१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘कोरोना भाइरस’बाट ६ को मृत्यु

बेइजिङ (एएफपी) – ‘कोरोना भाइरस’ नाम दिइएको रहस्यमयी रोगका कारण चीनमा ६ जनको मृत्यु भइसकेको चिनियाँ अधिकारीले बताएका छन्।

बुहानका नगरप्रमुख झाओ सिआनवाङले चिनियाँ राष्ट्रिय टेलिभिजन सिसिटिभीलाई दिएको अन्तर्वार्तामा ‘कोरोना भाइरस’बाट सोमबारसम्म चार जनाको मृत्यु भएकोमा मंगलबार थप दुईको ज्यान गएको बताएका छन्।

चीनको मध्य क्षेत्र बुहान सहरमा केही हप्ताअघि ‘कोरोना भाइरस’को संक्रमण देखिएको थियो। उनका अनुसार उक्त रोगबाट प्रभावित हुनेको संख्या २९१ पुगेका साथै सोमबार र मंगलबार गरी थप ८० बिरामी उपचारका लागि अस्पतालमा पुगेको उनले बताए।

रोगको प्रकोप विस्तारै चीनबाट बाहिरी देशमा पनि फैलिएका खबरसँगै सावधानीका लासग एसियाली मुलुकहरूका विमानस्थलहरूमा चीनबाट प्रवेश गर्ने यात्रुहरूको परीक्षणलाई कडा बनाइएको छ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले ‘कोरोना भाइरस’ मानवबाट मानवमा सर्नसक्ने पुष्टि गरेपछि छिमेकी मुलुकहरूका साथै चीनसँग प्रत्यक्ष हवाई यातायात रहेका पश्चिमा मुलुकहरूले पनि सावधानी अपनाउन थालेका छन्।

सुरूमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने र टाउको, जीउ दुख्ने जस्ता साधारण चिसो, फ्लु वा न्यूमोनियासँग मिल्दाजुल्दा लक्षण भएको नयाँ रोगले विश्वलाई चिन्तित तुल्याएको छ। विश्व स्वास्थ्य संगठनद्वारा ‘२१ औँ शताब्दीको खतरनाक स्वास्थ्य समस्या’ को रूपमा चित्रित श्वास–प्रश्वाससम्बन्धी रोग ‘सार्स’लाई ‘सिभेयर एक्युट रेस्पिरेटरी सिण्ड्रोम’ भनिन्छ। तर, पछिल्लो समय देखा परेको रोगको उत्पत्ति श्वासनलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएको र बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरेका छन्। रोगको कारण, सर्ने माध्यम र प्रभावकारी उपचारबारे खोज र अध्ययन जारी छ।

प्रकाशित: ८ माघ २०७६ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App