१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सशस्त्र प्रहरी र पूर्वाञ्चल विजयी

इटहरी- सशस्त्र प्रहरीको एपिएफ र पूर्वाञ्चलले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत शुक्रबार सुरु महिला क्रिकेटमा विजयी नतिजा निकालेका छन्। इटहरीस्थित डिभिएम स्कुलको मैदानमा भएको उद्घाटन खेलमा विभागीय टोली एपिएफलेे मध्यमाञ्चललाई ६१ रनले पराजित गर्‍यो। पूर्वाञ्चलले पश्चिमाञ्चलमाथि ६६ रनको विजय हासिल गर्‍यो।

सरिता मगरको ४३ रनप्रेरित एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो। मध्यमाञ्चलकी रोजी कडरियाले १ विकेट लिइन्। १ सय १६ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चल ५४ रनमा अलआउट भएको थियो। एपिएफकी सोनु खड्काले ३ विकेट लिइन्। एपिएफकी सरिता प्लेयर अफ दि म्याच घोषित भइन्।

शुक्रबारै भएको अर्को खेलमा टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो। प्लेयर अफ दि म्याच बनेकी रोमा थापाले ५२ बलमा ५७ रन बनाएकी थिइन्।

पश्चिमाञ्चलका लागि काजली सेन र अलिसा क्षेत्रीले समान ३/३ विकेट लिए। १ सय ५ रनको लक्ष्य पछ्याएको पश्चिमाञ्चलले १५ ओभरमा ३८ रन जोड्दा सबै विकेट गुमाएको थियो। पूर्वाञ्चलका लागि कप्तान कविता गौतमले ४ र संगीता राईले ३ विकेट लिए।

शनिबार पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ भने मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चलसँग खेल्ने छ। महिला क्रिकेटमा ६ टोलीको सहभागिता रहेको छ।

महिला क्रिकेट जनता कलेजको खेलमैदानमा गर्ने तय भए पनि अन्तिम समयमा डिभिएम स्कुलमा सारिएको थियो। राष्ट्रिय खेलकुद परिषद्को कमजोर व्यवस्थापनका कारण खेलाडी आफैंले खेल सामग्री ल्याएर खेलेका थिए। जर्सीसमेत आफैसँग भएको प्रयोग गर्नु परेकाले खेलाडीको जर्सीमा एकरुपता थिएन।

प्रकाशित: ९ पुस २०७३ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App