१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

लामो समयदेखि निमित्तको भरमा विश्वविद्यालय

निमित्त उपकुलपतिको भरमा सञ्चालन भइरहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय। तस्बिर : नागरिक

काठमाडौं – ६ वटा विश्विद्यालयमा उपकुलपति रिक्त भएको ६ महिना लाग्यो। लामो समयसम्म पनि सरकारले अझै पूर्णकालिन उपकुलपति नियुक्ति गर्न सकेको छैन। भदौ ६ गतेदेखि मुुलुकको सात विश्वविद्यालयमा उपकुलपतिको चार बर्से अवधि सकिएपछि सरकारले तीन महिने निमित्त उपुकलपतिको भरमा विश्वविद्यालय सञ्चालन गरेको थियो।

सरकारले त्रिभुवन विश्वविद्यालय बाहेक बाँकी ६ विश्वविद्यालयलाई तीन महिने उपकुलपति नियुक्ति गरेको पनि गत मंसिर ७ गतेदेखि म्याद सकिएको छ। गत पुस १८ गतेदेखि पुनः अर्को व्यवस्था नभएसम्मका लागि विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः निमित्त उपकुलपति नियुक्ति गरेर विश्वविद्यालय जस्तो प्राज्ञिक थालोलाई बन्धक बाएको प्राधयापकले आपत्ति जनाएका छन्।

विश्वविद्यालय कहिलेसम्म निमित्तको भरमा ? यो प्रश्न सिर्जना भएको उनीहरूको भनाइ छ। नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालयमा अर्को व्यवस्था नभएसम्मकालागि दोस्रो पटक निमित्त उपकुलपति नियुक्ति गरिएको छ। उता पोखरा विश्वविद्यालयमा अझै पनि उपकुलपति नियुक्त भएका छैनन्। सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ९ महिनादेखि बन्द रहेको छ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व रेक्टर प्राध्यापक रमेश ढकाललको तीन महिने निमित्त उपकुलपतिको कार्यकाल मंसिर ६ गते सकिएपछि उनी घरमा बसेका थिए। विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री ओलीले उनैलाई पुस १८ गते पुनः अर्को व्यवस्था नभएसम्मकोलागि निमित्त उपकुलपति नियुक्ति दिएका छन्। नियुक्तिपत्र बुझे लगत्तै विश्वविद्यालयबाट अवकास पाएका ढकाल पुस १९ गतेदेखिनै निमित्त उपकुलपतिको कार्यभार सम्हालेका छन्। विश्वविद्यालयमा गर्नुपर्ने नीतिगत निर्णय भने अझैँ गर्ननसक्दा विश्वविद्यालय बन्धक बनेको उनी बताउँछन्।

‘मन्त्रालयले उपकुलपतिको आवेदन माग गर्दा मैले पनि दिएको छु। आवेदन दिएको दुई महिनाभन्दा बढी भयो तर सरकारले पूर्णकालिन उपकुलपति नियुक्त गर्न सकेको छैन,’ निमित्त उपकुलपति ढकालले भने,‘विश्वविद्यालयको महत्वपूर्ण निर्णयहरू गर्न सकिएको छैन। विश्विद्यालयहरू निरन्तर आफ्नो काम गर्न असजह अवस्थामा छन्।’

पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपति एवं विश्वविद्यालयको व्यवस्थापन संकायका डिन बिजु थपलियालेसमेत दोस्रो पटक अर्को व्यवस्था नभएसम्मका लागि निमित्त उपकुलपतिको पदभार सम्हालेका छन्। उनले पदभार सम्हाले पनि विश्वविद्यालयले स्वतन्त्र रूपमा काम नपाएको बताइएको छ।

‘मन्त्रालयले आवेदन मागेर पनि के कारणले उपकुलपति नियुक्ति रोकेको छ थाह भएन,’ निमित्त उपकुलपति थपलियाले भने ‘प्रागिक थलोलाईसमेत विभिन्न स्वार्थकै कारण बन्धक बनाइएकोमा दुःख लागेको छ।’ सरकारले तत्तकाल पूर्णकालिन उपकुलपति विश्वविद्यालयमा नियुक्त गरेर विभिन्न समस्यामा रहेका विश्वविद्यालयलाई सहज बनाउनुपर्ने उनको माग छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निमित्त उपकुलपति मस्तबहादुर गरनजाको तीन महिने कार्यकाल सकिए पनि यो विश्वविद्यालयमा अर्को उपकुलपति नियुक्ति भएको छैन।

विश्वविद्यालयको योजना महाशाखाका निर्देशक ह्रिणय गौतमले विश्वविद्यालयले तय गर्नुपर्ने प्राज्ञिक तथा प्रशाशनिक योजनाहरू रोकिएको गुनासो गरे। नियमित पठनपाठन तथा परीक्षा बाहेक विश्वविद्यालयमा कुनै नयाँ काम नभएको उनको भनाइ छ। ‘हाम्रो विश्वविद्यालयमा विषय थप, भवन निर्माण, प्राविधिक शिक्षाको तयारी तथा खाता निकास गर्नुपर्ने सबै काम रोकिएका छन्,’ गौतमले भने ‘नयाँ योजना विश्वविद्यालयमा ६ महिनादेखि प्रवेशस पाएको छैन।’ उपकुलपति नियुक्ति ६ महिना ढिला हुँदा विश्वविद्यालयनै ६ महिना पछिपरेको उनले बताए।

कृषि तथा वन विश्वविद्यालयमा उपकुलपति पूर्णकालिन नभएकाले नयाँ खोलिएको आंगिक कलेजमासमेत पठनपाठनमा असर पुगेको विश्वविद्यालयका प्राध्यापक इश्वरीप्रसाद कडरीयाले बताए। ‘रोल्पा र बाँकेमा कृषिको आंगिक कलेज खोलेर विश्वविद्यालयले विद्यार्थी भर्ना गरिसक्यो तर प्रिन्सिपल नियुक्ति गर्न सकेको छैन,’ उनले भने।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहालले मन्त्रालयले ६ वटै विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्नका लागि आवेदन माग गरेर सर्च कमिटीमा बुझाइसकेको बताए। ‘मन्त्रालयमा दुई सय ५० वटा आवेदन प्राप्त भएको छ। हामीले सबैको नामनामेसीसहितको योग्य उपकुलपति उमेदवारको रोस्टरनै बनाएरसमेत सर्च कमिटीलाई दिइसकेका छौं।’

प्रकाशित: ३ माघ २०७६ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App