१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

गुरुङ समुदायको महिना

नेपालीमा उखानै छ ‘पुस फासफुस’ । नेपाली संस्कृतिअनुसार पुस महिनामा अन्य महिनाको तुलानामा कमै चाडपर्व पर्ने गर्छ । यद्यपि गुरुङहरुको नयाँ वर्ष तमु ल्होसार भने पुस १५ गते पर्छ । गुरुङ समुदायले यसलाई धुमधामका साथ मनाउँछन् भने क्रिश्चियन धर्मावलम्बीहरुले क्रिसमस डे मनाउँछन् । क्रिश्चियन धर्मका संस्थापक जिसस क्राइस्टको जन्म दिनलाई क्रिश्चियन धर्मावलम्बीले मेरी क्रिसमसको रुपमा मनाउने गर्छन् ।

संस्कृतिविद् ओम धौ भडेल जाडो महिना भएकाले पर्वहरु नभएको हुन सक्ने बताए । ‘हामी हिमाली देशमा बस्ने भयौँ, यो महिनामा धेरै हिमपात पर्ने भयो,’ भडेलले भने, ‘सायद पर्वहरु कम परेर जाडोमा सहज बनाइदिएको होला ।’
पौष वा पुस हिन्दू महिनाहरूको १२ महिना मध्येको नवौँ महिना हो । सौर्यमासका अनुसार पुस महिना धनु संक्रान्तिका दिनबाट सुरु हुन्छ भने चन्द्रमासका अनुसार पुस महिना मंसिर पूर्णिमाको भोलिपल्टदेखि सुरु हुन्छ । शाक्य पञ्चाङ्गका अनुसार भने यो महिना धनु संक्रान्तिको ५ दिन पछाडि सुरु हुन्छ । नेपालमा सौर्यमास सूत्रलाई नै व्यवहारमा ल्याइएको छ । पुस हेमन्तऋतुको दोस्रो महिना हो । अंग्रेजी महिनाहरूको आधा डिसेम्बरको महिना र आधा जनवरी महिना पुस महिनामा पर्दछ ।

शरदऋतुको समाप्तिपछि हेमन्त ऋतु सुरु हुन्छ । हेमन्त ऋतुमा मौसम चिसो हुन्छ । प्रायःजसो हिमपात यसै ऋतुमा हुने भएकाले यो ऋतुको नामै हेमन्त ऋतु रहन गएको संस्कृतिविद्हरुको भनाइ छ ।

ग्रह शान्ति गर्न ल्होसार
संस्कृतिविद् जगमान गुरुङका अनुसार तमु ल्होसार अनादिकालदेखि चल्दै आएको हो । तमु ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाँ सम्बत सुरु भएको सङ्केत गर्दछ ।  संस्कृतिविद् गुरुङका अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ । यसको उत्पत्ति कस्ले कहिले किन गर्‍यो भन्ने जानकारी आजसम्म भेट्याइएको छैन । ‘यो ल्होसारका दिन ग्रह शान्ति गर्ने चलन छ,’ गुरुङले भने, ‘खानेकुरामा अन्य जातजातिको जस्तो परिकार यहाँ पहिले हुँदैनथ्यो मासु र भात खाने चलन छ ।’

गुरुङका अनुसार पूजामा कोदोको राशिअनुसार कोदोको कसार बनाइन्छ र लामाले बोलाएर पूजा गरिन्छ । ‘घरमा सबैको ग्रहशान्ति गरिन्छ,’ गुरुङले भने सात्तो भगाउन पूजा गरिसकेपछि छोरीमान्छेलाई सात सरा र छोरा मान्छेलाई ९ सरा डोरी बाधिन्छ ।’

ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ । साँझ पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोगभेट, आशिष आदान–प्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाई धुमधामका साथ यो पर्व मनाइन्छ ।

ल्होसारको दिन गुरुङ जातिहरू आफ्नै शैलीका भेषभूषा जस्तै शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिट्को गुन्यु र पछ्यौरा महिलाहरूले लगाएर सजिन्छन् भने पुरुषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातिले जस्तै गुरुङ जातिको पनि पर्व मनाउने आफ्नै शैली छ, यी जातिमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाइहरूसँग रमाइलो गर्छन् । गुरुङहरु पनि हिन्दू र बुद्धिस्ट हुने गर्छन् तर ल्होसार सांस्कृतिक पर्व भएको हुँदा धर्मले कुनै प्रभाव नपार्ने संस्कृतिविद् जगमान गुरुङको भनाइ छ ।

नेपालको मनाङ, हुम्ला, भुटानको केही स्थान र तिब्बतको कैलाश मानसरोवरमा पौष शुक्ल प्रतिपदाको दिनमा तोला ल्होछार मनाउने चलन छ ।

गण्डकीका खस जातिको ज्यान तताउने मेलो
खसजातिको पुस महिनामा खासै चाडपर्व पर्दैन । संस्कृतिअनुसार यो महिना विवाहका लागि पनि उपयुक्त मानिँदैन । तर पुस १५ गते कालिगण्डकीको पूर्व र त्रिशुलीको पश्चिम भेकका जातिले विशेष खान्की खाने संस्कृतिविद् भडेलले बताए । पुस १५ मा तोरीको तेलमा पकाएको मासको फुरौला, अनदीको चामल घ्यूमा पकाएको लट्टे खाने चलन छ । यो खानुको उद्देश्य नै जाडोमा तातो बनाउने रहेको संस्कृतिविद् जगमान गुरुङको भनाइ छ ।

मेरी क्रिसमस
क्रिसमस विश्वभरका इशाई धर्मावलम्बीहरूले इशा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन क्रिश्चियन धर्मावलम्बीहरुलाई सार्वजनिक बिदा दिइन्छ । क्रिसमसदेखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि सुरुवात हुन्छ ।  इशाइ धर्मावलम्बीहरुले उपहार आदान–प्रदान, चर्चको सेवा, पारिवारिक तथा सामाजिक जमघट, क्रिसमस सजावट गरेर मनाउने गर्छन् ।
 

प्रकाशित: ८ माघ २०७६ ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App