१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

बाजी

एन्टोन चेखव

शरद ऋतुको अँध्यारो रात थियो । एउटा बूढो बैंकर आफ्नो अध्ययन कक्षमा टहलिँदै १५ वर्षअघिको यस्तै शरद ऋतुको एक साँझ सम्झने प्रयास गर्दै थियो, जुन दिन उसले एउटा भोजको आयोजना गरेको थियो । त्यो साँझ भोजमा धेरै बुद्धिजीवीहरु निकै चाखलाग्दा विषयमा छलफल गरिरहेका थिए । तीमध्ये एक विषय मृत्युदण्ड पनि थियो । त्यहाँ उपस्थित अधिकांश पाहुना, पत्रकार र बुद्धिजीवीहरू मृत्युदण्डको विरुद्धमा थिए । उनिहरू यस्तो सजाय रुढिवादी, अनैतिक र कुनै पनि क्रिस्चियन राज्यका लागि उपयुक्त छैन भन्ने सोचाइ राख्थे भने कसैको विचारमा मृत्युदण्डलाई विश्वव्यापी रुपमै जन्मकैदले प्रतिस्थापन गर्नुपर्छ भन्ने थियो ।

‘म तपाईंसँग सहमत छैन,’ बैंकरले भन्यो, ‘यी दुवै सजाय मैले प्रयोग गरेको त छैन तर जन्मकैद भन्दा मृत्युदण्ड बढी नैतिक र मानवीय छ किनभने मृत्युदण्डले तुरुन्त मार्छ तर जन्मकैदले बिस्तारै । यसो हुँदा कुन सजाय बढी नैतिक छ त ? तुरुन्त मार्ने कि धेरै वर्ष लगाएर तड्पाइ तड्पाई मार्ने ?’

त्यस्तैमा एउटा पाहुनाले भन्यो, ‘दुवै उस्तै अनैतिक र अमानवीय छन् । दुवैको लक्ष्य अर्काको ज्यान लिने नै हो । राज्य भगवान् होइन । जुन कुरो यसले फिर्ता गर्न सक्दैन, यसलाई त्यो लिने अधिकार पनि छैन ।’
पाहुनामध्ये एक युवा वकिल, जो त्यस्तै २५ वर्ष हाराहारीको हुँदो हो, भन्यो, ‘दुवै मृत्युदण्ड र जन्मकैद बराबर अनैतिक र अमानवीय छन् तर मैले रोज्नु परे त जन्मकैद नै रोज्छु किनभने मर्नु भन्दा त जसरी भए पनि बाँच्नु नै उपयुक्त हुन्छ ।’

यसरी छलफल उत्कर्षमा पुगेको थियो । बैंकर पनि त्यतिबेला युवा र अलि बढी आक्रामक र उत्सुक थियो । निकै उत्साहित हुँदै उसले टेबल ठोकेर चिच्यायो, ‘म २० लाखको बाजी लगाउँछु कि तिमी पाँच वर्ष पनि एकल बन्दीगृहमा बस्न सक्ने छैनौ ।’

युवा वकिलले भन्यो, ‘इमान्दारीसाथ भन्ने हो भने यसका लागि म ५ वर्ष होइन, १५ वर्ष बस्न तयार छु ।’
‘१५ वर्ष !’ बैँकर चिच्यायो, ‘भद्रभलाद्मी हो, मैले २० लाख दाउमा राखेँ ।’

युवकले पनि भन्यो, ‘ठीक छ । तपाईं आफ्नो लाखौं रुपैयाँ दाउमा लगाउनुस्, म आफ्नो स्वतन्त्रता !’
यसरी एउटा जङ्गली र अनर्थक बाजी लगाइयो । बैंकर यस्तो खराब बेबकुफ बाजी, जसमा उसका लागि २० लाख केही थिएन, लगाउन पाउँदा अत्यन्त खुसी थियो । उसले रात्रिभोजमा युवकलाई गिज्याउँदै भन्यो, ‘अझै राम्रोसँग सोच, अझै समय छ । २० लाख त मेरालागि तुच्छ हो तर तिमी बेकारमा आफ्नो अमूल्य ३/४ वर्ष त्यसै खेर फाल्दै छौ । मैले ३/४ वर्ष भनेँ, किनभने तिमी त्योभन्दा बढी बस्न सक्ने छैनौ । किनकि हे दुःखी आत्मा ! अनिवार्य कैदभन्दा स्वैच्छिक कैद काट्न धेरै गाह्रो हुन्छ । तिमी स्वतन्त्र भएर बाँच्ने अधिकारको विचारले मात्र पनि तिमीलाई कैदमा तिम्रो सम्पूर्ण अस्तित्वलाई विषाक्त गर्ने छ । मलाई क्षमा गर ।’

बैंकर यताउता गर्दै १५ वर्षअघिको कुरो सम्झिरहेछ । आफैँलाई प्रश्न गरिरहेछ, ‘कुन उद्देश्यले त्यस्तो बाजी राखियो ? यसले त्यो व्यक्तिलाई १५ वर्ष र मलाई २० लाख अनाहकमा खेर फाल्दा के राम्रो भो ? के यसले मृत्युदण्ड जन्मकैद भन्दा राम्रो या नराम्रो भनेर साबित गर्न सक्छ ? अँहँ सक्दैन । यो बाजी पूर्णतया निरर्थक र अर्थहीन बाजी थियो । मेरो तर्फबाट पुल्पुलिएको मान्छेको उन्माद थियो भने त्यसको तर्फबाट २० लाखको लालच !’

अनि उसले सम्झियो– त्यो रात के–के भयो । वकिल युवकले तय गरिएका वर्षहरु बैंकरकै बगैँचामा रहेको सानो घरमा निकै कडा पहरामा बिताउनु पर्ने निर्णय गरिएको थियो । युवकले सो घरको दैलो काट्ने छैन, कुनै मानिसलाई देख्न भेट्न पाउने छैन, कुनै पनि मानिसको आवाज पनि सुन्न नपाउने र चिट्ठी समाचारपत्रहरु पनि नपाउने कडा शर्त राखियो तर उसले वाद्ययन्त्र र पुस्तक भने पाउनेछ । उसलाई चिट्ठीपत्रहरु लेख्न–पठाउन, रक्सी पिउन र धुम्रपान गर्न भने अनुमति दिइयो ।

सम्झौताअनुसार युवकले सो घरमा रहेको सानो झ्याल, जुन यही उद्देश्यका लागि बनाइएको थियो, त्यहाँबाट मात्र बाहिर सम्पर्क गर्न सक्थ्यो । उसले मागेअनुसार विभिन्न प्रकारका पुस्तकहरु, वाद्ययन्त्रहरु, रक्सीहरु त्यही झ्यालबाट माग गथ्र्यो अनि त्यहीँबाट मागे जति पाउँथ्यो । त्यो सम्झौतापत्रमा प्रत्येक सामान्य भन्दा सामान्य विवरणहरु उल्लेख गरिएको थियो, जसमा उसको कैदी जीवन अत्यन्त कडा एकान्तमा ठीक्क १५ वर्ष बिताउनु पर्ने र नोभेम्बर १४ १८७० को बाह्र बजे सुरु भएर नोभेम्बर १४, १८८५ को बाह्र बजे समाप्त हुन्थ्यो । यी शर्तहरुको सामान्य उल्लंघन तोकिएको समयभन्दा दुई मिनेट अघि भए पनि बैँकर २० लाख तिर्नुपर्ने दायित्वबाट मुक्त हुन्थ्यो ।

काराबासको पहिलो वर्ष उसका नोटहरु हेर्दा ऊ एकदमै एक्लोपना र अवसादबाट ग्रस्त छ भनेर जो कसैले पनि अनुमान गर्न सक्थ्यो । त्यो सानो घरबाट दिन रात पियानोको आवाज लगातार सुनिन्थ्यो । उसले सुर्तीजन्य र रक्सी लिन अस्वीकार गर्‍यो किनभने उसले लेखेअनुसार रक्सीले मान्छेका इच्छालाई बढाउँछ, उक्साउँछ । एउटा कैदीका लागि यी शत्रु नै हुन्, साथै राम्रो रक्सी एक्लै पिउनु र कसैलाई भेट्न नपाउनुभन्दा जीवनहीन अरु केही हुन सक्दैन । धूमपानले उसको कोठाको वातावरण बिगार्छ भन्ने पनि लाग्थ्यो उसलाई ।

पहिलो वर्ष उसलाई प्रदान गरिएका पुस्तकहरु प्रायः हल्का थिए, जटिल प्रेमकथा भएका, काल्पनिक, सनसनीखेज र हास्यप्रधान कथा भएका उपन्यासहरु थिए ।

दोस्रो वर्ष पियानो बज्न छोड्यो र उसले शास्त्रीय संगीत मात्र मगायो । पाँचौँ वर्ष फेरि संगीत गुञ्जिन थाल्यो । उसले रक्सी मगायो । झ्यालबाट चिहाउनेहरुले भने अनुसार ती वर्षमा उसले खाने, रक्सी पिउने र ओछ्यानमा हाइकाडेर पल्टिएर मात्र बितायो र ऊ प्रायः आफैँसँग रिसाएर झर्किन्थ्यो । उसले कुनै किताबहरु पढेन । कहिलेकाहीँ राति ऊ घण्टौँ लेख्थ्यो र बिहान ती सबै च्यातचुत पारेर फाल्दिन्थ्यो । ऊ रोएको पनि सुनिन्थ्यो ।

छैटौँ वर्षको अन्तिम ६ महिना उसले अत्यन्त उत्साहका साथ विभिन्न भाषा, दर्शनशास्त्र र इतिहास पढ्न थाल्यो । उसले यसरी गहन अध्ययन गर्न थाल्यो कि बैंकरलाई ती पुस्तक जुटाउन धेरै मिहिनेत गर्नुपर्‍यो । उसले ४ वर्षमा ६०० वटा किताब किन्नु पर्‍यो । यसै अवधिमा बैंकरले उसले लेखेको एउटा पत्र पायो, ‘मेरो प्यारो जेलर, मैले यी हरफहरु विभिन्न ६ वटा भाषामा लेखेको छु । यसका विशेषज्ञहरुलाइ पढ्न लगाउनू, यदि उनीहरुले यसमा कुनै पनि गल्ती फेला पारेनन् भने एक गोली बगैँचामा चलाइदिनु, जसले मेरो यो प्रयास सफल भएको मैले थाहा पाउनेछु । विभिन्न उमेरका विभिन्न देशका विद्वानहरुले भिन्नभिन्न भाषा बोल्छन् तर उनीहरुमा एउटै ज्योति बलेको हुन्छ । यदि तपाईंले यो बुझ्नु भयो भने मैले पनि उनीहरुलाई बुझ्नसक्छु भनेर मेरो आत्माले अलौकिक आनन्द प्राप्त गर्नेछ ।’ कैदीको इच्छा पूरा गरियो । बगैँचामा एउटा गोली चलाइयो ।

अनि १० औं वर्षपछि ऊ निश्चल भएर पढ्ने टेबलअघि निकै एकाग्र भएर बाइबल पढिरह्यो । जसले चार वर्षमा ६०० पुस्तक शृंखलाहरूमा निपूर्णता हासिल गरेको थियो, लगभग एक वर्ष एउटै पुस्तकमा अल्झेको देखेर बैंकर छक्क पर्‍यो । त्यसपछि त्यो बाइबल छोडेर उसले धर्म र धर्मशास्त्रका इतिहाससम्बन्धी पुस्तक पढ्न थाल्यो ।

कैदका पछिल्ला दुई वर्ष उसले असाधारण तरिकाले अध्ययन गर्न थाल्यो । उसले प्राकृतिक विज्ञान, रसायनशास्त्र, चिकित्सा विज्ञानका पुस्तकसहित सेक्सपियर र बाइरनका पुस्तक तथा दर्शनशास्त्रका पुस्तकहरू यसरी पढ्यो यस्तो लाग्थ्यो, कोही समुद्रमा आफ्नो ज्यान बचाउन छटपटाउँदै भत्केको जाहाजका अवशेषहरू भए पनि समातिरहेको छ ।
बैंकर यी सब सम्झिरहेको छ । भोलि १२ बजे ऊ स्वतन्त्र हुनेछ । मैले शर्तअनुसार उसलाई २० लाख तिर्नुपर्छ । म त सदाका लागि बर्बाद हुनेछु ।

१५ वर्षअघि ऊसँग धेरै लाख थियो तर यतिबेला उसलाई सम्पत्ति र ऋणको हिसाब आफैँलाई सोध्न पनि हिच्किचाहट हुन थालिसकेको छ । जोखिमयुक्त शेयरबजार, सट्टेबाजीबाट अहिले बूढो हुँदा पनि आफूलाइ अलग राख्न सकेको छैन । यही कारण उसको व्यवसाय धराशायी भैसकेको छ । ऊ पहिलाको आत्मविश्वासी, निडर र घमण्डी व्यक्ति थिएन । अहिले त बजारमा आएको सामान्य उतारचढ़ावले पनि ऊ थरथर काँप्ने भएकोछ ।
‘त्यो अभिशप्त बाजी,’ बूढोले आफ्नो कपाल लुछ्दै बढबढायो, ‘त्यो अहिलेसम्म किन मरेन ? त्यो भर्खर ४० वर्षको भएको छ । त्यसले मेरो बचेको सम्पत्ति पनि लग्ने भो । त्यसले बिहे गर्छ, शेयरबजारमा लगानी गर्छ, मलाई आरिसे मगन्ते बनाउने भो अनि दिनदिनै मलाई त्यसले मेरो यो सुखी जीवन तपाईंले गर्दा भएका म तपाईंलाई सहयोग गर्न चाहन्छु भनेर कति सुनाउला ! ओहो, यो त सहन सकिदैन ! म टाट पल्टन र त्यो अपमानबाट जोगिन उसले मर्नैपर्छ ।’

घडीले बिहानको तीन बजायो, बैंकरले सुनिरह्यो । घरमा सबै सुतिरहेछन् । बाहिर चिसिएका रूखहरूको सुक्सुकाहट मात्र सुनिएको छ । आवाज नआउने गरी उसले बिस्तारै दराजबाट १५ वर्षदेखि नखोलेको साँचो निकालेर आफ्नो ओभरकोटको गोजीमा राख्यो र घरबाट बाहिर निस्कियो । बगैँचा चिसो र अँध्यारो थियो । पानी परिरहेको थियो । आद्र हावाको चिच्याहटले रूखहरूलाई एकछिन आराम गर्न दिएको छैन । बैंकरले आँखा च्यातेर हेर्दा पनि न भुइँ देख्न सक्थ्यो, न त्यो सेतो मूर्ति, न बगैँचाको सानो घर, न त रूखहरू नै । बगैँचाको कुनामा पुगेर उसले सुरक्षा गार्डलाई दुई पल्ट बोलायो तर कुनै प्रत्युत्तर पाएन । शायद खराब मौसमले गर्दा गार्डले भान्सा या हरितगृहमा आश्रय लियो होला अनि त्यहीँ निदाएको हुनु पर्छ ।

‘मैले आफ्नो इरादा पूरा गर्ने साहस गरेँ भने शंका त सुरक्षा गार्डमाथि नै जान्छ,’ बूढोले सोच्यो । अँध्यारोमा बूढो बिस्तारै बगैँचाको कुनोतिर बढ्यो । उसले सलाई कोर्‍यो । उसले हेर्‍यो, त्यहाँ तन्ना नभएको खाट छ । कुनामा फलामको कालो चुलो झुण्डिरहेको छ । कैदीको कोठाको ढोकामा लगाइएको छाप पनि जस्ताको तस्तै छ ।
सलाई बिस्तारै निभ्यो । बूढो अतिरेक भावनाले गर्दा थरथर काँपिरहेछ । उसले बिस्तारै झ्यालबाट भित्र चिहायो । कोठामा मधुरो मैनबत्ती बलिरहेछ । ऊ टेबलको अघि निश्चल बसिरहेछ । उसको कपाल र पिठ्युँ मात्र देखिएको छ । टेबलमा किताबहरू पल्टिएका छन् । भुईंमा दुई वटा कुर्सीहरू उभिएका छन् ।

पाँच मिनेट बित्यो । अहँ, त्यो कैदी कत्ति पनि हलचल गरेन । १५ वर्षको कैदी जीवनले उसलाई स्थिर बस्न सिकाएजस्तै छ । बूढोले झ्यालमा औंलाहरूले बिस्तारै थपथपायो तापनि कैदीले कुनै प्रतिक्रिया नै जनाएन, ऊ निश्चल बसिरह्यो । बैंकरले लाहाछाप फुटायो अनि सावधानीपूर्वक ताला खोल्यो । खिया लागेको ताला खक्रक्क आवाज निकाल्दै खुल्यो अनि ढोका पनि चरमरायो । बैंकरको पदचाप यो कैदी आश्चर्यले चिच्याउला भन्ने आशा थियो तर तीन मिनेट बित्यो, कोठा पहिलेजस्तै शान्त छ । मानौँ केही भएकै छैन । उसले भित्र जाने निश्चय गर्‍यो ।

टेबलको अघिल्तिर कुनै साधारण मानिसभन्दा भिन्न ऊ निश्चल स्थिर बसिरहेछ । ऊ असाध्यै दुब्लो छ, मात्र अस्थिपञ्जर, जसमा छाला तनक्क तन्काएर टाँसेको जस्तै देखिन्छ । उसको कपाल महिलाको जस्तै घुम्रिएको छ । दारी पनि त्यस्तै छ । उसको अनुहार पहेँलो छ र उमेरका धब्बा स्पष्ट देखिएका छन् । उसका गालाहरू खोपिल्टा परेका छन् । उसको ढाड लामो र साँघुरो छ । ऊ हातमा चिउँडो अड्याएर अगाडि झुकेको छ । उसको दुब्लो र कपाल भएको टाउको हेर्दा साँच्चिकै टीठलाग्दो देखिन्छ । उसका कपाल चाँदीजस्तै सेता भइसकेका छन् । उसको त्यो वृद्ध दुर्वलता देखेर कसैले पनि चालीस वर्षे मानिस भनी विश्वास गर्दैन । उसको अघिल्तिर टेबलमा एउटा कागज थियो, जसमा उसका साना हातले केही लेखेको थियो ।

‘विचरा,’ बैंकरले सोच्यो, ‘यसले भोलि लाखौँ पाउने सुखद् सपना देखिरहेको होला । यो आधा मरिसकेको मान्छेलाई बस ओछ्यानमा हुर्‍याएर सिरानीले एकछिन मुख थुनिदिने हो भने कस्तै विशेषज्ञ अनुसन्धानकर्ताले पनि यसको हत्या भएको हो भनेर भन्न सक्दैन । यसभन्दा अघि यसले के लेखेको रै’छ पढौँ न ।’ बैंकरले त्यो कागज उठायो अनि पढ्न थाल्यो ।

‘भोलि बाह्र बजे म आफ्नो स्वतन्त्रता प्राप्त गर्ने छु । मानिसहरूलाई भेट्न पाउनेछु । भोलि सूर्योदय देख्नुअघि मैले तपाईंलाई केही भन्नु आवश्यक ठानेको छु । म भगवान्, जसले मलाई हेरिरहेछ, उसको अघिल्तिरजस्तै आफ्नो पूर्ण होस र विवेकमा यो घोषणा गर्छु कि भोलिको त्यो स्वतन्त्रता, जीवन, स्वास्थ्य, ती तिमीले दिएका पुस्तकहरू, जसलाई मानिस यो संसार आशीर्वाद ठान्छ, ती सबै तुच्छ छन् । मैले १५ वर्षसम्म यी सांसारिक जीवनहरूलाई मिहिनेतपूर्वक अध्ययन गरेँ । हो, यो सत्य हो । मैले संसार सूर्य आदिलाई भौतिक रुपमा देखिनँ तर तिमीले दिएका पुस्तकहरुको माध्यमबाट मीठामीठा सुगन्धित रक्सीहरू पिएको छु, मैले कयौं गीतहरू गाएको छु ।’

‘मैले जंगलमा हरिण र बँदेलहरुको शिकार गरेको छु, मैले तिनै पुस्तकको माध्यमबाट सुन्दर से सुन्दर मायालु स्त्रीहरूसँग प्रेममा डुबेको छु । अलौकिक दिव्य रश्मिजस्तै सुन्दरीहरू, जसलाई तिम्रा कविहरू र विद्वानहरूले तिनै पुस्तकहरूमा रचना गरेका छन्, उनीहरू सधैँ रातमा मछेउ आउँछन् अनि मेरा कानमा अद्भूत कथाहरू सुनाउँछन्, जसले मेरो मस्तिष्कलाई नै आनन्द विभोरको भुमरीमा लैजान्छन् ।

मैले तिम्रा पुस्तकहरूबाट अलबुर्ज, मोन्ट ब्लान्क र सागरमाथाहरू उक्लेको छु, जहाँबाट मैले सूर्योदयहरू हेरेको छु, साँझहरूले आकाशलाई छोपेको हेरेको छु, सागरहरू, हिमालका सुनौला र श्वेत चुचुराहरू हेरेको छु । मैले त्यहाँबाट मेरो शीरमाथि प्रकाश चम्काएर गएको चट्याङ, आकाशका ती चक्रवात्हरू देखेको छु । मैले हरिया घना जंगलहरू, खेत खलियानहरू, नदी, ताल र सहरहरू देखेको छु । मैले सुदर्शनधारीका पखेटाहरूलाई छोएको छु, मैले ती पुस्तकहरूबाट अथाह गहिरा खोँचहरूमा उडेको छु, जादू देखाएको छु अनि बर्बर हत्याहरू गरेको छु, सहरहरू जलाएको छु अनि नयाँ धर्महरूको रचना र स्थापना पनि गरेको छु...।’

‘तिम्रा पुस्तकहरूले मलाई अनन्त ज्ञान दिएका छन् । ती निरन्तर खोज गरिरहेका, अन्वेषण गरिरहेका मानिसहरूले बनाएका ती सम्पूर्ण ज्ञानहरू मेरो सानो मस्तिष्कमा खाँदिएका छन् । मलाई थाहा छ, तिमीभन्दा म निश्चय पनि बुद्धिमान छु ।’

‘र, आज आएर तिम्रा ती पुस्तकहरू पनि मलाई तुच्छ लागेका छन् । ती ज्ञान, बुद्धिमत्ता र ती आशीर्वादहरु पनि तुच्छ लागेका छन् । तिनीहरु पनि बेकार, क्षणभंगुर, मृगतृष्णाजस्तै भ्रमित र छलि रहेछन् । तिमी जति बुद्धिमान हौ, जतिसुकै गर्व गर, जतिसुकै स्वस्थ र राम्रो रहौ, मृत्युले तिमीलाई यो संसारबाट सजिलै बढारिदिने छ, जसरी मुसो जमिनको प्वालमा बिलाउँछ । तिम्रो उपलब्धि, तिम्रा भाविपिँढी, तिम्रा अमर नायकहरू पनि जलेर खरानी हुनेछन् या पृथ्वीमै स्थिर भएर सकिने छन् ।’

‘तिमीले आफ्नो प्रयोजन या लक्ष्य गुमाइसकेको छौँ र गलत बाटोतिर हिँडिरहेको छौ, सत्य त्यागेर असत्य बोकेर हिँडिरहेछौ, सुन्दरता छोडेर कुरूपता स्वीकारीरहेछौ । गुलाबको फूलबाट घोडाको पसिनाको गन्ध आयो भने, सुन्तला स्याउका बोटमा भ्यागुता र छेपारा फले भने त्यसलाई तिमी चमत्कार ठानेर पुज्छौ । म त तिमी देखेर चमत्कृत छु, जो पृथ्वीलाई स्वर्गसँग विनिमय गर्छ । म तिमीलाई बुझ्न चाहन्नँ ।’

‘यसलाई वास्तविकतामा देखाइदिन कि यी सबै कुरा अब तुच्छ भैसके म त्यही २० लाख जुन मैले स्वर्गसदृश्य आनन्ददायक ठानेको थिएँ, त्यसको तुच्छता साबित गरिदिन र त्यो पुरस्कारबाट वञ्चित हुनका लागि म निश्चित समयको पाँच घण्टा आगावै यो ठाउँ छोडेर जानेछु ताकि सो शर्त उल्लंघन होस् ।’

बैंकरले यो पढिसकेपछि कागजलाई टेबुलमा राख्यो । उसले त्यो अनौठो मान्छेको निधारमा चुम्यो र रूँदै त्यो सानो घरबाट बिस्तारै बाहिर निस्कियो । उसलाई शेयरबजारमा गम्भीर घाटा हुँदा पनि यस्तोविधि आहत भएको थिएन । उसलाई आफूप्रति चरम घृणा जागिरहेको थियो । ऊ ओछ्यानमा त पल्टियो तर मनमा खेलेका भावनाले निदाउन भने सकेन ।

भोलिपल्ट बिहानै उसको सुरक्षा गार्डले हस्याङफस्याङ गर्दै कैदी सानो घरको झ्यालबाट उक्लिएर मूलगेट हुँदै निस्केको खबर सुनायो । बैंकर सुरक्षा गार्डसँगै गएर कैदीले आफ्नो शर्त तोडेर निस्केको प्रमाणित गर्‍यो अनि कसैले धेरै कुरा नकाटोस् भनेर सो कागज सुटुक्क उठायो, जसमा लाखौँ त्यागिएको थियो । सो कागजलाई उसले आफ्नो सेफमा सुरक्षित राख्यो ।

प्रकाशित: ५ माघ २०७६ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App