४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘डेंगी संक्रमणबाट यमनमा ७८ बालबालिकाको मृत्यु’

दुबई (एजेन्सी) – द्वन्द्वग्रस्त अरब राष्ट्र यमनमा डेंगी संक्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भएको बालबालिकाको अधिकारका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’ले मंगलबार बताएको छ।

‘सेभ द चिल्ड्रेन’ले यमनमा डेंगीको महामारी देखिएको भन्दै यसप्रति समयमै सचेत बन्न यमन सरकार र अन्तर्राष्ट्रिय अधिकारवादी समूहको ध्यानाकर्षणसमेत गराएको छ।

‘सेभ द चिल्ड्रेन’द्वारा मंगलबार जारी एक विज्ञप्तिमा भनिएको छ, ‘यमनमा १६ वर्षभन्दा कम उमेरका कम्तीमा ७८ जना बालबालिकाले डेंगीको माहामारीका कारण ज्यान गुमाएका छन् भने कम्तीमा ५२ हजार व्यक्तिमा डेंगीको संक्रमण भएको आशंकामा अस्पताल तथा स्वास्थ्य संस्थामा सेवाका लागि पुगेका छन्।’ ‘यसबाट यमनमा माहामारी सुरु भएको मान्न सकिन्छ,’ उसले बताएको छ। ‘सेभ द चिल्ड्रेन’का अनुसार सन् २०१९ मा यमनमा डेंगीसम्बन्धी संक्रमणका कारण १ सय ९२ जनाको मृत्यु भएको थियो। यसमध्ये अधिकांश व्यक्ति यमनी बन्दरगाह सहर होडैडा र एडेनका थिए।

‘सेभ द चिल्ड्रेन’का यमनस्थित संयोजक मारियम अल्दोगानीले भने, ‘सन् २०१९ मा यमनको होडैडामा डेंगीका कारण मृत्यु हुनेको मृत्युदर दोस्रो धेरै अर्थात् ६२ व्यक्तिले ज्यान गुमाएका थिए। यस प्रकारको समस्या यहाँ पहिले कहिल्यै देखिएको थिएन।’

अल्दोगानी आफैं पनि सन् २०१९ मा डेंगीको संक्रमणपछि निको भएका थिए। उनले भने, ‘मसहित हाम्रो संस्थाका करिब ४० भन्दा बढी कर्मचारी र उनीहरूका परिवारका सदस्य डेंगीको कारण विरामी परेका थियौ तर उपचारपछि निको भएका छौं।’

रेडक्रसले सन् २०१९ मा दिएको तथ्याङ्कअनुसार जमेको पानीबाट फैलिने वा लामखुट्टेको टोकाइ बाट सर्ने डेंगी र सम्बन्धित रोगको माहामारीबाट यमन ग्रसित छ।

साउदी नेतृत्वको सैनिक गठबन्धनले इरान पक्षधर मानिने यमनी सिया विद्रोहीविरूद्ध सन् २०१५ मा सुरु गरेको सैन्य हस्तक्षेपका कारण दशौं हजार व्यक्तिको मृत्यु भएको छ भने मृत्यु हुनेमा अधिकांश सर्वसाधारण नागरिक रहेका छन्। संयुक्त राष्ट्रसंघले यमन द्वन्द्वका कारण विश्वमा सर्वाधिक नराम्रो मानवीय संकट रहेको जनाउँदै आएको छ।

प्रकाशित: १ माघ २०७६ ०४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App