१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

तेस्रो पटक बैठक स्थगित

काठमाडौं – नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोट प्रक्रिया लम्बिएको छ।

सिइओ छनोट गर्न सोमबार बोलाएको बैठक छलफल नै नगरी तेस्रो पटक अनिश्चितकालका लागि स्थगित गरिएपछि छनोट प्रक्रिया लम्बिएको हो। गत मंसिर १८ मा पर्यटन बोर्डले विज्ञापन गरेर सिइओको लागि आवेदन माग गरेको थियो। यसमा १७ जनाले आवेदन दिएको र तीन जनाको नाम सिफारिस भए पनि अझै सिइओ नियुक्त गरिएको छैन।

तत्कालीन सिइओ दीपकराज जोशीको कार्यकाल गत डिसेम्बर २४ मा सकिएको छ। एक महिनादेखि बोर्ड नेतृत्वविहीन हुँदा ‘नेपाल भ्रमण वर्ष २०२०’ समेत प्रभावित बनेकोे छ। सिइओ नियुक्तिका लागि सिफारिस गर्न बनेको उपसमितिका सदस्यले दुई महिनादेखि थालेको छनोट प्रक्रिया अन्त्यमा आएर राम्रालाई भन्दा हाम्रालाई ल्याउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्। छनोटमा परेका भनिएका तीन जनामध्ये हिक्मतसिंह ऐर, दिपक वास्ताकोटी र धनन्जय रेग्मी छन्।

बोर्डका सदस्य दिपक महतले १७ जना प्रतिस्पिर्धीबाट तीन जनाको नाम सिफारिस भएको जानकारी दिँदै छनोट प्रक्रियाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको बताए। बोर्डका अध्यक्षसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको कार्यब्यस्तताले बोर्डको नयाँ सिइओ छनोटमा ढिलाइ भएको महतले नागरिकलाई बताए । ‘पहिलो, दोस्रो र तेस्रो बठैक निर्णयविहीन भएका छन्,’ उनले भने, ‘अर्काे बैंठक कहिले बस्ने भन्ने कुनै जानकारी छैन। ह्वाटअप ग्रुपमा अहिलेसम्म बैठक कहिले बस्ने वा बैठकका लागि तयार हुनु भनि कुनै सूचना आएको छैन। बोर्डले पाउने नयाँ नेतृत्व अध्यक्षको कार्यब्यस्तता सँग जोडिएको छ ।’

उनले नियमावली अनुसार बाहिर हल्ला भएजस्तै पाँच जनाको नाम सिफारिस गर्न नमिल्ने बताए। ‘आलटाल गरेर नियुक्तिको विषयमा कार्यविधि नै परिवर्तन गर्न खोजिएको हुनसक्छ।’ उनले भने, ‘पाँच जनाको नाम नियमावलीमा छैन। यस्तै ढिलासुस्ती वा राम्रालाई नभएर हाम्रालाई छनोट गर्ने प्रयास भए बोर्डमा अख्तियार पस्ने र पर्यटन बोर्ड सिइओविहीन हुने पक्का छ।’ सिइओ छनोट उपसमितिका सदस्य रहेका पर्यटन बोर्ड सदस्य कृष्णबहादुर महराले सामाजिक सञ्जाल फेसबुकमार्फत छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्।

‘सिइओ छनोट गर्न बोलाइएको पर्यटन बोर्डको बैठक छलफल नै नगरी पटक पटक स्थगित गरिएको र अहिले आएर अर्को सूचना नआएसम्मका लागि भनेर बैठक स्थगित गरिएको सूचना आएको जानकारी आएको छ,’ उनले फेसबुकमा लेखेका छन्। ‘बोर्डको बैठकमा सम्भावित तीन जनाको विषयमा छलफल गर्ने हो कि नेताको घरघरमा गएर चाकडीको शैली प्रदर्शन गर्ने हो ?’ फेसबुकमा उनले लेखेका छन, ‘पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणामा नेपालको पर्यटन विकास गर्ने उद्देश्यले गठन भएको संस्थालाई यस्तै मनोवृत्तिको नेतृत्वका कारण नेपाल टुरिजम बोर्डको आन्तरिक व्यवस्थापन जर्जर भएको छ, भ्रष्ट्राचार मौलाएको छ,’ उनको स्टाटसमा उल्लेख छ ।

राम्रो र सक्षम उम्मेदवारलाई नियुक्ति गर्ने विषय बोर्डको अध्यक्षले ठाडै लत्याउन खोजेको समेत उनको दाबी छ। अध्यक्षको मनसायलाई कुनै पनि हालतमा पूरा हुन नदिने समेत उनले ठाडो चुनौती दिएका छन्। सिइओका दावेदार मध्येका एक धनन्जय रेग्मीका अनुसार बैठक के कति कारणले सार्दै लगेका छन् आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्। ‘सिफारिसमा परेकामध्ये मेरो नाम पनि संलग्न छ भन्ने मैले पनि समाचारबाट नै थाहा पाएको हुँ। आधिकारिक हो या होइन भन्न कठिन छ,’ उनले भने।

आफ्नो नाम सिफारिसमा परेको खबरसँगै आफूलाई कांग्रेस निकट बनाएर आफूमाथि राजनीतिक रंग लगाउन खोजिएको उनको आरोप छ। ‘मैलै आजसम्म कुनै राजनीतिक संगठनको सदस्यता पनि लिएको छैन। म कसरी कांग्रेस भए ?’ उनको प्रश्न छ। आफू लामो समय अध्ययनको सिलसिलामा भारतमा बसेको र नेपाल आएलगत्तै पर्यटन र हिमालको अध्ययन गर्दै व्यापारसम्म पुगेको बताउँदै उनले आफू स्वतन्त्र उम्मेदवार रहेको दाबी गरेका छन् । केही पक्षले गोविन्द केसीलाई सहयोग गरेको म माथि आरोप लगाएका छन्,’ उनले भने, ‘हिजोका दिनमा अहिलेका नेकपाका बहालवाला मन्त्रीदेखि पार्टी अध्यक्षसम्मले साथ दिएको जनताले देख्दैनन् ।’


आफूलाई कांग्रेस बनाएर गोविन्द केसीसँग जोडेर दुष्प्रचार गर्न खोजेको भन्दै उनले गोविन्द केसीपनि कांग्रेस हुन् वा होइनन् आफुलाई थाहा नभएको उनको प्रतिक्रिया रहेको छ। आफूले १९९८ मा कञ्चनजंगा गएर हिमालबारे अध्ययन समेत गरेको बताउँदै उनले आफ्नो ११ बर्षको अनुभवलाई दिगो पर्यटन क्षेत्रको विस्तारमा लगाउने समेत बताए। अन्य प्रतिस्पर्धी भनिएका उमेदबारलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। मन्त्रालय स्रोतले भने यस अहिले नै यो विषयमा बोल्दा विवाद हुन सक्ने र बोर्ड सिइओ बिहिन हुने भन्दै कुनै प्रतिक्रिया दिन मानेनन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले सिइओ नियुक्त गर्ने व्यवस्था छ।

प्रकाशित: ८ माघ २०७६ ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App