१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दोस्रो दिन बलभद्र शीर्षमा

धरान - सूर्य नेपाल इस्टर्न ओपन २०२० मा दोस्रो दिन स्थानीय व्यावसायिक खेलाडी बलभद्र राई(मणि) शीर्ष स्थानमा उक्लिएका छन् ।

पार ७० को निर्वाणा गल्फ कोर्समा दोस्रो दिन बुधबार तेस्रो स्थानबाट खेल सुरु गरेका उनले उत्कृष्ट ५ अन्डर ६५ को कार्ड बनाउँदै शीर्ष स्थानमा उक्लिएका हुन्। दोस्रो दिन ३६ होलको खेल समाप्तिमा उनी कुल ६ अन्डर १ सय ३४ स्कोरका साथ शीर्ष स्थानमा छन्। पहिलो दिन उनी १ अन्डर ६९ स्कोर गर्दै तेस्रो स्थानमा रहेका थिए। दोस्रो दिनको खेल सकिँदा व्यावसायिकतर्फ  उनीभन्दा ३ स्ट्रोकले पछि रहँदै स्थानीय शुक्रबहादुर राई दोस्रो स्थानमा छन्।

बलभद्रले बुधबार फ्रन्ट नाइनमा ३ अन्डर ३३ स्कोर खेल्ने क्रममा दोस्रो, पाँचौं, छैटौं र सातौं होलमा बर्डी खेले भने चौथो होलमा बुगी खेपे। यस्तै, ब्याक नाइनमा २ अन्डर ३२ स्कोर गर्ने क्रममा १७औं र १८औं होलमा बर्डी गरे। शीर्ष स्थानमा रहेका बलभद्रले सोचेको भन्दा धेरै राम्रो खेलेको प्रतिक्रिया दिए। ‘अन्डर खेल्छु भन्ने थियो, तर ५ अन्डर नै खेल्छु भन्ने लागेको थिएन,’ उनले भने,‘फ्रन्ट नाइट ३ अन्डर खेलेपछि ब्याक नाइनमा त्यसलाई जोगाउने मात्र सोचेको थिएँ, १७औं र १८औं होलमा अ्रन्डर खेलें ।’ उनले बुधबार ड्राइभ, चिप र पट सबैले आफूलाई साथ दिएको  बताए।

व्यावसायिकतर्फ दोस्रो स्थानमा रहेका शुक्रबहादुर राईको कुल ३ अन्डर १ सय ३७ स्कोर छ। उनले बुधबार लेभल पार ७० को कार्ड बनाउने क्रममा फ्रन्ट नाइन इभन पार ३६ र ब्याक नाइन इभन पार ३४ खेले। उनले फ्रन्ट नाइनमा छैटौं होलमा बर्डी खेल्दै स्ट्रोक जोगाए पनि आठौं होलमा बुगी खेपेका थिए। ब्याक नाइनको १६औं होलमा बर्डी गरे पनि १८औं होलमा बुगी खेपेका थिए। शुक्रले मंगलबार पहिलो दिनको खेल ३ अन्डर ६७ मा समाप्त गर्दै दोस्रो स्थानमा रहेका थिए।

लेभल पार ७० कार्ड बनाएका शिवराम श्रेष्ठ कुल १ ओभर १ सय ४१ स्कोरका साथ तेस्रो स्थानमा उक्लिएका छन्। उनले पहिलो दिन मंगलबार १ ओभर ७१ को कार्ड बनाउदै संयुक्त रूपमा चौथो स्थानमा थिए। बुधबार उनले फ्रन्ट नाइनमा इभन पार ३६ को कार्ड बनाउने क्रममा दोस्रो र छैटौं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए पनि नवौं होलमा डबल बुगी खेपेका थिए। ब्याक नाइन पनि इभन पार ३४ कार्ड बनाउने क्रममा उनले १४औं र १५औं होलमा बुगी खेपे पनि १७औं र १८औं होलमा बर्डी गरेका थिए ।

दोस्रो दिनको खेल सकिँदासम्म कुल ४ ओभर १ सय ४४ समान स्कोरका साथ दिनेश प्रजापति, शिवकुमार माझी र धनबहादुर थापा संयुक्त चौथो स्थानमा  छन्। दिनेशले पहिलो दिन १ ओभर ७१ र दोस्रो दिन ३ ओभर ७३ स्कोर गरेका थिए। शिवकुमारले पहिलो र दोस्रो दिन समान २ ओभर ७२ स्कोर गरे भने धनबहादुरले पहिलो दिन ३ ओभर ७३ र दोस्रो दिन १ ओभर ७१ स्कोर खेले । दोस्रो दिन खेल सकिँदा कुल ५ ओभर १ सय ४५ स्कोरका साथ भुवन नगरकोटी र सञ्जय लामा संयुक्त रूपमा सातौं स्थानमा छन् भने ६ ओभर १ सय ४६ स्कोरका साथ जयराम श्रेष्ठ र दीपक मगर संयुक्त नवौं स्थानमा छन्।

एमेच्योरतर्फ भने स्थानीय निरज तामाङ कुल ५ अन्डर १ सय ३५ स्कोरका साथ शीर्ष स्थानमा छन्। पहिलो दिन ६ अन्डर ६४ को कार्ड बनाउँदै समग्र शीर्ष स्थानमा रहेका उनले दोस्रो दिन १ ओभर ७१ को कार्ड बनाए। यस्तै, एमेच्योरतर्फ सुन्दर राई ७ ओभर १ सय ४७ स्कोरका साथ दोस्रो स्थानमा छन् भने ९ ओभर १ सय ४९ स्कोरका साथ तेस्रो स्थानमा छन्। दोस्रो दिनको खेल सकिँदा कट जोगाएर २४औं स्थानसम्म रहेका ३१ खेलाडी तेस्रो दिनका लागि छनोट भएको नेपाल प्रोफेसनल गल्फर्स एसोएिसनले जनाएको छ।

प्रकाशित: ९ माघ २०७६ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App