१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

न्यु डायमन्ड सेमिफाइनल पुग्ने चौथो टोली

एपिएफविरुद्ध स्पाइक प्रहार गर्दै आर्मिकी शान्ति थारु । तस्बिर: नागरिक

काठमाडौं – राजधानीमा जारी पाँचौँ आरबिबी पुरुष/महिला क्लब च्याम्पियनसिप भलिबलअन्तर्गत मंगलबार पुरुषतर्फ क्वार्टरफाइनल र महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा मंगलबार  पुरुषतर्फ समूहचरणको अन्तिम खेलमा पुलिसले मणिमुकुन्द र एपिएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन्। दिनको पहिलो खेलमा पुलिसले मणिमुकुन्दमाथि २५–१४, २५–२० र २५–१४ को सोझो सेटमा जित निकालेको हो। जितसँगै पुलिस समूह ‘सी’ को समूहविजेता बन्दा मणिमुकुन्द उपविजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको हो। पहिलो खेलमा पुलिसले पार्वती भलिबल क्लबबाट वाकओभर पाएको थियो। मणिमुकुन्दले पनि वाकओभर पाएको थियो। पुलिसले ६ अंक जोड्दा मणिमुकुन्दले ३ अंकको जोडेको हो।

पुरुषतर्फ नै मंगलबार एपिएफले जावलाखेल भलिबल केन्द्रलाई २५–१४, २५–१० र २५–९ को सोझो सेटमा हराउँदै क्वार्टरफाइलनमा स्थान बनाएको हो। जितसँगै समूह ‘बी’ को विजेता बन्ने क्रममा एपिएफले ३ खेलमा ६ अंक जोड्यो। पहिलो खेलमा एपिएफले बुलबुले रारा क्लबलाई हराएको थियो। समूह ‘बी’ बाट बुलबुले रारा उपविजेता बन्दै क्वार्टरफाइनल प्रवेश ग-यो। बुलबुलेले २ खेलमा ३ अंक जोड्यो।

यसअघि नै समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब समूहविजेता र नयाँ बजार सामाजिक युवा क्लब समूह उपविजेता तथा समूह ‘डी’ बाट हेल्प नेपाल स्पोर्ट्स क्लब विजेता र बुद्धटोल युवा भलिबल क्लब उपविजेता बन्दै यसअघि नै  क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन्। मंगलबारको दुई खेलसँगै पुरुषतर्फको क्वार्टरफाइनल समीकरणसमेत पूरा भएको हो। अब क्वार्टरफाइनलमा आर्मीले मणिमुकुन्दसँग प्रतिस्पर्धा गर्नेछ भने पुलिसले नयाँ बजारको सामना गर्नेछ। एपिएफले बुद्धटोलसँग खेल्दा हेल्प नेपालले बुलबुलेसँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै प्रतियोगिताअन्तर्गत मंगलबारै सम्पन्न महिलातर्फको खेलमा साबिक विजेता एपिएफ क्लब समूहविजेताका  रूपमा सेमिफाइनलमा प्रवेश ग-यो। कभर्ड हलमा नै भएको खेलमा अर्को विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ अन्तिम चारमा प्रवेश गरेको हो। एपिएफले आर्मीलाई २५–१०, १९–२५, २५–१८ र २५–११ ले पराजित गरेको हो। जितसँगै समूह ‘ए’ को एपिएफले समूहचरणमा शतप्रतिशत जित निकाल्न सफल भएको हो। । ३ खेलमा ३ जितसहित एपिएफले ९ अंक जोड्दा उपविजेता बनेको आर्मीले ६ अंक जोड्न सफल भयो। यस्तै महिलातर्फको अर्को खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित ग-यो। कभर्डहलमा सम्पन्न दिनको चौथो खेलमा डायमन्डले ढोरपाटनलाई २५–३, २५–१६ र २५–१२ ले हराएको हो। यससँगै न्यु डायमन्ड समूह ‘बी’ को विजेता बन्दा लगातार दोस्रो खेलमा पनि पराजय भोगेको ढोरपाटनको यात्रा समाप्त हुँदा पुलिस उपविजेता बनेको हो।

यससँगै महिलातर्फको स्पर्धामा सेमिफाइनल समीकरण पूरा भएको हो। समूह ‘बी’ को विजेता न्यु डायमन्डले समूह ‘ए’ को उपविजेता  विभागीय टोलीसँग आर्मीको सामना गर्दा समूह ‘बी’ को उपविजेता पुलिससँग समूह ‘ए’ को विजेता एपिएफले अन्तिम दुईका लागि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा बुधबार पुरुषतर्फका क्वार्टरफाइनल खेल हुनेछन् भने महिलातर्फ कुनै खेल हुने छैनन्।

प्रकाशित: ८ माघ २०७६ ०१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App