१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रभुँवामा ऐतिहासिक मेला सुरु

रभुँवामा लागेको माघे सङ्क्रान्ति मेला । तस्बिर : नागरिक

खोटाङ– खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दुधकोसी किनारमा रहेको रभुँवामा माघे सङ्क्रान्ति मेला लागेको छ। माघे सङ्क्रान्तिको अवसरमा खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा पर्ने रभुँवामा बुधबार भव्य माघे सङ्क्रान्ति मेला लागेको हो। रभुँवामा २००७ साल भन्दा अघिदेखि लाग्दै आएको मेलालाई जिल्लामा ऐतिहासिक मेला मान्ने गरिएको छ।

माघे सङ्क्रान्तिको दुई दिन अघिदेखि नै सुरु हुने र माघ ४/५ गतेसम्म लाग्ने ऐतिहासिक मेला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीय थोकवस्तुको बिनिमय गर्ने माध्यम बनेको छ। माघे सङ्क्रान्तिको अवसरमा दुधकोसीमा मकर नुहाउने र मेला भर्ने स्थानीयको भीड लाग्ने गरेको रभुँवा बजारका स्थानीय व्यवसायी बाबुराम श्रेष्ठले बताए। ‘यो मेला कहिलेदेखि सुरु भयो भन्ने थाहा छैन। २००७ साल भन्दा पहिल्यैदेखि मेला लागेको बुझिन्छ,’ श्रेष्ठले भने, ‘दुधकोसीमा मकर नुहाउने र मेला भर्ने र चाहेको सामान किन्नका लागि रभुँवा मेला प्रचलित छ।’ रभुँवामा लाग्ने माघे संक्रान्ती मेला जिल्लामै चर्चित मेला हो।

जनयुद्ध सुरु हुनुअघि माघे सङ्क्रान्तिको अघिल्लो दिन र माघे सङ्क्रान्तिको दिन मात्र मेला लाग्ने गरेकोमा २०६३/०६४ देखि पुस २८ गतेदेखि माघ ५ गतेसम्म मेला लाग्न थालेको हो। गाडीको पहुँच पुगेसँगै स्थानीय रभुँवा मेलामा पुगेकै दिन घर फर्कने गरेका छन्। ‘सडक आउन अगाडि मेला भर्ने मान्छे यहीँ बास बस्थे र मेला भरेर घर फर्कन्थे,’ श्रेष्ठले भने, ‘गाडी आउन थालेपछि बिहान गाडीमा मेला भर्न आउने र बेलुका घर फर्कने गरेका छन्।’

सुरुमा माघे सङ्क्रान्तिमा मकर नुहाउन दुधकोसीमा भेला हुँदै जाँदा मेलाको सुरुवात भएको स्थानीयको अनुमान छ। मेला भर्न खोटाङ, ओखलढुंगा, सोलुखुम्बु लगायतका स्थानीय रभुँवा पुग्ने गरेका छन्। माघे सङ्क्रान्तिमा लाग्ने मेलाबाटै स्थानीय व्यवसायीले लाखौंको कारोबार गर्ने गरेका छन्।

इतिहास बन्दै रभुँवा बजार
खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने रभुँवा बजार ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको ड्यामका कारण डुबानमा पर्दैछ। हाल डिपिआरको काम अन्तिम चरणमा पुगेको आयोजनाको दुई सयमिटर अग्लो बाँध हाल्दा रभुँवा बजार डुब्ने छ। हाल एक दर्जनको हाराहारीमा सञ्चालमना रहेका स्थायी होटल तथा पसल आयोजनाका कारण अन्यत्र सार्ने योजना बनिसकेको छ। जलविद्युत आयोजनाका कारण रभुँवा बजारमाथि बिशाल ताल निर्माण हुनेछ। अहिलेको व्यापारिक केन्द्रकारुपमा रहेको रभुँवा बजार जलाशयको पिँधमा रहने छ र रभुवाँ बजार इतिहास बन्ने छ।

सडकको पहुँच विस्तार हुनअघि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीय पैदल हिँडेर गाउँ–शहर गर्ने बाटोमा रहेकाले रभुँवा बजार व्यस्त थियो। तर, गाउँ–गाउँमा सडक पुगेपछि र पैदल यात्रा गर्ने घटेपछि रभुँवा बजारका व्यवसायीले आम्दानीका लागि माघे सङ्क्रान्ति र एकादशी मेला पर्खनुपर्ने अवस्था छ।

 

प्रकाशित: १ माघ २०७६ ०७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App