१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले पाकिस्तान भ्रमण गर्ने

इस्लामावाद – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान भ्रमण गर्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। पाकिस्तानी अधिकारीहरूले यसबारेमा जानकारी गराएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ। पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुुरेशीले राष्ट्रपति ट्रम्पले निकट भविष्यमा नै पाकिस्तान भ्रमण गर्ने सम्भावना रहेको बुधबार जानकारी गराएका छन्। 

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति ट्रम्पबीचमा डाभोसमा भएको भेटका क्रममा ट्रम्पको पाकिस्तान भ्रमणका बारेमा कुराकानी भएको कुुरेशीले बताएका छन्। विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएका बेला दुई नेताहरूबीच ‘साइड लाइन’ वार्ता भएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्प र पाकिस्तानी खानबीच कुराकानी भएको एक घण्टापछि विदेशमन्त्री कुुरेशीले राष्ट्रपति ट्रम्प पाकिस्तान आउने सम्भावना रहेको बताएका हुन्। आफूले चाँडै पाकिस्तानको भ्रमण गर्न सक्ने बारेमा राष्ट्रपति ट्रम्पले हामीलाई आश्वस्त पार्नुभएको छ,’ कुुरेशीले भनेका छन्। 

उनले आफ्नो वक्तव्यका क्रममा ट्रम्पको भ्रमणको मिति भने तय भइनसकेको बताएका छन््। पाकिस्तानी प्रधानमन्त्री खानले अमेरिकी राष्ट्रपति ट्रम्पसँग पाकिस्तान भ्रमणबाहेक अन्य पनि धेरै विषयमा कुराकानी गरेको बताइएको छ। पाकिस्तानप्रति अमेरिकाले हेर्ने दृष्टिकोणमा सुधार गर्नेलगायत महत्वपूर्ण विषयमा नेताहरूबीच छलफल भएको थियो। सुरक्षाको कारण देखाउँदै अमेरिकाले बेलाबेलामा आफ्ना नागरिकलाई पाकिस्तान भ्रमण नगर्न निर्देशन दिने गरेको बारेमा पनि प्रधानमन्त्री खानले राष्ट्रपति ट्रम्पको ध्यानाकर्षण गराएको जनाइएको छ। 

ट्रम्प र खानबीच व्यापार तथा लगानीका विषयमा पनि विशेष प्राथमिकताका साथ सहकार्य गर्ने सहमतिसमेत भएको पाकिस्तानी विदेशमन्त्री कुुरेशीले जानकारी गराएका छन्।

प्रकाशित: ९ माघ २०७६ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App