१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

गान्धीवादी नेता गोपालदास

हरि अधिकारी

महात्मा गान्धीको आश्रममा तालिम प्राप्त गर्ने अवसर पाएका नेपालीमध्ये सम्भवतः एकमात्र जीवित, वयोवृद्ध सामाजिक अगुवा गोपालदास बादे श्रेष्ठसँग भेट्ने धेरै दिनदेखिको चाहना गत साता पूरा भयो। बनेपास्थित उनको निवास पुग्दा ९१ वर्षका ती सामाजिक अभियन्ता शारीरिकरूपले केही कमजोरजस्तो देखिए पनि बोलीचाली र स्मरण शक्तिका हिसाबले बिल्कुलै तन्दुरुस्त थिए। धेरै हिँडडुल र सामाजिक काममा सक्रिय हुन भने छोडेका रहेछन् उनले। प्रातः भ्रमण र पाँच–सात दिनमा एकपटक नजिक पर्ने मठ–मन्दिरतिर घुमघाम गर्ने, दैनिक अखबार पढ्ने र रेडियोमा समाचार सुन्ने पुरानो आदतलाई भने छोडेका रहेनछन्।

उनको स्वस्थ–सन्तुष्ट जीवनचर्याका बारेमा जिज्ञाशा राख्दै मैले सोधेँ– 'गोपाल दाइ, तपाईं स्वस्थ र सुखी देखिनुहुन्छ। यो पाको उमेरमा पनि बडो फुर्तिलो हुनुहुन्छ। यो सब कसरी सम्भव भएको होला?'

मेरा दाइ राजदाश नेपाली कांग्रेसका नेता थिए। उनले कलकत्तामा भएको नेपाली कांग्रेसको अधिवेशनमा भाग लिएका थिए र त्यसै समयदेखि उनको सो पार्टीका ठूला नेताहरूसँग सम्पर्क थियो। उनका कारणले म पनि कांग्रेसमा आवद्ध भएँ। बीपी र कृष्णप्रसाद भट्टराई छद्म भेषमा सिन्धुलीको बाटो काठमाडौँ आउँदा एक रात हाम्रै घरमा बसेका थिए।

'यो सबै गान्धीजीको अनुकम्पा हो। अन्तिमपटक वर्धा आश्रमबाट बिदा भएर स्वदेश फर्कन लाग्दा मैले महात्मा गान्धीसँग सोधेको थिएँ– 'जीवनलाई सुख–सन्तोषका साथ बिताउन के गर्नुपर्ला बापू?'

मेरो प्रश्न सुनेपछि केही गम्भीर भएर उनले भनेका थिए– 'म बताउन त बताउँछु जिन्दगीलाई आनन्दपूर्वक बिताउने उपाय। तर, के तिमीले मैले बताएको उपाय आफ्नो जीवनमा लागु गर्न सकौला?'

'प्रयास गरुँला नि बापू' मैले भनेेको थिएँ।

'त्यसो भए सुन, मानिसले आफ्नो जीवनलाई आनन्दपूर्वक बिताउनका लागि थोरैमा सन्तोष गर्न जान्नुपर्छ र आवश्यक परेको बेलामा ठूलोभन्दा ठूलो कुरा पनि त्याग गर्न सक्नुपर्छ। यसो गर्न सकौला तिमीले? यी दुई कुराको पालना गर्न सक्यौ भने तिमी कहिल्यै पनि दुःखी हुने छैनौ।'

'आजभन्दा झन्डै ७ दशकपहिले यस युगका महानतम् व्यक्तित्व मोहनदास करमचन्द गान्धीले दिनुभएको त्यो अर्तीलाई मैले आफ्नो जीवनमा लागु गर्ने निरन्तर प्रयास गर्दै आएको छु। मलाई लाग्छ, थोरैमा सन्तोष गर्न सकेको र आवश्यक परेको बेलामा त्याग गर्न जानेकोले नै मैले अहिलेसम्म दुःखी, हताश र कुण्ठित भएर एकदिन पनि बिताउनुपरेको छैन। यो उमेरमा आइपुगेको मेरा लागि अब त्यो अर्तीबाट विमुख हुनुपर्ने अवस्था पनि छैन। मलाई पूर्ण सन्तुष्टि छ, मैले जीवनमा त्यो महामानवको सान्निध्य पाएँ र वहाँले सिकाउनु भएका राम्रा कुराहरूबाट आफ्नो जीवनको परिष्कार गर्ने मौका पाएँ।”

'तपाईं गान्धीको सम्पर्कमा चाहिँ कसरी पुग्नुभएको हो?'

'मलाई नेपालका गान्धी भनेर चिनिने तुलसी मेहर श्रेष्ठले लिएर गएका हुन्। मेहरको गान्धीजीसँग निकट सहयोगीको मित्रवत् सम्बन्ध थियो। यता उनी मेरा दाजु राजदाश श्रेष्ठका पनि मिल्ने साथी थिए। म १७–१८ वर्षको थिएँ होला तुलसी मेहरले मलाई पहिलो पटक भारत गुजरातस्थित गान्धी आश्रममा लगेका थिए। त्यसपछि म पटकपटक त्यहाँ पुगेको छु। वर्धा र सावरमति आश्रमबाहेक भारतका अरु ठाउँमा भएका गान्धी आश्रमहरूमा पुग्ने सौभाग्य पनि मैले पाएको छु।'

'त्यहाँ कस्तो किसिमको शिक्षा वा तालिम पाउनु भयो?'

'गान्धीजीको शिक्षा–पद्धति नै आदर्श जीवन–शैली निर्माण गर्नेतर्फ उन्मुख थियो। आश्रममा गृहस्थ जीवनलाई राम्रोसँग चलाउन आवश्यक पर्ने सबै विषय– स्वावलम्बनका उपाय, सामाजिक दायित्वका विषयलगायत असल मानवीय सम्बन्धको विकास कसरी गर्न सकिन्छ भन्ने जस्ता समाजोपयोगी कुराहरू सिकाइन्थ्यो। चर्खा चलाउनु र कपडा बुन्नु त अनिवार्य नै थियो त्यहाँ। ६ महिनाको कोर्स पूरा गरेको थिएँ मैले। गान्धी आश्रममा मेरो मन रमाउनुमा एउटा अर्को पनि कारण थियो, त्यो हो त्यहाँको शाकाहारी परिवेश। हाम्रो परिवार पनि पुस्तौँदेखि पूर्णतः शाकाहारी रहँदै आएको छ।'

'तपाईं गान्धी आश्रममा पुगेको ताका अरू नेपाली पनि थिए त्यहाँ?'

'तुलसी मेहरबाहेक अरु कुनै नेपालीलाई देखिनँ त्यतिबेला त्यहाँ। गान्धीजीको देहान्त भएको केही वर्षपछि भने सावरमति र वर्धा आश्रममा नेपालीलाई तालिम दिलाउन सुरू गरिएको थियो जस्तो लाग्छ। अहिले त त्यो पनि बन्द भइसकेको छ।'

'त्यसो भए गान्धीजीको जीवनकालमै गान्धी आश्रममा तालिम प्राप्त गर्ने अवसर पाउने नेपालीमध्ये अहिले जीवित रहेको तपाईं एकजना मात्र हुनुपर्छ, होइन?'

'सायद हो। महात्मा गान्धीको स्नेह पाउने जुन सौभाग्य मैले प्राप्त गरेँ, त्यसलाई मैले दैवीकृपा नै ठानेको छु। गान्धी आश्रममा बस्दा मैले बापूको असीम अनुराग त प्राप्त गरेँ नै, साथै त्यतिबेलाको हिन्दुस्थानका केही विख्यात व्यक्तित्वसँग साक्षात्कार गर्ने अवसर पनि पाएँ। महामना मदनमोहन मालवीय, सर्वोदय–भूदान आन्दोलनका नेता विनोभा भावे र काका कालेलकरजस्ता दिग्गजहरूसँगको बसाउठीलाई म अहिले पनि सुखद स्मृतिका रूपमा सम्झन्छु। धेरै समय पहिलेको कुरा भएकाले अरू धेरै नेताको त नाम पनि बिर्सिसकेँ मैले। गान्धीजी भारतका सबैभन्दा ठूला व्यक्तित्व र एकप्रकारले सम्पूर्ण भारतीय जनताका अभिभावकजस्तै भएकाले उनको दर्शनमात्र गर्नका लागि पनि धेरै मानिस आउँथे आश्रममा। कतिपयलाई त सोधपुछ गरेर तुलसी मेहर र मैले नै बापूसँग भेट गराइदिन्थ्यौँ।'

'गान्धीजी मानिसहरूसँग धेरै समय अल्मलिँदैनथे। संक्षेपमा मानिसका कुरा सुन्ने र प्रष्ट शब्दमा आफ्ना कुराहरू राखेर आगन्तुकलाई बिदा गरिदिने छरितो शैली थियो उनको। उनी एकएक पाईको हिसाब–किताब मात्र राख्दैनथे, एक–एक मिनेटको हरहिसाब पनि दुरुस्त राखेर काम गर्थे। गान्धीजीको प्रसंग उठ्दा नेपालको राणाविरोधी आन्दोलनमा उनले पुर्‍याएको योगदानको पनि सम्झना हुन्छ मलाई। बीपी कोइरालाले गान्धीलाई भेटेर नेपालको स्वतन्त्रता आन्दोलनलाई सघाउन अनुरोध गरेपछि उनले आफ्ना निकट सहयोगी तुलसी मेहरलाई सोही उद्देश्यमा योगदान गर्नु भनी नेपाल पठाइदिएका थिए। तुलसी मेहरले राणाविरोधी आन्दोलनमा ठूलो योगदान नगरे पनि नेपालमा गान्धीवादको प्रचारको जग भने बसालेका थिए। उनले स्थापना गरेको चर्खा प्रचार महागुठी अहिले पनि सक्रिय नै छ जस्तो लाग्छ।'

'गान्धी आश्रमबाट अन्तिम पटक नेपाल फर्किएपछि तपाईंले आफ्नो जीवनलाई कसरी अगाडि बढाउनु भयो?'

'मेरा दाइ राजदाश नेपाली कांग्रेसका नेता थिए। उनले कलकत्तामा भएको नेपाली कांग्रेसको अधिवेशनमा भाग लिएका थिए र त्यसै समयदेखि उनको सो पार्टीका ठूला नेताहरूसँग सम्पर्क थियो। उनका कारणले म पनि कांग्रेसमा आवद्ध भएँ। बीपी र कृष्णप्रसाद भट्टराई छद्म भेषमा सिन्धुलीको बाटो काठमाडौँ आउँदा एक रात हाम्रै घरमा बसेका थिए। उनीहरूलाई सुरक्षितरूपमा काठमाडौँसम्म पुर्‍याउन दाइले सघाउनु भएको थियो। दाइको एउटा विमान दुर्घटनामा परेर कलिलै उमेरमा निधन भयो र प्रजातान्त्रिक आन्दोलनसँगको हाम्रो पारिवारिक सम्बन्धलाई अगाडि बढाउने दायित्व मेरो काँधमा आइपर्‍यो। अहिले पार्टी राजनीतिमा सक्रिय छैन तर पनि प्रजातन्त्र र नेपाली कांग्रेससँग म मानसिक रूपमा आवद्ध छु र अन्तिम अवस्थासम्म रहनेछु।'

'मैले गान्धी आश्रममा बसेर पाएको दीक्षाका कारणले नै हुनुपर्छ, मेरो पहिलो रोजाइको व्यसन भने समाजसेवा भएको छ। राजनीतिलाई मैले सदैव दोस्रो प्राथमिकतामा राखेको छु। कांग्रेसका नेता मेरा दाइ राजदाश पनि समाजसेवाको क्षेत्रका अग्रणी व्यक्तित्व थिए। वास्तवमा मेरा पिताजीले राम्रो आर्थिक बन्दोबस्त मिलाइदिएको र आवश्यकताभन्दा बढी सञ्चय गर्नुहुन्न भन्ने गान्धीजीको अर्तीलाई मान्ने व्यक्ति भएकाले मैले बन्द–व्यापार वा उद्योगधन्दा गरेर सम्पत्ति बढाउनेतर्फ कहिल्यै पनि रूचि देखाइनँ। आवश्यकता परेर सहयोगका लागि आउने जोकसैलाई पनि खाली हात नपठाउने निश्चय मनमनै गरेँ र त्यो दृढतालाई अहिलेसम्म पनि सकेसम्म पालना गर्दै आइरहेको छु।'

'समाजसेवाको क्षेत्रमा तपाईंले गरेका उल्लेख्य कामहरूका बारेमा केही भन्नुहोस् न।'

'समाजसेवा यस्तो क्षेत्र हो जहाँ एकजनाले गरेर केही पनि हुँदैन, समाजलाई नै परिचालन नगरी केही पनि गर्न सकिँदैन। त्यसैले म यो–यो काम मैले गरेँ भनेर श्रेय लिन चाहन्न। मेरो स्वभाव पनि यसरी श्रेय लिन चाहने खालको छैन। तर, बनेपाको आजाद हाइस्कुल र शिक्षा सदनको स्थापना, सेभेन्थ डे एडभेन्टिस्ट चर्चद्वारा स्थापित शीर मेमोरियल अस्पतालको सञ्चालनजस्ता केही काम पूरा गर्न मैले समन्वयकर्ताको भूमिका निर्वाह गरेकोलाई भने तपाईंले समाज सेवाको क्षेत्रमा मेरो थोरै योगदानमा गणना गर्न सक्नुहुन्छ। आजाद हाइस्कुल स्थापना गर्ने बेलामा त्यसलाई आवश्यक पर्ने जग्गा आफै किनेर दिएको हुँ। शिक्षा सदनको पनि कुरा त्यही नै हो।'

'शीर मेमोरियल अस्पताल खोल्न भनी आएका दुई जना मिसनरी डाक्टर हाम्रो परिवारको सम्पर्कमा आए। अस्पताल खोल्नेजस्तो समाजोपयोगी काम हुनुपर्छ भन्ने ठानेर हामीले त्यसमा सघाउने अठोट गर्‍यौँ। त्यति नै बेला धुलिखेलका बासिन्दाहरूले त्यो अस्पताल हामीकहाँ लानुपर्छ भनेर बखेडा झिके। तपाईंलाई थाहा हुनुपर्छ धुलिखेले र बनेपाबासीबीच एक किसिमको प्रतिद्वन्द्विता धेरै समय पहिलेदेखि चल्दै आएको छ। उनीहरूले अस्पताल धुलिखेलमा लानुपर्छ भन्न थालेपछि त्यसमा मैले सहजकर्ताको भूमिका निर्वाह गर्नु आवश्यक भयो। धुलिखेलेहरूका लागि पनि बनेपाका अरू अगुवाहरूको तुलनामा म बढी ग्राह्य थिएँ। त्यसैले मैले बीचको बाटो निकाल्दै दुवै नगरबासीहरूसँग भनेँ– अस्पताल खोल्न आएका डाक्टरहरूले नै जुन ठाउँलाई उपयुक्त ठहर्‍याउँछन्, त्यही ठाउँमा अस्पताल खोलिदिने। मेरो यो कुराको विरोध भएन। त्यसपछि मिसनरी डाक्टरहरूले दुवै सहरवरपर घुमेर हेरेर अहिले अस्पताल चलिरहेको ठाउँ बनेपाको घोगेचौरमै अस्पताल खोल्न उपयुक्त हुन्छ भन्ने निर्णय सुनाए। धुलिखेलेहरूले पनि डाक्टरहरूको कुरा स्वीकार गरे र बनेपामा मिसन अस्पतालको स्थापना भयो।'

'अस्पतालका लागि रोजिएको ठाउँको जग्गा किन्नुपर्ने भयो। त्यसमा पनि हाम्रो परिवारले अरुले भन्दा केही बढी रकम योगदान गर्‍यो र बाँकी पैसा बनेपालीहरूबाट उठाएर जग्गा किन्ने काम भयो। सुरूमा त्यो जग्गा मेरै नाममा लिखत पास गरिएको थियो। पछि बनेपाको चारवटा वडाका नाममा नामसारी गरियो।'

'अहिलेको नेपाली कांग्रेस पार्टीलाई कसरी हेर्नुहुन्छ?'

'नेपाली कांग्रेस यसका संस्थापक नेता बीपी कोइरालाले गरेको मार्गनिर्देशन र स्थापना गर्न खोजेको आदर्शबाट विमुख भइरहेको जस्तो लाग्छ मलाई अहिले। कांग्रेसको मात्रै कुरा किन, हाम्रो सम्पूर्ण समाजकै नैतिक धरातल निकै नै कमजोर भएको अवस्था छ अहिले। २०४६ सालमा पुनर्स्थापित प्रजातन्त्रको संस्थागत विकास हुनु त कता हो कता, अहिले स्थापना गर्न खोजिएको संघीय गणतन्त्रात्मक लोकतन्त्रकै भविष्य डावाँडोल भएको देख्छु म। ६ सय १ जनाको भीडले आठ वर्ष लगाएर बनाएको नयाँ नेपालको नयाँ संविधान क्रियान्वयनमा नै नआउने जोखिम बढ्दो छ। देशको मुख्य प्रजातान्त्रिक शक्तिका रूपमा नेपाली कांग्रेस प्रजातन्त्रलाई संस्थागत गर्न नसकेको दोषबाट पन्छिन मिल्दैन। कांग्रेसको वर्तमान नेतृत्वले यो दुखद अवस्थालाई कसरी हेरिरहेको छ, मलाई त्यति धेरै थाहा छैन।'

'आजको समयमा गान्धीवादको प्रासंगिकताका बारेमा केही भनिदिनुहुन्छ कि?'

'गान्धीदर्शन एउटा आदर्शमा आधारित दर्शन थियो। गान्धीले समाजको पिँधमा रहेका मानिसलाई आत्मनिर्भर बनाउँदै एउटा समतामूलक समाजको निर्माण गर्ने सपना देखेका थिए। तर, गान्धीको अवसानपछि भारतमै पनि उनको दर्शनलाई चटक्कै बिर्सिइयो भने अन्यत्र त्यसलाई प्रासंगिक बनाएर लैजाने प्रयत्न भएन भनेर गुनासो गर्नुको कुनै अर्थ म देख्दिनँ। हो, व्यक्तिगत रूपमा केही मानिसले आफ्नै जीवन र परिवारमा भए पनि गान्धीको आदर्शलाई बचाएर राख्ने चेष्टा गरिरहेका होलान्।'

प्रकाशित: ९ पुस २०७३ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App