१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘कांग्रेसको प्रतिपक्षी भूमिका देखिएन’

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक शासन व्यवस्थामाथि नै आक्रमण सुरु भएको विभिन्न क्षेत्रका व्यक्तिले औल्याएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले पुस ११ गते केन्द्रीय समितिको बहुमतबाट महाधिवेशन कार्यतालिका सार्वजनिकसहितका निर्णय लिएपछि विभिन्न पक्षसँगको छलफलमा जुटेको संस्थापन इतरका कांग्रेस नेताले आइतबार राजधानीमा विभिन्न क्षेत्रका व्यीक्तसँगको छलफलमा आन्तरिक विवाद समाधान गरेर लोकतन्त्रको रक्षाका लागि उत्रिन सुझाएका हुन्।

सरकार संविधान र विगतका स्थापित मान्यताविपरीत प्रस्तुत हुँदासमेत प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसको उपस्थिति शून्य रहेको सुनाउँदै कांग्रेसको भूमिका प्रभावकारी बन्न नसकेको धारणा राखे। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै बन्देज लगाउने गरी सूचना प्रविधि विधेयक संसदमा पुगे पनि त्यसको विरोधमा कांग्रेसको प्रभावकारी भूमिका नदेखिएको तर्क गरेका छन्।

संवैधानिक व्यवस्थाविपरीत सरकराले संसद्मा भटाभट विधेयक पेश गरिरहेको सुनाउँदै प्राध्यापक कृष्ण खनालले भने, ‘लोकतन्त्रमाथि आक्रमण भइरहेको छ, त्यसमा कांग्रेसको ध्यान छैन।’ आन्तरिक विवाद समाधान गरेर लोकतन्त्रको रक्षाका लागि कांग्रेस जुट्नुपर्ने समय आएको सुनाउँदै पार्टी नेतृत्वको कारणले पनि सकारात्मक भूमिका खेल्न नसकेको तर्क गरेको छन्।

कार्यक्रममा प्राध्यापक लोकराज बरालले सरकारले आफूअनुसार निर्णय गर्ने र कानुन बनाउन सक्रिय रहेपनि प्रतिपक्षी कांग्रेसले त्यसलाई रोक्न आफ्नो सामर्थ देखाउन नसकेको धारणा राख्दै अहिले ‘रुल अफ ल होइन, रुल वाइ ल’ को अवस्था मुलुकमा विद्यमान रहेको बताए।

पूर्वसचिव कृष्ण ज्ञवालीले पनि कांग्रेस आन्तरिक विवादमा रुमलिँदा सरकराले गरेका गल्तिकमजोरी जनता समक्ष पु¥याउन नसकेको धारणा राखेका थिए। पार्टीभित्रको आन्तरिक विवाद समाधान गरेर सरकारले गरेका गलत काम जनतासमक्ष पु-याउनु पर्ने धारणा राखे। नेतृत्वको इमजेले गर्दा पनि कांग्रेसले लिएका कतिपय निर्णयलाई जनताले पत्याउन नसकेको धारणा राख्दै ज्ञवालीले भने, ‘सरकार गलत कामको कांग्रेसले संगठित रूपमा म्योज डेलिभरी गर्नुपर्ने हो त्यो गर्न सकेको छैन। कांग्रेस पहिला आफैं सच्चिनुपर्छ।’

कानुनविद् भीमार्जुन आर्चायले मुलुकमा प्रमुख प्रतिपक्षी दल भए वा नभएको अनुभूति गर्न नपाएको गुनासो गरेका छन्। ‘अहिले संसदमा प्रतिपक्षी भए नभएको थाहा छैन,’ उनले भने, ‘सूचना प्रविधिसहितका विभिन्न विधेयकमार्फत सरकारले संविधानप्रदत्त अधिकार कुन्ठित गर्न लागिपर्दा पनि कांग्रेसको उपस्थिति कतै देखिएको छैन।’

छलफलपछि नेता रामचन्द्र पौडेलले विधानको परिधिभित्र अधिकतम सहमतिबाट पार्टी सञ्चालन गर्नुको साटो नेतृत्व एकलौटी ढंगबाट अघि बढेको गुनासो गरे। आफूहरूले भागबन्डा कुरा नगरेको धारणा राख्दै पौडेलले भने, ‘भागबन्डाको कुरा होइन राजनीतिमा जहाँ पनि पावर सेयरिङ हुन्छ। हामीले त्यही कुरा उठाएका हाैँ।’

बहुमतबाट गरेको निर्णय नसच्याएसम्म पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने अवस्था नरहेको सुनाउँदै पौडेलले भ्रातृ संस्था गठन गर्दा पनि सबैलाई चित्तबुझाएर लैजानुपर्ने धारणा राखे।

पूर्वमहामन्त्री प्रकाशमान सिंह र सहमहामन्त्री रामशरण महतले पार्टी सभापति देउवा विधि र विधानबाहिर जाँदा पार्टीमा समस्या आएको बताए। केन्द्रीय समितिको बहुमतबाट १४ औं महाधिवेशनको कार्यतालिका, विधानको धारा निलम्बनसहितका निर्णयपछि असन्तुष्ट पक्ष निकट जिल्ला सभापति हुँदै विभिन्न पक्षसँग छलफलमा जुटेका छन्।

प्रकाशित: २८ पुस २०७६ ००:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App