१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिँचाइ सुविधा पुगेपछि कृषक हर्षित

ओखलढुंगा- सुख्खा क्षेत्रमा सिँचाइको सुविधा पुगेपछि कृषक हर्षित भएका छन्। मानेभञ्ज्याङ्ग गाउँपालिका–१ मोलीको अति सुख्खा क्षेत्रमा सिँचाइ सुविधा पुगेपछी यहाँका स्थानीयहरु हर्षित भएका छन्। अहिले यस भेगका कृषकले गहुँ, आलु लगायत तरकारी बाली लगाउने गरेको स्थानीय दुर्गामाया आलेले बताइन्।

सिँचाइ सुविधा पुगेपछि नगदेबालीतर्फ कृषक आकर्षित भएको उनको भनाइ छ। यहाँबाट कृषकले उत्पादन गरेको तरकारी ओखलढुंगा सदरमुकामसम्म बिक्री हुने गरेको पालजंग रुम्दालिले जानकारी दिए।

सुक्खा रहेका जमिनमा सिँचाइ सुविधा पुर्‍याइएपछि किसानले अन्नबाली र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेको रुम्दालिको भनाइ छ। जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रदेश–१ ओखलढुंगाको ६० लाख र कटहर भञ्ज्याङ्ग नयाँ प्रविधी सिँचाइ योजना जल उपभोक्ता समिति मार्फत तिन लाख ३५ हजार दुई सय ३५ रुपैयाँ बराबरको जनश्रमदानबाट सिँचाइ आयोजना सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष सुजन रुम्दालिले बताए।

समितिले काम थालेको करिब चार महिनाको अवधिमा आयोजनाको अधिकांश काम सकिएको रुम्दालिको भनाइ छ। आयोजना सम्पन्न गर्नुपर्ने मिति भन्दा करिब चार महिना अगाडिनै आयोजनाको काम सम्पन्न भएको हो। यस आयोजनाबाट ५४ घरधुरीका किसानहरु लाभान्वीत भएको जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख महेश यादवले बताए।

करिब २३ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको प्रमुख यादवको भनाइ छ। बस्तिभन्दा करिब एक किलोमिटर टाढा रानागाउँमा रहेको पानीको मुहानबाट सिँचाइका लागि ल्याइएको पानी तिन ठाउँमा संकलन गर्ने पक्की ट्याङ्की निर्माण गरि पाईप मार्फत किसानका खेतबारिसम्म सिँचाइ सुविधा पुर्‍याइएको समितिले जनाएको छ। यो आयोजनाले यस क्षेत्रका व्यवसायिक तरकारी खेती गर्ने किसानहरुको आर्थिक अवस्थामा सुधार हुने वडा अध्यक्ष राजकुमार रुम्दालिले बताएका छन्।

 

प्रकाशित: ४ माघ २०७६ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App