लक्ष्मी सापकोटा
मानिस जहिले पनि सौन्दर्यबाट मोहित हुन्छ। सहजता उसको चाहना हो, दुरुहता र कष्ट होइन। गहिरिएर मनन गर्ने हो भने सामान्य उदाहरणबाट विशेष कुरा प्रस्ट हुन्छन्। जस्तो कि मानिस फूल फुलेको रुचाउँछ, उज्यालो मन पराउँछ, सुखी हुन चाहन्छ, अरुलाई दिन रमाउँछ। त्यस्तै नकारात्मक भन्दा सकारात्मक हुन रुचाउँछ। सकारात्मक विचारलाई सिद्धान्तका रूपमा ग्रहण गरिन्छ, सकारात्मक हुने किताब बढी किनिन्छ, सकारात्मक गीत सदावहार हुन्छन्, सकारात्मक व्यक्ति मार्ग प्रदर्शक हुन्छन्। नकारात्मक व्यक्ति, विचार, लेख आदि खहरे जसरी आउँछन् र जान्छन्, तर सकारात्मक व्यक्ति, विचार, लेख गहिरा नदी जस्ता शान्त हुन्छन्। निरन्तर बग्छन्, सधैँ रहन्छन्। कतिपय अवस्थामा बाहिरबाट हेर्दा मानिसमा नकारात्मकता देखिए पनि उसको चाहना र लक्ष्य सकारात्मकतातिर रहेको हुन्छ।
तर नेपाली राजनीतिका विषयमा आमजनमानसमा हेर्दा यो अवस्था उल्टो देख्न सकिन्छ। यहाँ मानिसको मनोविज्ञानलाई केवल नकारात्मक हुने परिवेशमात्र बनिरहेको छ। यसका खास केही कारण छन्। प्रायः नेपाली जनता, सरकारका काम कारबाहीमा सकारात्मकभन्दा बढी नकारात्मक देखिन्छन्। उदाहरणका लागि दैनिकरूपमा प्रकाशित हुने पत्रिकाका लेख, सामाजिक सञ्जालमा भएका टीका टिप्पणी, टेलिभिजन तथा रेडियोमा आउने समाचार, अन्तर्वार्ता, व्यक्तिका कुराकानी, कुनै आलेख आएमा सुरुदेखि अन्त्यसम्म नपढी हुने नकारात्मक प्रतिक्रिया। अर्थात् देशमा आउने कुनै नयाँ विषय, विचार योजना आदिमा पनि पहिले नकारात्मक टिप्पणी हुन्छन्।
जस्तै– उखु किसानको आन्दोलन हेरौँ। उक्त आन्दोलनमा मेरो पनि साथ थियो र छ। उद्योगीले गरिब किसानलाई वर्षौँदेखि अन्याय गरेका रहेछन्। आफ्ना जनताले न्याय पाएका छन् कि छैनन् हेर्ने कर्तव्य सरकारको हो। त्यहाँ सरकारले किसानलाई ६० प्रतिशत अनुदान दिनु साह्रै राम्रो कार्य हो। तर यो विषय कसैले स्मरण गरेको देखिएन।
दोस्रो, अमेरिकाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसनअनुसार दिने अनुदान। हामी धेरैले यो अनुदानबारे गहिरो अध्ययन नगरीकनै विरोध ग¥यौँ। भनाइको मतलव पहिले सकारात्मक सोचौँ, अनि अध्ययन गरौँ न। कुनै प्रश्न उठ्नुभन्दा पहिला नै तयार भएको उत्तर हुँदैन। जहिलेसुकै र जुनसुकै विषयमा पनि हुन्न मात्र नभनौँ, नकारात्मकताको भावनालाई सकारात्मकतामा बदलौँ। बिनाबुझाइ विरोध गर्नु कदापि उचित होइन। गलत छ भने पनि त्यसलाई मनन गरेरमात्र विरोध गर्नु सकारात्मकता हो।
जनताले विरोधमात्र गरे भन्नुभन्दा पनि किन विरोध गरिरहेका छन् भनेर बुझ्नपट्टि लाग्नु बुद्धिमानी ठहर्छ। समयले जनमनको मनोविज्ञान बुझेर चल्ने सरकार माग गरिरहेको छ, विरोध गरे भनेर रिसाउने सरकारको होइन।
एक दिन विद्यार्थीलाई मैले एउटा प्रश्नको उत्तर लेख भनेँ। प्रश्न थियो– देशमा भएको वा भइरहेको एउटा उल्लेख्य कामबारे लेख्ने। विद्यार्थीका उत्तर शतप्रतिशत नकारात्मकमात्र आए। म अचम्मित भएँ। त्यसपछि भनेँ– देशमा भएको एउटा राम्रो कामबारे लेख। त्यसपछि उनीहरूले मेरो जानकारीमा नभएका धेरै सकारात्मक कामबारे लेखे।
साथीहरूसँग कुराकानी गर्दा अथवा जुन पनि कुरा सरकारले ल्याउँदा पहिला नकारात्मक कोणबाट मात्र हेर्ने परिपाटी देखिन्छ। हुन त सरकारले सबै सकारात्मक अथवा शतप्रतिशत राम्रा मात्र काम गरेको छैन अनि सबै नकारात्मक कार्य पनि गरेको छैन। किन मानिस सरकारप्रति नकारात्मक भन्नेबारे खोज्न मन लाग्यो। के साँच्चिकै सरकारले नरामै्र नराम्रा काममात्रै गरेको छ त ?
‘समृद्ध नेपालका लागि राजनीतिक दलको भूमिका’ विषयक एउटा कार्यक्रममा प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले– जनता नकारात्मक होइन बरु विभिन्न समयमा जनता सत्ता पक्षसँग लड्नुप-यो अनि उनीहरू सत्तापक्षप्रति नकारात्मक भएका हुन्, समय आएपछि, राम्रो काम गरेपछि जनता सकारात्मक हुन्छन् भन्ने विचार राख्नुभएको थियो। वास्तवमा उक्त कुरा हाम्रो यथार्थ हो।
जनता सरकारप्रति नकारात्मक अहिलेमात्र भएका होइनन् धैरै अगाडिदेखि त्यस्तो बनाइएको हो। जो सरकारबाहिर बस्छ त्यसले जनतालाई सत्ता पक्षको जहिले पनि विरोध गर्नुपर्छ भनेर सिकाइरह्यो। उनीहरूले जनतामाथि एक प्रकारको मन्द विषजस्तो नकारात्मक मनोविज्ञान निर्माण गरिदिए। अनि हामी सरकारका जुन काम पनि पहिला नकारात्मक भएर हेर्छौँ। खास कुरा के हो भने सत्तामा नेकपा भएर नै मात्र पनि विरोध भएको होइन, कांग्रेस भए पनि वा अन्य पार्टी भए पनि विरोध त हुन्छ। २००७, २०४७, २०६२–६३ मा कहिले यही सरकारमा भएका पार्टीले जनतालाई विरोध गर्न सिकाए, उकासे अनि कहिले सरकारबाहिर भएका पार्टीले जनतालाई सत्ता पक्ष वा सरकार पक्षसँग नकारात्मक बनाए।
म भक्तपुरको बाटो सार्वजनिक बिदाबाहेक सधैँ हिँड्छु। मलाई धेरै खुसी लाग्छ त्यहाँको विकास निर्माण देखेर। सधैँ काम भएका छन्। हनुमन्तेका पुललगायत अरु चारवटा पुल निर्माणका काम भइसकेका छन्। अनि सोच्छु, अरु ठाउँमा पनि यति छिटो काम भए त ? हिँडेर जाने क्रममा बटुवा साथीसँग कुराकानी हुने गर्छ– भक्तपुरमा त कति चाँडै विकास भइरहेको छ भनेर। अनि जतिसँग कुरा गर्छु प्रायः ले केही न केही नकारात्मक कुरा उठाउँछन्। विकास भएका कुरा बाटोले देखाउँछ, बनेका पुलले देखाउँछ तर पनि सकारात्मक दृष्टिचाहिँ कतै दमित भएझैँ केही न केही नकारात्मक कुरामात्र आउँछ, किन ? अर्को कुरा नकारात्मकता सकारात्मतातर्फ उन्मुख भएर पनि आउँदैन, नकारात्मकतातिरै उन्मुख भएको देखिन्छ। यति जटिलता केले सिर्जना गरिरहेको छ भन्ने कुरा पनि सोचनीय लाग्छ।
यसमा गहिरिँदै जाँदा लाग्छ कि सरकारका अर्थात् सत्तामा भएकाको विरोध गर्ने कुरा हामीले प्रथाका रूपमा ग्रहण गरेका छौँ। उदाहरणका लागि कानुनी क्षेत्रको कुरा गर्दा कानुन निर्माणको एउटा मुख्य स्रोत प्रथालाई मानिन्छ। जसरी प्रथा कानुन बन्नका लागि कुनै कुरा तर्कसंगत हुन्छ, कुनै कुरा प्रयोग गरिन्छ, त्यसलाई दोहो-याउँदै गरिन्छ अनि निरन्तर प्रयोगद्वारा प्रथालाई कानुनको एउटा स्रोतका रूपमा लिइन्छ र अन्त्यमा त्यो कानुन बन्छ। त्यसरी नै यहाँ विरोध एउटा प्रथा बन्ने तरखरमा छ। मात्र फरक के छ भने कानुन बन्ने प्रथा तर्कमा आधारित हुन्छ तर हाम्रो सरकार विरोधी हुने प्रथा तर्कमा नभई मानसिकतामा आधारित हुन पुगेको छ। सरकार पक्ष वा सत्ता पक्षसँग जनता नकारात्मक हुन उल्लिखित घटनाले मद्दत गरे :
२००७ साल : सत्तामा भएका राणा राम्रा थिएनन्। त्यसैले सत्तामा बस्नेले असल काम गर्दैनन् भन्ने मानसिकता जनतामा प-यो। राजा भए पनि राज्य सञ्चालन भने राणाले गरेका थिए। त्यसैले राणाहरूको १०४ वर्ष लामो निरङ्कुशताविरुद्ध जनता लडे। किनकि जनतालाई उनीहरूविरुद्ध लड्नुपर्छ भनियो। फलस्वरूप २००७ फागुन ७ मा राणा शासन अन्त्य भएर प्रजातन्त्र आयो।
२०४६ साल : जनताले निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध लडी बहुदलीय व्यवस्था ल्याए। राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्था ल्याएका थिए। संयुक्त वाम मोर्चा र नेपाली कांगे्रसले मिलेर आन्दोलन गरे। यसमा पनि जनता लडे सरकारसँग। जनतालाई यसले पनि अर्को उदाहरण भयो सरकार अथवा जो सत्तामा हुन्छ ऊ जहिले पनि नकारात्मक हुन्छ भन्ने।
२०६२/६३ साल : जनता राजाविरुद्ध लडे र नेपालको २३७ वर्ष पुरानो राजतन्त्र ढलेर लोकतान्त्रिक गणतन्त्र स्थापना गरे। यसले पनि सत्ताप्रति नकारात्मक हुनुपर्छ भन्ने बनायो सबैलाई।
यसरी राजनीतिक दलले अथवा सरकारमा नभएकाले जनतालाई सरकार अथवा सत्ताविरुद्ध लाग्नुपर्छ भन्ने सिकाइरहे। अहिले आएर सरकारले जनताको मानसिकता तुरुन्तै परिवर्तन हुनुप¥यो भन्दा कसरी सजिलै परिवर्तन होला र ? राम्रा काम गर्दै जानुपर्छ। जनताको अधिकार सुनिश्चित गर्दै विधिको शासन, लोकतन्त्रको मूल्य र मान्यताअनुसार कार्य गर्दै गएमा समय लाग्छ तर मानसिकता अवश्य परिवर्तन हुन्छ।
देशमा गणतन्त्र आएको छ। स्थिर सरकार छ। अहिलेको सरकार वा पछि आउने सरकारप्रति जनताको सोच सकारात्मक हुँदै जानेछ तर त्यसका लागि सरकारले अब एकदम सोचेर, विचार पु-याएर, जनताको हितमा कार्य गर्नुपर्छ। अनिमात्र सरकारका राम्रा कामलाई जनताले सकारात्मकरूपमा लिन्छन्। जनताले विरोधमात्र गरे भन्नुभन्दा पनि किन विरोध गरिरहेका छन् भनेर बुझ्नपट्टि लाग्नु बुद्धिमानी ठहर्छ। समयले जनमनको मनोविज्ञान बुझेर चल्ने सरकार माग गरिरहेको छ, विरोध गरे भनेर रिसाउने सरकारको होइन।
उपप्रा.– काठमाडौँ स्कुल अफ ल
प्रकाशित: ३ माघ २०७६ ०३:४९ शुक्रबार