१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमसिसी पास हुन्छ, दायाँ–बायाँ हुन्न : देउवा

दाङ – नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अमेरिकी अनुदान सहयोग (एमसिसी) परियोजना जसरी पनि संसदबाट पारित हुने बताएका छन्। उनले एमसिसी पारित हुनेमा दायाँ–बायाँ केही नहुनेसमेत दाबी गरे। मुलुकको हितका निम्ती प्राप्त यो परियोजनाको विरोध गरिनु नितान्त गलत भएको उनको भनाइ थियो। आइतबार नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले भने, ‘एमसिसी पारित गर्न मेरो पहल अत्यधिक रहनेछ।’ उनले यो परियोजनाको सम्झौता आफू नेतृत्वको सरकारका पालामा भएको भन्दै यसलाई धेरै राम्रो योजनाका रूपमा अथ्र्याए।

आफ्नो पालामा भएको सम्झौता आफूले जसरी पनि पास गराउन पहल गर्ने उनको भनाइ थियो। ‘यो परियोजनाको प्रक्रिया मेरो पालामा भएको हो, मेरो पालामा भएको यो परियोजना पास गराउनु मेरो दायित्व हो,’ उनले भने, ‘यस विषयमा अरु दायाँ–बायाँ केही हुँदैन।’ नेपाली कांग्रेसले नै यो परियोजनालाई पारित गराउन पहल गर्ने आधिकारिक निर्णय नै गरिसकेकाले पनि कांग्रेस परियोजनाको पक्षमा कडा रूपमा उभिएको बताए। ‘एमसिसी पास गराउने अजेन्डा मेरो मात्रै हैन,’ उनले भने, ‘सिंगो पार्टीले नै आधिकारिक निर्णय गरिसकेको छ, कांग्रेस एमसिसीको पक्षमा छ, जसरी पनि पास हुन्छ।’

फरक प्रसंगमा देउवाले पार्टीभित्रको विवादको कारक आफू नभएको बताए। पार्टीका कसैलाई पनि आफूले चिढ्याउने काम नगरेको भन्दै देउवाले पार्टीभित्रको विवादको दोषी आफूलाई देख्न नहुनेसमेत वताए। ‘म कसैसँग पनि रिसाएको छैन, न त मैले कसैलाई पेलेर जाने काम नै गरेको छु,’ उनले भने, ‘रिसाउनेहरू किन रिसाएका छन् भन्ने उनीहरूलाई नै सोध्नुस्, म बाट एकलौटी काम केही पनि भएको छैन।’

यसैबीच सभापति देउवाले मानव अधिकार र लोकतन्त्र रक्षाका लागि नेपाली कांग्रेसले आन्दोलनको अगुवाइ गर्ने बताएका छन्। नेपाल मानव अधिकार संगठनको १४ औं राष्ट्रिय सम्मेलनको दाङमा उद्घाटन गर्दै देउवाले लोकतन्त्र र मानव अधिकार संरक्षणका लागि सुरु गर्ने कांग्रेसको आन्दोलनलाई सहयोग पु-याउन मानव अधिकारकर्मीलाई आग्रह समेत गरे। ‘वर्तमान सरकारले मानव अधिकारको क्षेत्रलाई ठाडै हस्तक्षेप गरिरहेको छ,’ उनले भने, ‘मानव अधिकार र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले आन्दोलनको अगुवाइ गर्नेछ, यो आन्दोलनलाई सघाउन मानव अधिकारकर्मीलाई आग्रह गर्दछु।’

प्रेसमाथिको ठाडो हस्तक्षेपका कारण पनि नेपालमा मानव अधिकारको क्षेत्र धरासायी बन्ने उनले बताए। ‘मानव अधिकार र प्रेसबीच पारस्परिक सम्बन्ध छ, प्रेस जगत स्वतन्त्र नभए मानव अधिकार रहन्न,’ उनले भने, ‘मानव अधिकारको संरक्षणका लागि प्रेस जगतलाई स्वतन्त्र बनाउनुपर्छ, त्यसैले सबै भन्दा पहिला प्रेस जगतलाई जोगाऔँ।’ हरेक क्षेत्रलाई हस्तक्षेप गरेर वर्तमान सरकारले कम्युनिस्ट शासन लाद्न खोजिरहेको समेत उनले बताए। आइतबारदेखि सुरु भएको नेपाल मानव अधिकार संगठनको सम्मेलन सोमबारसम्म चल्नेछ। साथै सम्मेलनले संगठनको नयाँ नेतृत्वसमेत चयन गर्नेछ।

प्रकाशित: ६ माघ २०७६ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App