१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अन्नपूर्ण पदमार्गमा बेपत्ता पर्यटक अझैं भेटिएनन् (फाेटाे फिचरसहित)

पोखरा - अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परेका विदेशी पदयात्री र नेपाली गाइड अझै सम्पर्कमा आएका छैनन्। हराएका चारजना कोरियाली र दुईजना नेपाली गाइड सम्पर्कविहीन भएको त्यही समूहसँगै पदयात्रामा रहेका अर्का एकजना गाइडले बताएका छन्। खोजी र उद्धारका लागि स्थलमार्गबाट गएको टोली समेत पहिरोस्थलमा पुग्न सकेको छैन।

आफ्नै समूहमा पर्यटक र गाइड हिमपहिरोमा परेको पदयात्री लिएर गएका गाइड रामशरण भट्टले बताए। भट्टका अनुसार काठमाडौंको नेपाल गाइड ट्रेक कम्पनिबाट ९ जना कोरियाली पर्यटक एबिसीको पदयात्रामा हिडेका थिए। ९ जना कोरियाली बाहेक १७ जना नेपाली सहयोगी पनि साथमा रहेको उनले बताए।

उनीहरु शुक्रबार एबिसी पुग्ने तालिका थियो। गत बुधबार उनीहरु पोखराबाट हिडेका थिए। भट्टका अनुसार बाक्लो हिमपातले गर्दा ती पदयात्री एबिसी पुग्न नसकेपछि देउरालीबाट फर्किँदा हिमपहिरोमा परेका थिए। हिङ कु केभ र देउरालीबीचमा आइपुग्दा एकाएक हिमपहिरो आएर चारजना कोरियाली र दुईजना नेपाली सम्पर्कविहीन भएको उनले बताए। बाँकी कोरियन पाहुना भने सुरक्षित रहेको उनले बताए।

‘हाम्रै समूहमा रहेका कोरियन पर्यटक र नेपाली गाइड सम्पर्क विहीन भएका छन्। उनीहरुको अवस्था अझै पत्तो लागेको छैन,’ उनले भने, ‘बाक्लो हिउँले गर्दा बीचबाटोबाट फर्किनै लाग्दा हिमपहिरोमा परियो। के कति क्षति छ भन्ने यकिन छैन।’ उनी शनिबार बिहान छोमरोङ झरेका थिए। उनका अनुसार बाक्लो हिमपातले गर्दा पैदल हिड्न समेत नसक्ने अवस्था थियो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का छोमरोङस्थित चेकपोष्टका प्रमुख नेत्र शर्माका अनुसार हिमपहिरोमा हराएका पर्यटक र नेपाली गाइडको खोजीका लागि स्थानीयबासी र केही व्यावसायी घटनास्थलतर्फ लागेका छन्। तर, मौसमले साथ नदिँदा समस्या भएको उनले बताए। त्यसबाहेक विभिन्न तीनवटा कम्पनीका हेलिकोप्टरले अहिले आधारशिविर क्षेत्रमा रोकिएका पर्यटक र गाइडलाई छोमरोङ झार्ने काम गरिरहेका छन्। केही पर्यटकलाई हेलिकोप्टरले नै पोखरासम्म झारेका छन्।

उनका अनुसार बाक्लो हिमपातले जोखिम हुनसक्ने भन्दै एबिसीका पर्यटक, गाइड र होटल व्यावसायी केही दुरीको तल रहेको माछापुच्छ«े आधारशिविर (एमबिसी) झरेका थिए। शुक्रबार नै पर्यटक र गाइड एमबिसीमा झरेका थिए। बाक्लो हिमपातले एमबिसीमा रोकिएका सबै पर्यटकलाई हेलिकोप्टरबाट छोमरोङ ल्याउने क्रम चलिरहेको शर्माले बताए।

‘पर्यटक, गाइड र स्थानीय गरी करिब एक सय जना जति एमबिसीमा रोकिएको उनले बताए। ‘शुक्रबार नै एबिसीमा रहेका पर्यटक र गाइड तथा होटलका बासिन्दा बसाई छाडेर एमबिसी झरेका थिए,’ उनले भने, ‘एबिसी भन्दा एमबिसी केही सुरक्षित ठाउँ मानिन्छ। त्यही भएर एमबिसीमा झरेका छन्। उनीहरुलाई थप सुरक्षाका लागि छोमरोङ झार्ने क्रम चलिरहेको छ।’ मौसम खुलेपछि पोखराबाट बिहान ११ बजेपछि पुगेका हेलिकप्टरले बल्ल उद्धार थालेका थिए।

उद्धार र खोजीका लागि पोखराबाट गएको पदयात्रा व्यावसायीको टोलीले पनि खोजतलास सहज नभएको बताएका छन्। खोजीका लागि टे«किङ व्यावायसायीका छाता संस्थाबाट विजय केसी सहितको टोली शनिबार बेलुकी नै त्यस क्षेत्रमा पुगेका थिए। केसीका अनुसार हिमपहिरो झरेको ठाउँमा अझै कोहीपनि पुग्न सकेको छैन। बाक्लो हिउँ जमेका कारण पहिरोस्थल पुग्न नसकेको उनले बताए।

विभिन्न हेलिकोप्टर कम्पनीले अहिले पर्यटकलाई छोमरोङबाट पोखरासम्म झारिरहेका छन्। चिनियाँ पर्यटकको दुई समूह पोखरा आइसकेको छ। ती पर्यटकका अनुसार बाक्लो हिमपातले एमबिसी क्षेत्र पुरै ढाकिएको थियो। करिब सय जनाजति एमबिसी क्षेत्रमा रोकिएकोमा पालैपालो छोमरोङ झार्ने क्रम चलिरहेको उनीहरुले बताए। ‘साह्रै नै डरलाग्दो हिमपात भयो। बाच्ने आस समेत हराई सकेको थियो,’ एकजना चिनियाँ महिला जुलिया झुले भनिन, ‘विभिन्न देशका ती पर्यटक एमबिसी क्षेत्रमा छन्।’

प्रकाशित: ४ माघ २०७६ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App