१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ग्रीसमा पहिलो महिला राष्ट्रपति

एथेन्स – वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश ग्रीसको पहिलो महिला राष्ट्रपति बनेकी छन्।
राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरेकी थिइन्। ग्रीसको विदेश नीतिमा सङ्कट बढ्दै गएको अवस्थामा उनको नाममा भएको सहमतिले राम्रो सङ्केत गरेको केही जानकारहरुको भनाई छ।    
“ग्रीसको खुलापन र भविष्यका लागि यो शुभ सङ्केत हो,” प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले भने। उनले साकेल्लारापोलोउलाई राष्ट्रपतिमा चयन गरियोस् भन्दै बुधबारको संसद बैठकमा पेश गरेका छन्।    
चार दशकदेखि न्याय क्षेत्रमा सक्रिय अनुभवी ६३ वर्षीया साकेल्लारापोलोउले सन् २०१८ देखि ग्रीसको माथिल्लो प्रशासनिक अदालत (काउन्सिल अफ स्टेट)को अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेकी छन्। यो पद सम्हाल्ने उनी पहिलो महिला पनि हुन्।
सर्वोच्च अदालतका न्यायाधीशकी छोरी साकेल्लारापोलोउले पेरिसको सोर्बोन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गर्नुका साथै संवैधानिक र वातावरणीय कानूनमा विशेषज्ञ हुन्।
मुख्य विपक्षी वामपन्थी नेता अलेक्सिस सिप्रासले साकेल्लारापोलोउ एक “असाधारण न्यायाधीश“ र मानव अधिकारको पक्षधर रहेको बताए। समाजवादी किनाल पार्टीले पनि समर्थन जनाइसकेको छ।    
प्रधानमन्त्री मिट्सोटाकिसले यस पटक राष्ट्रपतिका लागि महिलाको छनौट मात्र होइन कुनै दलको सदस्य नरहेको व्यक्ति पनि राष्ट्रपतिमा उम्मेदवार बनेकोले विगतको लामो परम्परा तोडिएको बताए। विगतका राष्ट्रपतिहरू प्रायः पार्टीका वरिष्ठ व्यक्तित्वहरू रहने गरेका थिए।  रासस/एएफपी

प्रकाशित: ८ माघ २०७६ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App