१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

जुनारको जिल्लामा रसिलो काव्यपान

जहाँ हुन्छन देशभक्त, देश मर्दैन है त्यहाँ,
हार्न सक्दैन यो राष्ट्र म जिउँदै छु अझै यहाँ।
कवि रामप्रसाद ज्ञवालीले राष्ट्रप्रेमको कविता वाचनसँगै देशभक्तिको कथा पनि सुनाए– जंगलमा आगलागी भएछ। भएभरका जनावर भागेछन्। हात्ती–घोडाहरू आगोबाट आत्तिँदै किनारमा टोलाएछन्। एउटा भंगेराले भने चुच्चोमा पानी ल्याएर थोपा–थोपा खसाल्दै निभाउने प्रयासमा जुटेछ। हात्तीले सोधेछ, ‘हाम्रो सुँडले थुप्रै पानी जम्मा गर्न सक्छ, तर हामीले आँट गरेनौँ। चुच्चोले निभाउने आँट तिमीमा कसरी पलायो ?’

भंगेराले भनेछ, ‘मलाई थाहा छैन म निभाउन सक्छु या सक्दिनँ। तर, मेरा पुर्खा र म बस्दै आएको घरमा यति बेला आगो लाग्दै छ। यस्तो बेला म कसरी हात बाँधेर बस्न सक्छु ?’ ज्ञवालीले सुनाएको कथाका पात्रजस्तै थिए, साहित्यकार जगदीश घिमिरे। गरिबी र भ्रष्टाचारको दुश्चक्रमा आक्रान्त देशमा एक–एक पाइला चाल्दै उनले विकासको बाटोमा अगाडि बढ्ने अठोट गरेका थिए। घिमिरैकै छैटौँ स्मृतिसभामा भाग लिन रामेछापको मन्थलीमा आएका आगन्तुक तथा स्थानीयमाझ उनले गरेको दिगो विकासको निकै चर्चा चल्यो।

सुक्खा डाँडामा पानी ल्याउनु, गरिबीका माझ सहकारी खोलेर जीवन परिवर्तनमा भूमिका खेल्नु, अनि झाडापखालाको समेत उपचार नपाइने ठाउँमा सुविधा सम्पन्न अस्पताल खोल्ने घिमिरेको प्रयासले सिंगो मन्थलीमा सकारात्मक परिवर्तन देखिएको छ। रामेछाप तीन ‘लाल’ जिल्लाको नामले समेत चिनिन्छ। कृष्णलाल ‐मकै पर्व) गंगालाल र पुष्पलाल यसै जिल्लामा जन्मेका थिए। उनीहरूको सम्मानमा मन्थलीवासीले तामाकोशीको किनारमा तीन लालको सालिक पनि राखेका छन्। कृष्णलाल कविता लेखेका कारण राणाको खोरमा परे। गंगालाल निरकुंशताविरुद्ध लड्दै सहिद बने। पुष्पलाल कम्युनिस्ट पार्टीको स्थापना गर्दै आममानिसको जीविका सहज बनाउने अभियानमा लागिरहे।

त्यस्तै, प्रकृतिका थिए, जगदीश पनि। सानै घेरा सही, उनले दिगो विकासको ठूलो उदाहरण दिएर गएका छन्। केही हजारबाट सुरु भएको सहकारी पचासौँ करोडको साझा सम्पत्ति बनेको छ। कोठामा सुरु भएको स्वास्थ्यचौकी सुविधा सम्पन्न अस्पताल बनेको छ। पानीको अभावमा घन्टौँ हिँड्नुपर्ने बाध्यता हटेर आँगन–आँगनमा धारा आएका छन्। त्यसैले होला गोरखापत्र संस्थानका अध्यक्ष कृष्णप्रसाद भण्डारीले त तीन लालको यो जिल्लामा ‘जगदीश चौथो लाल’ भन्दै उनी दिगो विकासका लागि अमर बनेर गएको सुनाए। सहरको समाज गाउँसँग अझै टाढिएको छ। ऊ गाउँ घुम्न त जान्छ, तर गाउँलेको पीर–मर्कालाई नजिकबाट बुझ्दैन। प्रतीक घिमिरेले वाचन गरेको कविता जस्तै–
हिउँ परेको छ गाउँमा अहिले
पसेको छ एक हुल सहर
हिउँ परेको गाउँमा हिउँ हेर्न भनेर
तर, गाउँमा हिउँ हेर्न पुगेको सहरले
कठाङ्ग्रिएर कामेको
गाउँले मनलाई स्पर्श गर्नै सकेन

कवितामा उल्लेख भएका प्रवृत्तिभन्दा बिल्कुल फरक थिए, जगदीश। उनले विलासी जीवन र लोभलाग्दो जागिर छोडेर रामेछापको दुर्गम गाउँमा समाजसेवा गरे। २००२ मा रामेछापको मन्थलीमा जन्मेका उनले २०४० देखि मन्थलीमै तामाकोशी सेवा समिति स्थापना गरी समाज सेवा थालेका थिए।
आशाहरू मरेको बेला
भरोसाहरू टुटेको बेला
गाण्डिव रोजौँ कि गान्धी रोजौँ
प्रिया म दोधारमा बाँचिरहेको छु

कवि डा. सुमन कर्माचार्यले यो कविता सुनाउँदै गर्दा धेरैले फेरि जगदीशलाई नै सम्झेँ। युवा बेला बन्दुक उठाएर क्रान्ति गर्न निस्केका घिमिरे एकै रातमा समाज सेवाको बाटोमा फर्किएका थिए। दिगो विकासले मात्र समाज परिवर्तन गर्न सकिन्छ भन्ने सोच राखेका घिमिरेले साँचो अर्थमा मन्थली क्षेत्रलाई आत्मनिर्भरको बाटोमा डो¥याए। अहिले यही बाटोमा तामाकोशी सेवा समाज हिँड्दै छ।
म विधवा क्यानभासमा रंग भर्ने मान्छे
सिर्जना कुँदेर चेतना फुलाउन खोज्छु
कोपिलामै झरेका छन्, मालतीहरू थुप्रै
स्नेहसाथ बुनेर जतन गर्न खोज्छु।
कवियित्री गंगा सुवेदीले वाचन गरेको कविता जस्तै थियो, घिमिरेको मन पनि। समाजका पिछडिएका समाजलाई ज्ञानको ज्योति दिलाउन उनले आर्थिक सहयोग गरे। माझी र मुसलमान समुदायका तन्नेरीलाई पढाएर रोजगारी दिए। उनीहरूले स्मृति सभामा उभिएर तामाकोशी सेवा समाजसँगै जगदीशको योगदानको चर्चा गर्दा धेरैको अनुहार खुसीले धपक्कै बलेको थियो।
मोबाइलको बढ्दो मोहनीसँगै मानिस–मानिससँग टाढिएको छ।

कवि दामोदर पुडासैनीले वाचन गरेको कविता जस्तै :
मान्छे पिठ जोडेर बस्छ, छेमकुशल सोध्छ
म्यासेन्जरबाट एउटा कोठामा बसेकालाई पनि
कि फुक्र्याउँछ, कि घुक्र्याउँछ
लाइक कमेन्ट गरेर
घिमिरे ती मान्छेभन्दा बिल्कुल भिन्न थिए। उनी राजधानीमै बसेका समय पनि अन्तर्मनमा रामेछाप लिएर बस्थे। त्यहाँका किसानको समस्या सुन्थे। सक्दो सहयोग गर्थे। उनले रामेछापमा पिछडिएको समुदायमा उनले खानेपानी, सिँचाइ, विद्यालय, कृषि, सहकारीजस्ता कामको सुरुवात गरेको हात हालेका थिए। जिल्लाका झन्डै २५ गाविसलाई कार्यक्षेत्र बनाएर दिगो विकासका लागि उनले काम अगाडि बढाए।

कविहरू बादलमा हलो जोतेर पानी बर्साउने कल्पना गर्छन्। उनी पहाडका भित्ता फोरेर पानी ल्याउँथे। क्यान्सर लागेपछि उनले आफ्नो जीवन र जगतलाई विश्लेषण गर्दै लेखेको अन्तर्मनको यात्रा नेपाली साहित्य क्षेत्रमा चर्चाको शिखरमा छ। उनको अन्तिम कृति सकस उपन्यासले पनि उत्तिकै चर्चा कमाएको छ। उनी साहित्यकार थिए। कल्पना गर्थे। समाजका समस्यालाई पनि त्यसको फेदीमै पुगेर साकार तुलाउँथे। कल्पनालाई कसरी जीवन्तता दिन सकिन्छ भन्नेतर्फ सोच्थे। सधैँभरि रहर हुन जस्तो लाग्थ्यो उनी। निमुखाका निकै प्यारा थिए घिमिरे।

त्यसैलै कवियित्री चारुभा घिमिरे सुनाउँछिन्–
रामेछापको मन्थली सम्झिरहने ठाउँ
जगदीश घिमिरे सम्झनैपर्ने नाउँ
विकासको काममा उनी गाउँ–गाउँ डुल्ने
सोझो सीधा जनताको काममा सधैँ भुल्ने
जति नै प्यारा भए पनि ति सधैँ रहँदैनन्। अथवा सधैँ रहिरहनु अथवा राखिरहनु सम्भव पनि छैन।

मेलिना जोशीले वाचन गरेको कविता जस्तै :
यदि सूर्य नै सुख हो भने पनि
निश्चय नै ऊ साँझमा त डुब्छ
तर, भोलिको सूर्य
आजै झोलामा बन्द गर्न सक्दिनँ।
जगदीश कुनै जाति विशेषका रहेनन्। उनी जहाँ गए, त्यहाँ राम्रो काम गरे। राम्रो साहित्य लेखे। राम्रा साथी बनाए। सबै जात र धर्मलाई सहयोग गरे। सहर–गाउँ दुवैलाई माया गरे। ज्ञवालीको कविताको अंश जस्तै :
–न म जात हुँ, न म धर्म हुँ
न म लिंग हु म विशेष हुँ,
म हिमाल हुँ, म पहाड हुँ
म मधेस हुँ, म त देश हुँ।
जगदीशको पीडालाई नजिकबाट नियालेकी उनकी धर्मपत्नीले पनि जगदीशको सम्झनामा कविता वाचन गर्न जुटिन्। जगदीशले पीडाको समयमा कृति कोरेजस्तै दुर्गाले पनि जगदीश गुमाएपछिको पीडामा कृति कोेरेको सुनाइन्।
मेरो रगतको आँसुलाई मसी बनाउँदै
तिमीले लेख्यौ अन्तर्मनको यात्रा
त्यही पीडालाई सम्झिएर
रगतको आँसुलाई मसी बनाउँदै
मैले पनि लेखे तिम्रो सम्झना।

जगदीशकी धर्मपत्नी दुर्गा घिमिरेले कविताको यी दुई लाइन वाचन गर्दा सबै गम्भीर बने। समाजसेवामा क्रियाशील रहेकै बेला घिमिरेलाई मल्टिपल माइलोमा क्यान्सर लागेको र त्यसैबाट थलिएर २०७० कात्तिक १४ गते काठमाडौंमा उनको निधन भएको थियो। अझ भन्ने हो भने राम्रो कर्म गर्ने मान्छे खासमा कहिल्यै मर्दैन। उनीहरू नमरी मर्छन् अर्थात् अमर रहन्छ।
रामप्रसाद ज्ञवालीले वाचन गरेको कविता जस्तै :
जिन्दगानी रहेसम्म जिन्दगी छर्नुपर्छ
मरिन्छ, मर्नुपर्छ, नमरी मर्नुपर्छ
क्यान्सरले थलिएपछि सक्रिय समाजसेवाबाट साहित्य सिर्जना गर्न जुटेका घिमिरेले रामेछापमा हरेक वर्ष साहित्यिक महोत्सव गर्ने गरेका थिए। साहित्यकारलाई बोलाएर मन्थलीमा साहित्य सम्मेलन गरेका घिमिरेको यही कामलाई निरन्तरता दिएको थियो, जगदीश घिमिरे प्रतिष्ठानले।
प्रतिष्ठानका सल्लाहकार एवं जगदीशका दाजु नगेन्द्रराज शर्माको मधुर वचन अनि अर्को सल्लाहकार रोचक घिमिरेका रोचक प्रस्तुतिका कारण कार्यक्रम अवधि निकै सहज र रोमाञ्चक बन्न पुग्यो। मीठो वचन, न्यानो सत्कार, रमाइला जानकारीसँंगै जुनारको यो जिल्लामा रसिलो काव्यापनको अवसर जुट्यो।

कार्यक्रममा सहभागी ज्ञानु पाण्डे, तुलसा अमात्य, सावित्री कक्षपति शर्मिला कार्कीले घिमिरेको जन्मथलोमा पुगेर उनले गरेका सत्कर्म हेर्न पाउँदा निकै खुसी लागेको बताए। समाजसेवी लिली थापाले समाज रूपान्तरणमा घिमिरेले अपनाएको शैली निकै आकर्षक रहेको भन्दै आफूहरू पनि दिगो विकासका लागि लागिपर्ने सुनाइन्। जगदीशहरू जन्मन्छन्, मर्छन्। यो शाश्वत सत्य हो। छन्द गायनका युवा प्रतिभा बबिन न्यौपानेले भनेजस्तै जगदीशहरू बन्ने प्रक्रिया भने कहिल्यै रोकिनुहुन्न। यही नै जगदीशप्रतिको साँचो श्रद्धाञ्जली हुन्छ।

प्रकाशित: ४ माघ २०७६ ०४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App