१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धादिङ दुर्घटना : एकै ठाउँका ७ जनाको मृत्यु

दुर्घटनाग्रस्त ट्रक ।

धादिङ- धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाहमा आईचर ट्रक दुर्घटना हुँदा एकै ठाउँका ७ जनाको मृत्यु भएको छ। मंगलबार ज्वालामुखी गाउँपालिका वडा नं ४ मा रहेको ढोला मण्डली मन्दिरबाट धादिङबेसी तर्फ आउँदै गरेको ग १ ख ८०१२ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको धादिङका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।   

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नं २ का सेते गुरुङ, प्रेमबहादुर गुरुङ, ध्बजबहादुर गुरुङ, बेलबहादुर गुरुङ, विदुर गुरुङ, तिलबहादुर गुरुङ र पूर्णनारायण श्रेष्ठ रहेका छन्। तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको प्रहरी उपरीक्षक रेग्मीले बताए। ‘ट्रक क्षमता भन्दा बढी यात्रु र तीब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो,’ उनले भने।

दुर्घटनामा सामान्य घाइते भएका यात्रु सुरेश गुरुङका अनुसार मदिराले लठ्ठ चालकले तीव्र गतिमा गाडी चलाउदा उक्त दुर्घटना हुन पुगेको बताए। ‘हरेक हप्ताको मंगलबार ढोला मण्डलीमा पाठीको पूजा (भक्कल) गर्ने प्रचलन छ’ उनले भने, ‘चालक र यात्रुहरु अधिकांशले मादकपदार्थ सेवन गरेका थिए।’ दुर्घटनामा दर्जनौ यात्रुसँगै चालक गम्भीर घाइते छन्।

दुर्घटनामा गम्भीर घाइते भएका ११ जनालाई नेपाल सेनाको हेलिकप्टर र ४ जनालाई एम्बुलेन्स मार्फत उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विश्वकर्माले जानकारी दिए। अन्य घाइते १४ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको उनले बताए। ट्रकमा ४४ यात्रु सवार रहेको अनुमान गरिएको छ।

 

 

प्रकाशित: ७ माघ २०७६ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App