१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

चेतना अभावले ९५ प्रतिशतमा गिँजारोग

काठमाडौं – नेपालमा कुल जनसंख्याको ९५ प्रतिशत मानिसमा गिँजासम्बन्धी कुनै न कुनै रोग लाग्ने गरेको विशेषज्ञ चिकित्सकले औंल्याएका छन्। नेपाल तथा दक्षिण एसियाली क्षेत्रमा मुख तथा दाँत रोगसम्बन्धी जनचेतनाको कमीले अहिले पनि उत्तिकै संख्यामा गिँजारोगको संक्रमण हुने गरेको विशेषज्ञहरूले औंल्याएका छन्।

सन् २०१४ मा काभे्रमा गरिएको एक अध्ययनअनुसार ९५ प्रतिशत मानिसको गिँजामा रोग पाइएको थियो। नेपालमा फरक समयमा विभिन्न अध्ययनले पनि ९० प्रतिशतभन्दा बढी जनसंख्यामा गिँजासम्बन्धी कुनै न कुनै रोग भएको पुष्टि गरिसकेको नेपाल गिँजारोग तथा दन्त प्रत्यारोपणसम्बन्धी नेपाली दन्त चिकित्सक समाजले औंल्याएको छ। गिँजारोगको समस्या न्यूनीकरण गर्न यो वर्षदेखि समाजले राष्ट्रिय गिँजा स्वास्थ्य दिवस मनाएको छ। समाजको छैटौं वार्षिकोत्सवको अवसरमा यो दिवस मनाउन सुरु गरिएको हो।

वीर अस्पतालमा दैनिक ४० जना बिरामी गिँजाको समस्या लिएर आउने गरेको अस्पतालको डेन्टल विभागले जनाएको छ। यो विभागमा दैनिक १ सय ५० जनाको दाँत तथा गिँजासम्बन्धी उपचार गरिन्छ। दाँतको समस्या भनेर आउने सबैजसो बिरामीमा गिँजारोगका कारण दाँत हल्लिने तथा कुहिने समस्या देखिने विभागकी प्रमुख तथा दन्त चिकित्सक समाजकी संस्थापक अध्यक्ष डा. शैली प्रधानले बताइन्।

गिँजामा लाग्ने रोगका कारण कम उमेरमै दाँत झर्ने र कृत्रिम दाँतको सहारा लिनुपर्ने अवस्था रहेको समाजका महासचिव डा. भागेश्वर धामीले बताए। चिकित्सकका अनुसार नेपालमा पायरिया गिँजासम्बन्धी प्रमुख समस्या हो। सास गनाउने, गिँजा सर्ने, गिँजाबाट पिप तथा रगत आउने, गिँजा सुन्निनेजस्ता लक्षण यो रोगमा देखिन्छ। यो रोगको समयमै उपचार हुन नसकेमा गिजा हुँदै दाँतको हाड मक्किने र दाँत कम उमेरमै झर्ने समस्या हुन्छ।

गिँजारोगको समयमा उपचार नगरकैले नेपालमा दाँत झर्ने समस्या बढी भएको चिकित्सकले औंल्याएका छन्। ‘नेपालमा उमेरको कारणले दाँत झर्छ भन्ने भ्रम छ, खास गिँजाको रोगका कारण दाँतको जरा कमजोर भएर उमेरमै दाँत झरेको हो’, डा. प्रधानले भनिन्।

डा. धामीका अनुसार गिँजारोगले रगतमा चिनीको मात्रा सन्तुलनमा गडबडी गर्छ। यसबाहेक गिँजारोग भएका गर्भवती महिलाबाट जन्मिने बच्चामा कम तौलको समस्या हुने गर्छ। गिँजारोग लागेका मानिसमा मुटुरोग पनि बढी देखिने सम्बन्धित विज्ञ बताउँछन्। गिँजामा लाग्ने रोगका कारण शरीरका अन्य अंगको स्वास्थ्यमा कति असर पर्छ भन्ने विषयमा आम चिकित्सक अनभिज्ञ रहेको र यस विषयमा विकसित राष्ट्रमा छुट्टै अध्यापनसमेत सुरु भइसकेको डा. धामीले बताए। गिँजा स्वस्थ राख्न नियमित खाना खाएपछि बिहान–बेलुकी दाँत सफा गर्ने र ६ महिनामा एकपटक गिँजा रोग विशेषज्ञ तथा जनरल दाँत रोग विशेषज्ञलाई देखाएमा दाँत झर्ने समस्या कम हुने चिकित्सकको सुझाव छ।

प्रकाशित: १ माघ २०७६ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App