१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जनकपुरको हवाई भाडा सस्तियो

काठमाडौं - निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी श्री एयरलाइन्स र बुद्व एयरले जनकपुरको हवाई भाडा घटाएका छन्।

श्रीएयरले सोमबार (आज)देखि लागू हुने गरी दुई हजार रुपैयाँमा नै काठमाडौंबाट जनकपुर उडान गर्ने भएको छ। पहिले कम्पनीले ३५ सय देखि ४५ सय रुपैयाँमा उडान भर्दै आएको थियो। श्रीले ८० सिट क्षमताको क्यू ४०० नामक ८० सिट क्षमताको विमानबाट उक्त गन्तव्यमा उडान भर्न लागेकोे जानकारी दिएको छ। कम्पनीका अनुसार हाल विमानले उक्त रुटमा पूर्ण सिट क्षमतामा उड्न नसकेका कारण हवाई भाडा घटाएको जनाएको छ।

‘अफ सिजन भएकाले विमान पूर्ण क्षमतामा उड्न सकेका छैनन्,’ कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले भने, ‘अहिले कम्पनीले लागू गर्ने भनिएको भाडादरलाई नयाँ गन्तव्यमा प्रवद्र्धनात्मक रुपमा हेरिएको छ। भोलिका दिनमा विमानको सिट क्षमता, हवाई तेलको मूल्य र यात्रुको चाप हेरेर पुनः मूल्यांकन गरिने छ।’ हाल कम्पनीले तोकेको भाडा सरकारले तोकेको न्यूनतम भाडादरभन्दा कम रहेको र अन्य कम्पनीले पनि जहाज खाली उडानुभन्दा बरु कम मूल्यमा भए पनि उडान भर्न थालेकाले कम्पनीले हाललाई उक्त रुटमा सस्तोमा हवाई सेवा दिन लागेको उनको भनाइ छ।

माघको सुरुवातदेखि नै जनकपुर उडान सस्तो भाडादरमा उडान भर्ने तयारी भए पनि केही प्राविधिक कारणले सोमबारदेखि उडान भर्ने निर्णय भएको समेत उनले जानकारी गराए। उनका अनुसार काठमाडौंबाट प्रत्येक दिन मध्यान्ह १२ बजे जनकपुरका लागि विमान उड्ने छ भने सोही विमान साढे एक १ जनकपुरबाट काठमाडौं फर्कने तालिका रहेको छ। श्रीले पोखरा तथा सिमरा उडान भर्ने तयारी तीव्र पारेको जानकारी गराउँदै काठमाडौं–सिमरा उडान पनि चाँडै सुरु हुने जनाएको छ। नयाँ गन्तव्य विस्तारमा जुटेको कम्पनीले आगामी जेठदेखि सुदूरपश्चिमको धनगढी विमानस्थलमा पनि उडान भर्ने तयारी भइरहेको जनाएको छ। श्रीले सिमरा उडानको अनुमति पाइसकेको जनाएको छ। श्रीले हाल ८० सिट क्षमताको क्यू ४०० बाट हाल विराटनगर, नेपालगन्ज र धनगढीमा दैनिक एक–एक उडान भर्दै आइरहेको छ।

हाल कम्पनीले ८० सिट क्षमताका दुईवटा, सिआरजे २०० नामक ५० सिट क्षमताका दुई र सिआरजे ७०० नामक ७० सिट क्षमताका अन्य दुई विमान गरी जम्मा ६ वटा जहाजमार्फत हवाई सेवा दिइरहेको छ। त्यस्तै, निजी क्षेत्रकै अर्काे विमान कम्पनी बुद्व एयरले पनि जनकपुर उडान दुई हजार रुपैयाँमै उडाउने जनाएको छ। यसअघि कम्पनीले सस्तोमा २५ सयदेखि ४७ सय रुपैयाँसम्ममा उडान भर्दै आएको थियो। कम्पनीले जनकपुरमा शनिबारदेखि दिनमा तीन उडानबाट सेवा दिन सुरु गरिसेकेको छ।

बुद्वका एक कर्मचारीका अनुसार कम्पनीले हाललाई लागू गरेको उक्त भाडादरबाट आन्तरिक पर्यटन प्रवद्र्धनसँगै धार्मिक पर्यटनको क्षेत्रमा समेत टेवा पुग्ने विश्वास लिएको छ। ‘समय र परिस्थिति अनुरुप कम्पनीले हवाई सेवा दिइरहेको छ,’ उनले भने, ‘जारी भाडादरले उक्त गन्तव्यमा उड्ने यात्रुलाई सस्तो र सुविधाजनक हुने विश्वास कम्पनीको छ।’ साथै काठमाडौंदेखि २५ मिनेटको उडान दूरी रहेको जनकपुर विमानस्थलमा रात्रिकालीन उडानको तयारी पूरा भएको छ। हाल दिउँसो मात्र उडान भर्न योग्य उक्त विमानस्थलमा रात्रिकालीन उडानका लागि सम्पूर्ण तयारी पूरा भएको जनकपुर विमानस्थल प्रमुख सन्तोष ढकालले जानकारी गराए।

‘सबै विमान कम्पनीलाई जनकपुर विमानस्लथ रात्रिकालीन उडानका लागि तयार भएको जानकारी गराइसकेका छौं,’ उनले भने, ‘विमान कम्पनीलाई दिएको ३५ दिने समयसीमा आगामी माघ ७ गते सम्पन्न हुन्छ। पहिलेदेखि दिनको दुई उडान भर्दै आएको बुद्व एयरले विमानस्थलको तयारीसँगै थप एक उडान भर्न चासो देखाएको छ भने श्री र यतिले पनि जनकपुर उडानमा चासो देखाएका छन्।’ हाल दिउँसोको समयमा भिजिबिलिटी हेरेर आइएफआरको आधारमा उडान हुँदै आएको उक्त विमानस्थलमा ‘रनवे लाइट’ तथा ‘आरम्याभ’ एप्रोचका आधारमा रात्रिकालीन उडान भर्ने तयारी भइरहेको समेत उनको भनाइ छ। उक्त उपकरणको परीक्षण जाँच पाससमेत भइसकेको उनले बताए।

उनका अनुसार रात्रिकालीन उडानका लागि हुने विभिन्न चरणका परीक्षणसमेत पूरा भइसकेको छ भने अन्य प्राविधिक कार्य यसअघि नै सम्पन्न भइसकेको उनले जानकारी गराए। हाल जनकपुर विमानस्थलमा विमानमा उडान भर्न पाँच हजार मिटर भिजिबिलिटी आवश्यक रहेकामा रात्रिकालीन सेवा सुरु भएसँगै १७ सय मिटर भिजिबिलिटीमा उडान तथा अवतरण गर्न सकिने छ।

प्रकाशित: ६ माघ २०७६ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App