१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पञ्चपुरीमा औद्योगिक ग्रामको काम सुरु

पञ्चपुरी नगरपालिकाको कार्यालय ।

सुर्खेत- पञ्चपुरी नगरपालिकाका चतुरे र दुलालथाईबीचको क्षेत्रमा औद्योगिक ग्राम स्थापनाको काम सुरु भएको छ। देशभरका ३५ स्थानीय तहमध्ये कर्णालीको पञ्चपुरी नगरपालिका र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा औद्योगिक ग्राम स्थापना हुन लागेको हो। यसका लागि नगरपालिकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समझदारी–पत्रमा हस्ताक्षर गरेको छ।

‘पञ्चपुरी नगरपालिका–६ को चतुरे र वडा नंं–८ को दुलालथाईको बीचको क्षेत्रलाई औद्योगिक ग्रामका लागि छुट्याएका छौं,’ मेयर उपेन्द्रबहादुर थापाले भने, ‘मन्त्रालयसँग संझौता भयो, अब औद्योगिक ग्राम निर्माणले पूर्णता पाउँछ।’ स्थानीय स्रोत, साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी बृद्धि गर्दै उद्योग स्थापना, विकास र प्रवद्र्धनका साथै रोजगारी सृजनाका माध्यमबाट स्थानीय अर्थतन्त्रमा अभिबृद्धि गर्ने उद्देश्यले सरकारले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाको नीति लिएको छ।

औद्योगिक ग्रामका लागि नगरपालिकाले १५ विघा जमिन छुट्याएको छ। मन्त्रालयले औद्योगिक ग्राम स्थापनाका लागि चालू आर्थिक वर्षमा ९२ लाख रुपैयाँ पञ्चपुरी नगरपालिकालाई उपलब्ध गराएको छ। ‘सरकारले उपलब्ध गराएको रकमबाट विस्तृत परियोजना प्रतिवेदनका साथै पूर्वाधार निर्माणको काम सुरु गछौं,’ मेयर थापाले भने, ‘यो पश्चिम सुर्खेतका लागि महत्वपूर्ण उपलब्धी हो।’ उनले कच्चा पदार्थको बजारिकरण, रोजगारी सृजनाका साथै पश्चिम क्षेत्रको विकास र समृद्धिका लागि औद्योगिक ग्राम महत्वपूर्ण कोशेढुंगा हुने बताए।

मेयर थापाका अनुसार मन्त्रालयले उपलब्ध गराएकोे रकमबाट जग्गा विकास, ग्रामका लागि आवश्यक पहुँच मार्ग निर्माण, ग्रामभित्रको मुख्य तथा सहायक मार्ग निर्माण, मुख्य मार्गको साइडमा पैदल मार्ग, विद्युत प्रसारण लाइन तथा आवश्यकता अनुसार सबस्टेशन, ट्रान्सफमर, विद्युत वितरण लाइन, बैकल्पिक उर्जाको व्यवस्था, गादोम घर निर्माण, पानीको आपूर्तिको व्यवस्था, भूमिगत तथा सतही ढल निकासको व्यवस्था, औद्योगिक फोहर व्यवस्थापन संयन्त्र, सञ्चार, सडक वत्तीको काम गर्नुपर्ने छ।

औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तिय संस्थाको भवन, दिवा शिशु स्याहार केन्द्र, अग्नी नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा विक्री कक्ष, पार्किङ तथा आरामस्थल, चमेना गृह, प्राथमिक स्वास्थ्य केन्द्रलगायतका संरचनाहरु निर्माण हुनेछन्।

 

 

प्रकाशित: ३ माघ २०७६ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App