेलिकम, विद्युत् र खानेपानीको पोल र पाइपले अहिले पनि काम गर्न अप्ठ्यारो भइरहेको छ।’ उनले असार मसान्तसम्ममा काम सकेर हस्तान्तरण गर्ने बताए।

सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले कार्य प्रगतिअनुसार मात्रै ठेक्काको सम्झौता मिति थपिने बताए। ‘काम कसरी अघि बढेको छ, त्यसमै भर पर्छ,’ प्रमुख यादवले भने, ‘पछिल्लो सार्वजनिक खरिद ऐन संशोधनले थप निर्णय गर्नेछ।’ सार्वजनिक खरिद ऐनले एक वर्षभित्र सबै निर्माणका काम सक्नुपर्ने व्यवस्था गरेको छ। तर, आशिष प्रेरा जेभीले सात महिना म्याद थप्न अनुरोध गर्दै डिभिजन सडक कार्यालय दमकमा निवेदन दर्ता गराएको छ।

विर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सुरुमा ठेक्काको पैसा नपाएर काम अगाडि बढाएको थिएन। व्यवसायी गिरीले काम थालेपछि मात्र खानेपानीसँग समन्वय भएको र हाल सबै सामग्री आइसकेकाले कामले तीव्रता पाउने अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए।

विद्युत्को पोल सार्न केही ढिलाइ भएको र केही दिनभित्र काम अघि बढ्ने दाबी विद्युत् प्राधिकरणको छ। ‘विद्युत् प्राधिकरणलाई पोल सार्ने सबै पैसा खातामा पठाइसकेका छौं, टेलिकमको केही बाँकी छ,’ सडकका प्रमुख यादवले भने, ‘काम सकेपछि पैसा दिने जिम्मा हाम्रो हो, कसैले पनि पैसाका कारण काम भएन भन्न पाउने अवस्था छैन।’

प्रमुख यादवका अनुसार २ दशमलव ८ किलोमिटर सडक १६ मिटर चौडाइ, १ मिटर नाली र फुटपाथसहित २३ मिटर चौडाइको बनाउनुपर्नेछ। बाँकी सडक सात मिटर चौडाइमा दुई लेनको मापदण्डअनुसार बन्नेछ। पाँच सेन्टिमिटरसम्म आस्फाल कंक्रिट प्रयोग गरेर सडक निर्माण गर्न ठेकेदारले जिम्मा लिएको छ। निर्माण कम्पनीले २०७६ असोज ६ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर निर्माण कम्पनीले विद्युत्को पोल सार्न समस्या भएकाले निर्माणको काम अघि बढ्न नसकेको भनेर पुस मसान्तसम्म म्याद थपिएको थियो। तर, निर्धारित समयसम्म पनि सडक निर्माण सकिएन।

प्रकाशित: ९ माघ २०७६ ०३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App