१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'सामाजिक मान्यतालाई छोड्न कहाँ सकिन्छ र ?'

भवन शिलान्यासका क्रममा बिधि पूजा गर्दै मन्त्री बर्षमान पुन । तस्बिर: दिनेश/नागरिक

रोल्पा- उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनलाई पण्डितले तयार गरेको कुशको औँठी दाहिने हातको पैति औलामा लगाउन दिए। बिधि पूर्वक मन्त्र उच्चारण गर्दै जग खनेको खाडलमा पूजा गर्न लगाए। पूजाकोबीचमा सङ्खसँगै घण्टी पनि बज्यो। झरीमा छाता ओढेर डिलमा उभिएका एक पुराना कम्युिनष्ट कार्यकर्ता बिस्तारै बरबराए ‘हेर्दा हेर्दै यस्तो पनि देख्न पाईयो।’ उनको गुनासो मन्त्री तिरै लक्षित थियो ‘हिजो जुन बिधिलाई रुढिवादी र ढोँगी मानिन्थ्यो आज त्यही बिधि त उपयुक्त रैछ।’

मन्त्री पुनले श्रीमती पूर्वसभामुख ओनसरी घर्तीसँगै गत बिहीबार रोल्पा सदरमुकाममा ब्रहृमाकुमारी ईश्वरीय बिश्वविद्यालयको ओम शान्ति परिवारले करिब ३ करोड ३४ लाख रुपैयाँको लगानीमा निर्माण थालेको ‘ब्रहृमाकुमारीज सुख शान्ति भवन’को शिलान्यास गरेका थिए। बिगत १० वर्षे सशस्त्र विद्रोह ताका अति ठूलो अपराध मानिने धर्म कर्म र पूजा आजामा उनै विद्रोही कमाण्डरलाई देखेपछि कार्यकर्ताले बिस्तारै गुनासो गरेका हुन्।

धर्म अफिम हो भन्दै मन्दिरमा गर्नै नहुने गतिबिधि गरेका तत्कालीन बिद्रोहीका नेता कार्यकर्ताहरु यतिबेला धर्मले तोड्दैन बरु मानिसको भावना जोड्छ भन्ने बिश्वासमा पुगेको यो घटनाले प्रस्ट देखाउछ। जिल्ला स्तरमा रहेका कतिपय उग्रधारका बामपन्थी कार्यकर्ताहरु पनि आज घरमा गरिने पूजाआजामा ब्यस्त देखिन्छन् भने परम्परागत चाँडवाँड, रितिरिवाज जोगाउन लागिरहेका हुन्छन्।

मन्त्री पुनले बिधि पूर्वक पूजा गर्दै भवन शिलान्यास गरेको नजिकबाट नियालेका पुराना पत्रकार काशिराम डाँगी उतिबेलाको विद्रोही शक्ति अब सही लाईनमा आएको भनेर बुझ्न सकिने बताउँछन्। पूर्व अतिबादीहरुको आचरण नजिकबाट नियालेका पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने बिस्तारै अतिबाद घट्दै गएको बताउदै भन्छन्, ‘बिचारमा अडिक नहुनुको परिणाम हो। यो एक प्रकारले बिचार बिचलन हो।’

‘हिजो सच्चा क्रान्तीकारी देखिन मनले स्वीकार नगरेका गतिबिधि पनि गरियो। १० वर्ष लडियो। परिवर्तन पनि भयो तर समग्रतामा सामाजिक मूल्य मान्यतालाई छोड्न कहाँ सकिन्छ र।’ एक माओवादी लडाकूले भने ‘संस्कार त मनमा छँदैछ नि। धर्म र संस्कृतीले जहिले पनि जोड्छ भन्ने बुझियो।’
 

 

प्रकाशित: ८ माघ २०७६ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App