१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डुब्न लागेको रभुँवामा मेला

खोटाङ – खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोसी किनारमा रहेको रभुँवामा बुधबार माघे संक्रान्ति मेला लागेको छ। रावाबेंसी गाउँपालिका–३ लामीडाँडामा पर्ने रभुँवामा २००७ सालभन्दा अघिदेखि लाग्दै आएको मेलालाई जिल्लाको ऐतिहासिक मेला मान्ने गरिएको छ।

माघे संक्रान्तिको दुई दिनअघिदेखि नै सुरु हुने र माघ ४÷५ गतेसम्म लाग्ने ऐतिहासिक मेला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीय थोक वस्तु बेचबिखन गर्ने माध्यम बनेको छ। माघे संक्रान्तिका अवसरमा दूधकोसीमा मकर नुहाउने र मेला भर्ने स्थानीयको भीड लाग्ने गरेको रभुँवा बजारका स्थानीय व्यवसायी बाबुराम श्रेष्ठले बताए।

‘यो मेला कहिलेदेखि सुरु भयो भन्ने थाहा छैन,’ उनले भने, ‘२००७ सालभन्दा पहिल्यैदेखि मेला लागेको बुझिन्छ।’ रभुँवामा लागे माघे संक्रान्ति मेला जिल्लामै चर्चित मेला हो। दस वर्षे सशस्त्र द्वन्द्व सुरु हुनुअघि माघे संक्रान्तिको अघिल्लो दिन र माघे संक्रान्तिको दिन मात्र मेला लाग्ने गरेकोमा २०६३/६४ देखि पुस २८ गतेदेखि माघ ५ गतेसम्म मेला लाग्न थालेको हो।

गाडीको पहुँच पुगेसँगै स्थानीय रभुँवा मेलामा पुगेकै दिन घर फर्कने गरेका छन् ‘सडक आउनुअघि मेला भर्ने मान्छे अघिल्लो दिन आउथे, यही बास बस्थे र भोलिपल्ट फर्कन्थे,’ श्रेष्ठले भने, ‘गाडी आउन थालेपछि बिहान गाडीमा मेला भर्न आउने र बेलुका घर फर्कने गरेका छन्।’

सुरुसुरुमा माघे संक्रान्तिमा मकर नुहाउन दूधकोसीमा भेला हुँदै जाँदा मेलाको सुरुआत भएको स्थानीयको अनुमान छ। माघे संक्रान्तिमा लाग्ने मेलाबाटै स्थानीय व्यवसायीले लाखौंको कारोबार गर्ने गरेका छन्। इतिहास बन्दै रभुँवा बजार खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने रशुवा बजार ६ सय ३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको ड्यामका कारण डुबानमा पर्दैछ। हाल डिपिआरको काम अन्तिम चरणमा पुगेको आयोजनाको दुई सय मिटर अग्लो बाँध हाल्दा रभुँवा बजार डुब्ने अवस्था सिर्जना भएको हो।

त्यहाँ सञ्चालनमा रहेका एक दर्जनजति होटल तथा पसल अन्यत्र सार्ने योजना बनिसकेको छ। जलविद्युत् आयोजनाका कारण रभुँवा बजारमाथि विशाल ताल निर्माण हुनेछ। अहिलेको व्यापारिक केन्द्रका रूपमा रहेको रभुँवा बजार जलाशयको पिँधमा पुगेसँगै त्यो एउटा इतिहास बन्नेछ। गाउँगाउँमा सडक पुगेपछि र पैदलयात्रा गर्ने घटेपछि रभुँवाबजारका व्यवसायीले आम्दानीका लागि माघे संक्रान्ति र एकादशी मेला नै पर्खनुपर्ने अवस्था छ।

प्रकाशित: २ माघ २०७६ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App