१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

खोटाङका चार वडालाई कागतीको पकेट क्षेत्र बनाइँदै

file photo

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकाले चार वडालाई कागतीको पकेट क्षेत्रकारुपमा विकास गर्न पहल थालेको छ। कागती उत्पादन गरेर किसानलाई आर्थिकरुपमा सबल बनाउनका लागि गाउँपालिकाले खोटेहाङ गाउँपालिका–८ सिमपानी, ९ लिच्कीराम्चे, ४ बड्कादियाले र ७ खोटाङ बजारलाई पकेट क्षेत्रकारुपमा विकास गर्न कार्यक्रम सुरु गरेको हो।

सिमपानी र लिच्कीराम्चेका २५/२५ जना किसान आवद्ध दुई वटा कृषक समूहलाई समेटेर एउटा पकेट क्षेत्र तथा खोटाङ बजार र बड्कादियालेका दुई वटा कृषक समूहलाई समेटेर कागतीको अर्को पकेट क्षेत्र बनाउने गरी काम थालिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए। कागतीको व्यवसायीक खेतीका लागि आर्थिक वर्ष २०७५/०७६ मा कागतीका दुई वटा पकेट क्षेत्रलाई प्रति पकेट क्षेत्र १ लाख ९० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। अनुदान पाएका पकेट क्षेत्रका किसानले हाल कागतीको बेर्ना उत्पादनका काम गरिरहेको अध्यक्ष राईले बताए। गाउँपालिकाको ९ वडामध्ये कागती उत्पादन हुने स्थान र सम्भावनालाई ध्यानमा राखेर पकेट क्षेत्रकारुपमा विकास गर्न लागिएको हो।

यस्तै, खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीलाई पनि कागतीको पकेट क्षेत्रकारुपमा विकास गर्न चालु आर्थिक वर्ष ३ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। खोटेहाङ गाउँपालिका २ वाप्लुखालाई पनि आलुको पकेट क्षेत्रकारुपमा विकास गर्न यस आर्थिक वर्ष २ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको उनले  बताए।

विदेशबाट फर्किएका युवालाई अनुदान
खोटेहाङ गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्किएका युवालाई व्यवसाय सञ्चालनका लागि अनुदानको व्यवस्था गरेको छ। विदेशबाट गाउँ फर्किएपछि केही व्यवसाय गर्न इच्छुक युवालाई आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाका ९ वडामध्ये चिप्रिङ वाहेकका ८ वडाका एक/एक युवालाई ५०/५० हजार रुपैयाँ अनुदान दिइएकामा चालु आर्थिक वर्ष पनि अनुदान विनियोजन गरेको छ। विदेशबाट फर्किएपछि उत्पादनमुलक काम गर्न चाहने ९ वडाका एक/एक जना युवालाई चालु आर्थिक वर्ष पनि ५०/५० हजार रुपैयाँका दरले अनुदान दिने तयारी गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए।

खोटेहाङ गाउँपालिकाले कृषि श्रोत व्यक्ति विकासका लागि पनि बजेट विनियोजन गरेको छ। कृषि क्षेत्रको व्यवसायीक विकासमा टेवा पुर्‍याउनका लागि गाउँपालिकाले १८ जना कृषि श्रोत व्यक्ति विकासको प्रयास थालेको हो। प्रतिवडा दुई/दुई जना कृषि श्रोत व्यक्ति विकासका लागि यस आर्थिक वर्ष १ लाख ८० हजार रुपैयाँ बजेट व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २६ पुस २०७६ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App