१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रञ्जितको गोलमा मच्छिन्द्र विजयी

पुलिसको भरत शाह (रातो) र मछिन्द्रका पिटर सेगुन बलका लागि प्रतिस्पर्धा गर्दै । तस्बिर सौजन्य : एन्फा

 काठमाडौ - रक्षक रञ्जित धिमालको निर्णायक गोलमा नेपाल पुलिसमाथि संघर्षपूर्ण जितका साथ मच्छिन्द्र क्लबले कतार एयरवेज  सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत  शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आठौं चरणको पहिलो खेलमा मच्छिन्द्रले पुलिसलाई १–० ले हराएको हो। खेलको ५३औं मिनेटमा रञ्जितले फ्रिकिकमा गरेको गोल नै मच्छिन्द्रलाई  स्पष्ट ३ अंक जोड्न पर्याप्त भयो। यस जितपछि ८ खेलमा १६ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा यथावत् छ। एक खेल कम खेलेको आर्मी समान १६ अंकका साथ शीर्ष स्थानमा छ। साबिक विजेता मनाङ मर्स्याङ्दी क्लब १३ अंकका साथ तेस्रो स्थानमा छ। ७ खेलमा ११ अंक जोडेको (न्युरोड टिम) एनआरटी चोैथो स्थानमा छ भने समान ११ अंकका साथ थ्री स्टार पाँचौ स्थानमा छ। पुलिस भने ११ अंकका साथ छैटौं स्थानमा छ।

‘जित संघर्षपूर्ण देखिए पनि हामी स्पष्ट ३ अंक जोड्न सफल भयौँ ,’मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘टोलीको प्रदर्शन भने सन्तोषजनक छैन। सिनियर खेलाडीले नै बल नियन्त्रण गर्न सकिरहेका छेैनन्। मिस पास धेरै भइरहेका छन्। हामीले आज अन्य खेलको तुलनामा उल्लेख्य गोलको अवसरसमेत र्सिजना गर्न सकेनौँ। दुई गोल अफसाइड भयो। त्यसले पनि जितअन्तर कम भयो ।’

‘पछिल्लो खेलमा हिमालयन शेर्पासँग पराजित भएपछि खेलाडी निराश भएका थिए,’ प्रवेशले भने, ‘त्यसैले उनीहरूले हतारिएर खेलेको जस्तो देखियो। यो जितले टोलीको मनोबल बढेको छ। अहिले अंकतालिका निकै प्रतिस्पर्धात्मक देखिएको छ। त्यसैले अबको हरेक खेल हाम्रा लागि फाइनलसरह छन्।’ पहिलो हाफको इन्जुरी समयमा रञ्जितले गरेको फ्रिकिकमा स्ट्राइकर सोमिडे आलुवावुन्मीले गोल गरे पनि अफसाइड भएपछि मच्छिन्द्र अग्रता दोब्बर पार्न चुकेको थियो । ६८औं मिनेटमा पुलिसले खेलमा फर्कने सुनौलो अवसर पाएको थियो। रक्षक निरकुमार राईले गरेको प्रंहार मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोक्दा रिबाउन्डमा पुलिसका रक्षक सन्तोष हिमरनले गरेको हेड प्रहार अकासिएपछि पुलिस निराश बनेको थियो ।

८१औं मिनेटमा कप्तान सुजल श्रेष्ठले गरेको प्रहार पुलिसका गोलकिपर शत्रुघ्नकुमार चौधरीले रोक्दा रिबाउन्डमा प्राप्त बललाई मच्छिन्द्रका विशाल राई ‘ए’ले जाली चुमाए पनि अफसाइड भएको भन्दै त्यो गोलले पनि मान्यता पाएन। पुलिसका प्रशिक्षक अनन्त थापाले गोलकिपर शत्रुघ्नको एउटा गम्भीर गल्तीका कारण अंक गुमाउनुपरेको बताए।‘ त्यो न्यारो एङगल थियो, लामा दूरी पनि थियो,’ अनन्तले भने, ‘गोलकिपरसँग सो बललाई जज गर्ने धेरै समय थियो। तर उनको गम्भीर गल्तीमा गोल खान पुग्यांै। त्यो नै खेलको टर्निङ प्वाइन्ट बन्यो।’

‘मच्छिन्द्र लिगकै उत्कृष्ट टोल हो र हामीले पनि त्यही अनुसार रक्षात्मक खेल्दै काउन्टर अट्याकको रणनीति बनाएका थियौं,’ अनन्तले भने, ‘गोल खानु अघिसम्म ठीकेै चलिरहेका थियौँ । एक गोलले पछि परेपछि हामीले दबाबमा खेल्नुप-यो। यो हारले हाम्रो च्याम्पियन बन्ने लक्ष्यमा ठूलो धक्का लागेको छ।’ लिगअन्तर्गत बिहीबार हुने दिनको पहिलो खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पाा आमनेसामने हुँदा दोस्रो खेलमा जावलाखेल युथ क्लब र एपिएफबीच खेल हुनेछ। दुवै खेल दशरथ रंगशालामा हुनेछन् । जितपछि ८ खेलमा १६ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा यथावत् छ। एक खेल कम खेलेको आर्मी समान १६ अंकका साथ शीर्ष स्थानमा छ ।

प्रकाशित: ९ माघ २०७६ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App