१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

श्वेतपत्र जारी गर्दै मेलम्ची खानेपानी आयोजना

काठमाडौं -  मेलम्ची खानेपानी आयोजनाको विस्तृत विवरणसहितको श्वेतपत्र आउने भएको छ। मेलम्ची खानेपानी आयोजनाले श्वेतपत्रको तयारी पूरा भएको जनाएको छ।

आयोजना प्रमुख तिरेश खत्रीले आयोजनाको सम्पूर्ण विवरण समेटिएको श्वेतपत्र जारी गर्न लागेको बताए। ‘मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले यो आयोजनाको सम्पूर्ण विवरण समावेश गरेर श्वेतपत्र जारी गर्ने निर्णय गरिसक्यो,’ उनले भने, ‘श्वेतपत्रको सम्पूर्ण कागजात तयार पारेर मुद्रण विभागमा छाप्न पठाइसक्यौं। केही दिनभित्रै सार्वजनिक गर्नेछौं।’ खत्रीका अनुसार मेलम्ची आयोजनाको विगतका गतिविधि र खर्चको विवरणदेखि कार्य प्रगति र भविष्यमा गरिने सम्पूर्ण गतिविधि श्वेतपत्रमा राखिनेछ। उनले एक साताभित्रै श्वेतपत्र जारी गर्ने बताए। मेलम्ची खानेपानी विकास समितिको पुस १७ गते बसेको बैठकले आयोजनाको श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो।

आयोजनाका अनुसार पछिल्लो समय चिनियाँ ठेकेदार कम्पनी सिनोहाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनाको काम तीव्र गतिमा गरिरहेको छ। ‘लामो समयसम्म आयोजना निर्माणको काम ठप्प जस्तै भयो,’ आयोजना प्रमुख खत्रीले भने, ‘अहिले कामले गति लिएको छ। सम्भवतः आगामी असारभित्रै अस्थायी बाँधमार्फत मेलम्चीको पानी उपत्यका खसाल्नेछौं।’ सिनोहाइड्रोले मेलम्ची आयोजनाको सुरुङको बाँकी काम र बाँध निर्माणको ठेक्का पाएको थियो। आयोजनाको साढे २६ किलोमिटर लामो मुख्य सुरुङ तयार पारेको इटालियन ठेकेदार कम्पनीले भुक्तानी विवादका कारण पोहोर पुसमा काम छाडेपछि बाँकी कामको ठेक्का सिनोहाइड्रोले पाएको हो।

सरकार र सिनोहाइड्रोबीच गत असोजमा सुरुङको बाँकी काम गर्ने र मुहानस्थलमा बाँध (हेडवक्र्स) बनाउने ठेक्का सम्झौता भएको थियो। सम्झौतालगत्तै आयोजनास्थल प्रवेश गरेको सिनोहाइड्रोले नोभेम्बर दोस्रो साताबाट पूर्ण क्षमतामा काम अघि बढाइरहेको आयोजनाले दाबी गरेको छ। ठेक्का सम्झौतामा तोकिएको समयसीमा अगावै काम सके आयोजनाले ठेकेदार कम्पनीलाई १० प्रतिशत बोनस दिने घोषणा गरेको छ। आयोजनाका अनुसार अहिले सिनोहाइड्रोले बाँध र अस्थायी बाँध (कफर्ड ड्याम)को काम एकसाथ अघि बढाएको छ। सुरुङ ढलान (फिनिसिङ) पनि गरिरहेको छ। आयोजना प्रमुख खत्रीले सुरुङ ढलान गर्ने काम तीव्र गतिमा भइरहेको र ढलान सकिएपछि सुरुङका अडिट टनेलका मुख टालेर त्यहाँ ढोका राख्ने काम सुरु हुनेछ। सुरुङमा २८ वटा ढोका राख्नुपर्ने हुन्छ। सुरुङबाट हावा बाहिर निस्कने संरचना पनि सुरुङकै ठेक्का प्याकेजमा हुनेछ।  

मुहानस्थलमा स्थायी बाँध बन्न अझै एक वर्ष लाग्ने भएकाले तत्काल पानी आपूर्ति गर्न अस्थायी बाँध बनाउन लागिएको हो। अस्थायी बाँध बन्न पाँच महिना लाग्ने जनाइएको छ। ‘कफर्ड ड्याम बनेपछि यसैमार्फत पानी आपूर्ति थाल्छौं। स्थायी संरचना पनि बनिरहन्छ,’ खत्रीले भने, ‘आयोजना सम्पन्न भएपछि पनि हेडवक्र्स सफा र मर्मत गर्ने बेलाको लागि कफर्ड ड्याम चाहिन्छ।’ सिनोहाइड्रोले सुरुङको बाँकी काम गर्न ८५ करोड र बाँध बनाउन एक अर्ब दुई करोड रुपैयाँमा ठेक्का पाएको हो। १५ महिनाभित्र दुवै काम सक्नुपर्ने सम्झौता छ। उसलाई सामग्री आपूर्ति र अन्य साना काम गर्न मन्त्रिपरिषद्ले स्थानीय आठ उपठेकेदारलाई सिधै ठेक्का दिएको छ। सुरुङ निर्माणका काम गर्न ठेक्का पाएको सिनोहाइड्रो तेस्रो ठेकेदार कम्पनी हो। सुरुमा सुरुङ बनाउने ठेक्का चिनियाँ कम्पनी चाइना रेल्वे १५ ब्युरो ग्रुप कम्पनी लिमिटेडले लिएको थियो। उसले छाडेपछि इटालियन कम्पनी सिएमसीले ठेक्का पाएको थियो।

प्रकाशित: २९ पुस २०७६ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App