१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

इलाममा राष्ट्रिय नाटक महोत्सव हुने

महोत्सवको तयारीका लागि सरोकारवालाबीचको छलफल । तस्बिर: भीम/नागरिक

इलाम- बढ्दो आधुनिकता र जीवनशैलीमा आएको परिवर्तनले नेपाली साहित्यमा बिरलै मात्र देख्न–पढ्न पाउने अवस्थामा पुगेको नाटक विधाको संरक्षणका लागि कलाकर्मी जुटेका छन्। जिल्लामा राष्ट्रिय लोक–नाटक महोत्सव आयोजना गरी त्यसैको माध्यमबाट देशको मौलिकता झल्काउन सरकारी र सामाजिक संघ–संस्था एकजुट भएका हुन्।

यही माघ २६ देखि फागुन १ सम्म (५ दिन) जिल्ला सदरमुकाम नाटकमय हुँदैछ। सातै प्रदेशका १–१ मौलिक नाटक मञ्चन गरिने महोत्सवमा प्रत्येक दिन नाटककै बारेमा कार्यशालासमेत हुनेछ। सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको आयोजना तथा इलाम नगरपालिकाअन्तर्गतको सहित्य, कला, संगीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहआयोजनामा महोत्सव हुन लागेको हो।

संस्थानले प्रत्येक प्रदेशबाट प्रतिनिधित्व रहनेगरी महोत्सवमा मञ्चन गरिने नाटक छनौट गरेको छ। त्यसमा आयोजक संस्थाले थप अर्काे नाटक पनि मञ्चन गर्ने चेतना नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलले बताए। उनका अनुसार प्रदेश १ बाट ‘सुम्निमा–पारुहाङ’, २ बाट ‘कनन हरलता’, बागमतीबाट ‘राजकुमार मल्ल युद्ध’, गण्डकीबाट ‘नमबुद्ध’, ५ बाट ‘कुजरी’ कर्णालीबाट ‘छैंटी’ र प्रदेश ७ बाट ‘लोली सञ्जा’ नाटक मञ्चन गरिनेछ। आयोजकले भने ‘थान’ नाटक मञ्चन गर्ने पोर्तेलले बताए।

‘पर्यटन वर्ष २०२० को प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको नाटक महोत्सवमा प्रत्येक प्रदेशबाट आफ्नो नाटक मञ्चनका लागि कलाकार आउनेछन्,’ उनले भने, ‘इच्छुकलाई इलामका पर्यटकीयस्थलको भ्रमण पनि गराइनेछ ।’ नाटक सम्बन्धि कार्यशालामा वीरेन्द्र हमाल, रामभगत कामतजस्ता नाट्यकर्मीसमेतको सहभागिता रहने उनले जनाए।

सहआयोजक संस्थाले शुक्रबार सदरमुकाममा सरोकारवालाको बैठक आयोजना गरी महोत्सवबारे सुझाव संकलन गरेको छ। प्रतिष्ठान अध्यक्ष टीका घिमिरेले राष्ट्रिय नाचघरले प्रत्येक वर्ष देशका विभिन्न स्थानमा आयोजना गर्ने नाटक महोत्सव इलाममा आयोजना गर्नु ठूलो अवसर भएको बताइन्। ‘यहीबेला पर्यटन वर्ष चलिरहेको छ, नाटकका माध्यमबाट प्रत्येक प्रदेशको लोक–संस्कृति झल्काउन पाउने राम्रो अवसर इलामलाई छ,’ घिमिरेले भनिन्, ‘यो कार्यक्रम आयोजकको मात्र होइन, सिंगो इलामको पर्यटन प्रवद्र्धन गर्ने अवसर हो।’ उनले महोत्सवको व्यवस्थापनका लागि सरोकारवालासँगको छलफल तीव्र पारिएको जानकारी दिइन्।

जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले नाटक महोत्सवले जिल्लाका पर्यटकीय क्षेत्र र स्थानीय लोक–कलाको प्रवद्र्धनमा सघाउने विश्वास व्यक्त गरे। ‘महोत्सवमा बाहिरबाट पाहुना आउँछन्, जिल्लाकै गाउँ–गाउँबाट पनि मानिसहरू सदरमुकाम आउँदा यहाँको आर्थिक क्रियाकलाप चलायमान हुन्छ,’ उनले भने, ‘त्यतिमात्र होइन, इलामको प्रचार गरी भविष्यमा पर्यटन व्यवसाय फस्टाउन पनि सहयोग पुग्छ।’

सदरमुकाममा र्‍यालीसहित महोत्सवको उद्घाटन गरिने प्रतिष्ठानका सचिव दिवाकर भण्डारीले बताए। ‘महोत्सवको उद्घाटन–समापनको अवसरमा सहभागी हुने विशिष्ट व्यक्ति र कार्यशालामा प्रस्तुत गरिने कार्यपत्र प्रस्तोताबारे छलफल भइरहेको छ,’ उनले भने, ‘अब केही दिनमै टुंगो लगाएर पत्रकार सम्मेलन आयोजना गरी यसको विस्तृत जानकारी सार्वजनिक गर्नेछौं।’ सरोकारवालाको बैठकमा जिल्ला समन्वय समितिसहित, जिल्ला युवा समिति, सुरक्षा निकायका प्रमुख, सामाजिक संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता थियो।

 

प्रकाशित: ४ माघ २०७६ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App