१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाका उम्मेदवारलाई भोट माग्दै नेपाल सर्लाहीमा

बुधबार सर्लाहीको हरिवनमा आयोजित जेबी टुहुरेको एकल सांगीतिक कार्यक्रममा बोल्दै नेता माधव नेपाल। तस्बिर: टंक/नागरिक

सर्लाही - सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी  (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा सूर्य र छाता चुनाव चिह्नबाट उठेका उम्मेदवारलाई भोट हाल्न नबिर्सन आग्रह गरेका छन्। बुधबार सर्लाहीको हरिवन नगरपालिकाअन्तर्गत घुर्कौलीस्थित द्वन्द्वपीडित बालगृहमा जेबी टुहुरे फाउण्डेशनले आयोजना गरेको जेबी टुहुरेको निरन्तरता भाग–४ एकल सांगीतिक प्रस्तुतीको उद्घाटन गर्दै नेकपा नेता नेपालले त्यस्तो आग्रह गरेका हुन्।

‘माघ ९ मा हुने राष्ट्रियसभा निर्वाचनअन्तर्गत प्रदेश २ मा नेकपा र राजपाबीच गठबन्धन भएको छ,’ नेता नेपालले भने, ‘त्यसैले म यो कार्यक्रममा उपस्थित प्रदेश सांसद, नगरपालिकाका मेयर÷उपमेयर एवं गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षलाई नेकपा–राजपा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न निर्देशन दिन्छु।’

उनले नेकपाका दुईजना तथा राजपाका दुईजना उम्मेदवारको नाम नै लिएर मतदान गर्न आग्रह गरे। ‘यताउता चाहिँ नगर्नोस् है, जाडो छ, सूर्य हेर्न नबिर्सनुहोला, पहिला पारिलो सूर्य ताप्नोस् अनि गर्मी हुनेबित्तिकै छाता ओड्न नबिर्सनोस्,’ नेता नेपालले भने, ‘म राजपाबाट निर्वाचित प्रदेश सांसदसहितका सबै मतदाता साथीमा पनि यही आग्रह गर्दछु।’

कार्यक्रममा बोल्दै नेता नेपालले जेबी टुहुरे नेपालको राजनीतक परिवर्तनमा युगिन गायक रहेको उल्लेख गरे। ‘पञ्चायती कालरात्रिविरुद्ध लड्ने जोश जाँगर बोकेर राजनीतक सिद्धान्तका आधारमा हिँडेका योद्धालाई जेबी टुहुरेलगायत जनवादी गीत संगितकर्मीले ठूलो ऊर्जा दिएको थियो,’ नेता नेपालले छेउमै रहेका टुहुरेप्रति नजर लगाउँदै थपे, ‘राजनीतिक दलले सुरु गरेको परिवर्तनको अभिभारा पूरा गराउन उहाँहरू जस्ता जनवादी संगीतकर्मीको ठूलो योगदान रहेको थियो।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन गर्न अझै बाँकी रहेको उल्लेख गरे। ‘राजनीतिक परिवर्तन त भयो, अब आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन पनि गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ,’ नेपालले थपे, ‘जनतालाई शिक्षा र स्वास्थ्यको सर्वसुलभ पहुँच, बेरोजगारी अन्त्य अनि समान अधिकार स्थापित गराउनुपर्ने जस्ता मुख्य काम बाँकी नै छ।’

प्रकाशित: २ माघ २०७६ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App