१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मनाङमा चार जना चिनियाँ पर्यटक सम्पर्कविहीन

पोखरा- अन्नपूर्ण फेरोको पदमार्गमा रहेका चारजना चिनियाँ पर्यटक पनि मनाङ खण्डबाट सम्पर्कविहीन भएका छन्। सञ्चार सम्पर्क नहुने क्षेत्रमा ती पर्यटक रोकिएको हुनसक्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ। हिमपातले पदमार्गको माथिल्लो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद छ।

प्रहरीका अनुसार फेरोको अन्नपूर्ण थोराङला भञ्ज्याङ पार गर्ने भनेर हिडेका दुईजना महिला र दुईजना पुरुष गरि चारजना चिनियाँ पुस २७ गतेपछि सम्पर्कमा छैनन्। फेरोमा पर्ने एक्यापको अन्तिम चेकपोष्ट भ्राकामा पुस २७ गते उनीहरु पुगेका थिए। त्यसपछि उनीहरु थोराङला भञ्ज्याङ पार गर्ने भनेर अघि बढेका थिए। तर उनीहरुले अहिलेसम्म भञ्ज्याङ समेत पार गरेको जानकारी कतै नआएको प्रहरीले बताएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसपी दीपक रेग्मीमा अनुसार उनीहरु एकसातादेखि कतैपनि सम्पर्कमा नआएपछि हराएको आशंका गरिएको हो। ‘चारजना चिनियाँ पर्यटक सम्पर्कमा नआएको भन्ने हामीले जानाकारी पाएका छौ,’ उनले भने, ‘त्यसबारेमा बुझिरहेका छौ।’ थोराङला भञ्ज्याङ पार पनि नगरेको र कतैपनि सम्पर्कमा नआएकोले सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको भनाई छ।

प्रहरीका अनुसार सम्पर्कविहीन भएका चिनियाँ महिलाद्वयमा हुवाङ यिविन र क्याट सियाउटिङ तथा पुरुषहरुमा मा क्यान्ली तथा आन झाड रहेका छन् । उनीहरु कहाँ छन् भन्ने अझै यकिन भएको छैन।

एक्यापका मनाङस्थित संरक्षण अधिकृत बाबुलाल तिरुवाले चिनियाँ पर्यटक सम्पर्कविहीन भएको खबर बाहिर आएपनि अझै यकिन नभईसकेको बताए। उनका अनुसार अन्तिम चेकपोष्टबाट अघि बढेका पर्यटक थोराङला भञ्ज्याङ पार गरेर मुक्तिनाथ ननिस्किएसम्म सम्पर्क हुन कठिन हुने भएकोले पर्यटक सकुशल हुनसक्ने बताए। ‘अन्तिम चेकपोष्ट पार गरेपछि पर्यटकहरु मनाङमा केहीदिन बिताउँछन्। त्यसपछि पनि ठाउँठाउँमा बास बस्दै थोराङला भञ्ज्याङ पार गर्दा एकसाता समय लाग्ने भएकोले सकुशल हुनसक्छन्,’ उनले भने, ‘मनाङमाथि सञ्चार सम्पर्क नभएकोले पनि पर्यटक सम्पर्कमा नआएका हुनसक्छन्।’

उनका अनुसार एकसाता अवधिसम्म बिताउने मनाङदेखि थोराङला भञ्ज्याङसम्मको दुरीमा यतिबेला सञ्चार सम्पर्क बिच्छेद छ। ‘तर, हामी सचेत चाँही हुनैपर्छ। किनकी अधिक हिमपातले पर्यटक अप्ठेरोमा परेका हुनसक्छन,’ उनले भने, ‘अन्तिम चेकपोष्ट पार गरेका पर्यटक ४–५ दिनमै थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङको मुक्तिनाथ निस्किन सक्ने भएपनि यी चिनियाँले बढी समयबीचमै बिताएको हुनसक्छन्।’  

 

प्रकाशित: ४ माघ २०७६ १२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App