१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हिउँदे झरीले जलमग्न खेत, बालीमा ठूलो नोक्सानी

हिउँदे झरीले जलमग्न खेत। तस्विर: योगेश/नागरिक

टीकापुर - हिउँदे झरी कैलालीका किसानका लागि अभिशाप बनेको छ। लगातारको झरीले किसानको गहुँ, तोरी, मसुरो, केराउ लगायतका हिउँदे बालीमा ठूलो नोक्सानी पु-याएको छ। हिउँदे झरीका कारण कैलालीको बाढी प्रभावित क्षेत्रका किसानले अझ धेरै नोक्सानी व्यहोरेका छन्। टीकापुर र भजनी नगरपालिकाका दक्षिणी भेगका किसानको खेत हिउँदे झरीले जलमग्न बनेका छन्।

भजनी नगरपालिकाका लालबोझी, मन्त्रीफाँटा, कौवाखेडा, कुसुमघाट र टीकापुर नगरपालिकाका बैदी, ढुंगानाटोल, कालाकुण्डा लगायतका ठाउँमा हिउँदे झरीले धेरै क्षति पु-याएको हो। भजनी नगरपालिका–६ लालबोझीका किसान नृप बुढाले लगातारको हिउँदे झरीका कारण आफूहरुले हिउँदे बाली गुमाउनु परेको बताए। उनले पाक्ने अवस्थामा रहेको तोरी, गहुँ, मसुरो र केराउ खेतमै नष्ट भएको दुःखेसो पोखे। ‘लगातारको झरीले किसानलाई रुनु र हाँस्नु पारेको छ’ उनले भने–‘खेत जलमग्न बनेका छन। बाली सबै खेतमै सडेको छ।’

धेरैजसो किसानका खेतमा तोरी पाक्ने अवस्थामा पुगेको थियो। उनीहरु तोरी भित्र्याउने तयारी गर्दै थिए। पुसको अन्तिम साताबाट परेको लगातारको हिउँदे झरीले भित्र्याउने अवस्थामा पुगेको तोरी सखाप पारेको छ। स्थानीय किसान विनोदकुमार चौधरीले हिउँदे झरीका कारण ठूलो नोक्सानी व्यहोर्नु परेको बताए।

‘दुई विघा खेतमा लगाएको तोरी मध्ये १० कठ्ठाको मात्रै उखेलेको थिएँ, राति नै पानी पर्यो। सबै तोरी खेतमै सखाप भयो’ उनले भने–‘उखेलेर राखेको तोरी समेत जोगाउन सकिएन।’ खेतमा पानी जमेपछि पसाउने अवस्थामा पुगेको गहुँ पहेलो देखिएको छ। किसानले ढिलो गरी रोपेको गहुँ अझ धेरै नोक्सान भएको छ। टीकापुर नगरपालिका–७ बैदीका किसान गोविन्द कोइरालाले दुःख गरेर रोपेको गहुँ पानीले नष्ट गरेपछि निकै समस्यामा परेको बताए।

‘यो वर्ष गहुँ राम्रै थियो। अघिल्लो वर्षभन्दा धेरै फल्ने आशा गरेको थिए’ उनले भने–‘सबै आशा निराशामा परिणत भए।’
सो क्षेत्रमा वर्षायाममा मोहना, पथरैया, काँडा लगायतका नदीमा आउने बाढीका कारण खेती हुँदैन। त्यहाँका किसानले हिउँदमा मात्रै खेती लगाएर जीविकोपार्जन गर्दै आएका छन। तर यसवर्ष हिउँदे झरीले समेत किसानलाई समस्यामा पारेको छ।

‘वर्षायाममा बाढीका कारण हाम्रो जमिन बाँझै हुन्छ, हिउँदकै बालीबाट वर्षभरिलाई खाद्यान्नको जोहो हुन्थ्यो’ स्थानीय किसान रामलाल चौधरीले भने–‘यो वर्ष हाम्रा लागि भोकमरी नै हुने भयो।’ कतिपय ठाउँमा किसानले खेतमा जमेको पानी बोरिङका सहायताले बाहिर फालेका छन्। तर नदीको बाढी नै खेतमा पसेका ठाउँमा भने टुलुटुल हेर्नुको विकल्प नरहेको किसानहरु बताउँछन्।

हिउँदे झरीले बालीनाली नष्ट गरेका कारण उत्पादनमा समेत ह्रास आउने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई कार्यालय कैलालीका कृषि अधिकृत टिकेन्द्र कुश्मीले बताए। उनले बालीनालीमा विभिन्न रोगब्याधीको समेत समस्या देखिने बताए। ‘पानी जमेर नष्ट भएको मात्रै हैन। अब विभिन्न रोगब्याधी समेत देखिनेछ’ उनले भने–‘यसको प्रभाव उत्पादनमा पर्ने देखिन्छ।’

गहुँ, तोरी, मसुरो र केराउ किसानको नगदे बाली समेत हुन। किसानले यिनै नगदे बालीको उत्पादनबाट भएको आम्दानीले घरपरिवारको जीविकोपार्जन गर्दै आएका छन। हिउँदे झरीले नगदे बालीका रुपमा रहेको बालीनाली नष्ट गरिदिएपछि किसानको जीविकोपार्जनमा असर पर्ने देखिन्छ।

प्रकाशित: ६ माघ २०७६ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App