१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

विदेशमा नेपाली रक्तदान अभियन्ता

जसो गर, जे गर, जतासुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
अनिल गुरुङको यो गीत  विदेशलाई  कर्मभूमि बनाउने करिब ८० लाख नेपालीको ओठजिब्रोमा  झुन्डिएको छ। उनीहरू हर तरहले मातृभूमिप्रति सदभाव राख्छन्,  कर्तव्य पूरा गर्न तल्लीन हुन्छन्। राम्रो ठाउँमा पुगेका तथा मनग्य धनसम्पत्ति आर्जन गर्नेहरूले मातृभूमिप्रति ठूलो गुण लगाउन चाहन्छन ्। जो थोरै कमाउँछ, सफलताको सिँढी चढ्दै छ, उसले पनि  फराकिलो मनले सहयोग गर्छ। घरपरिवारबाट टाढै रहेर देशवासीलाई विभिन्न क्षेत्रमा सहयोग  गर्ने परोपकारी मनहरू प्रशस्त छन्।

त्यस्तै परोपकारीमा पर्छन्, अमेरिकाको फ्लोरिडामा लामो समयदेखि बसोबास गर्दै आएका अजय सत्याल। उनले सन् १९८६ देखि अन्तर्राष्ट्रिय रक्तदानको क्षेत्रमा पाइला चाले, जुन पाइला निरन्तर अगि बढिरहेको छ। उनी अमेरिका, नेपाल र भारतमा गरी एक सय ७३ पटक रक्तदान गरेर सबैभदा धेरै पटक रक्तदान गर्ने नेपाली बनेका छन्।

सत्यालकै नेतृत्वमा अमेरिकामा सन् २०१४ मा अन्तर्राष्ट्रिय नेपाली रक्त दाता संघ (आईएनबीडी) दर्ता भयो। उनैले आईएनबीडीको नेतृत्व गरे। आईएनबीडी २३ वटा देशमा विस्तार भएको छ। उनी दोस्रो कार्यकालमा अध्यक्ष पदको जिम्मेवारी वहन गर्दै छन्।  उनकै नेतृत्वमा बर्सेनि दुई ठूला रक्तदान कार्यक्रम आयोजना गरिन्छ।

त्यस्तै, सत्याल गैरनाफामूलक संस्था ‘ब्लड डोनर्स अफ अमेरिका’ का आजीवन सदस्य हुन्। उनीबाट बिदेसिएका नेपालीले रक्तदान गर्न प्रेरणा पाएका छन्। समुदायस्तरमा आयोजित   रक्तदान कार्यक्रमले नयाँ रक्तदातालाई जोड्न सक्नेमा उनी विश्वास गर्छन्। उनले फ्रान्स, बेलायत, नेदरल्यान्ड र भारतमा स्थानीय स्तरमा रक्तदान संगठनको निर्माण,  प्रचार, प्रवद्र्धन र समर्थनका लागि काम गरेका छन्।

‘रक्तदान गरी जीवन दान गरौं,  तपाईंले गरेको रक्तदानले कसैको ज्यान बच्छ र कसैको परिवारमा खुसी मिल्छ भने जीवनमा त्योभन्दा ठूलो सन्तुष्टि अरू केबाट मिल्छ?’

हालै वायु गुणस्तर प्रबन्धका निर्देशकबाट अवकाश पाएका  सत्यालले १९९८ देखि २००० सम्म फ्लोरिडा नेपाल एसोसिएसनको अध्यक्ष तथा २००८ देखि २०१० सम्म फ्लोरिडा सेक्सन एयर र फोहोर म्यानेजमेन्ट एसोसिएसनमा उपाध्यक्षका रूपमा  काम गरे।
०००
विदेशी भूमिमा रक्तदान अभियानलाई मलजल गर्ने  नामहरूसँगै जोडिएर आउँछ  डा। नन्द रेग्मी। रेग्मी  सन् २००९ मा स्थापित ‘ब्लड डोनर्स अफ’ अमेरिका’ का निवर्तमान अध्यक्ष हुन्। उनी ब्लड डोनर्स अफमा तेस्रो कार्यकालदेखि आबद्ध भएका थिए। उनले कोषाध्यक्ष, सदस्यता समितिको अध्यक्ष,  कार्यकारी सदस्य लगायत पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्। उनी सन् २०१६ मा अध्यक्षमा निर्वाचित भएका हुन्। उनको  नेतृत्वमा संस्थाले छोटो समयमै अमेरिकामा रहेका  प्रवासी नेपालीमध्ये सबैभन्दा धेरै सदस्यता बनायो।

डा। रेग्मीले सन् २०१० जुनमा अमेरिकाको डल्लासमा सामाजिक संस्थासँग  सहकार्य गरेर ब्लड डोनर्स अफ अमेरिकाको पहिलो बृहत् रक्तदान कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रममार्फत ३३ नेपालीले रक्तदान गरेका थिए। उनले अमेरिकाका विभिन्न ठाउँमा नेपालीलाई एकजुट बनाई रक्तदान गर्न प्रोत्साहित गरे। यसैको फलस्वरूप सन् २०१४ मा टेक्सासमै ब्लड डोनर्स अफ अमेरिकाको एकाइ स्थापना भयो।  यो एकाइ अमेरिकाकै सबैभन्दा ठूलो, शक्तिशाली र प्रभावकारी संस्था हो, यसले ठुल्ठूला रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। सन् २०१५ अप्रिल २५ मा रक्तदान कार्यक्रममार्फत १२८ पोका रगत संकलन गरेको थियो।

रेग्मी एक बायोमेडिकल वैज्ञानिक हुन्। उनी डलासको टेक्सास विश्वविद्यालयअन्तर्गत साउथवेस्टर्न मेडिकल सेन्टरको न्युरोलोजी र न्युरोथेरापिटिक्स विभागमा मस्तिष्क रोगको अनुसन्धानमा संलग्न छन्। यही विश्वविद्यालयमा कार्यरत ६ अनुसन्धाताले नोबेल पुरस्कार जितेका छन्। नोबेल विजेता डा। ब्रुस ब्युटलर रेग्मीका अनुसन्धान सहयोगी हुन्। उनको अनुसन्धान डाइस्टोनिया नामक डिसअर्डरको  जिम्मेवार प्राथमिक जिनहरूको पहिचान गर्नमा केन्द्रित छ।

बेलायत बस्ने  एभरेस्ट गौतम सानैदेखि नेपालको ‘लियो तथा लाइन्स क्लब’बाट रक्तदान कार्यक्रममा सहभागी भएका थिए। उनले अधिकांश समय रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविरमा बिताए। उनमा जस्तोसुकै अप्ठेरो परिस्थितिले इच्छाशक्ति नमर्ने बुझाइ छ। उनी मिलन शर्माको पहलमा सन् २०१४ मा बेलायतमा स्थापित  ‘नेप्लिज ब्लड डोनर्स युके’ का संस्थापक अध्यक्ष हुन्।

गौतमले बेलायतका तीन सय  बढी संघसंस्थालाई वर्षमा कम्तीमा एकपटक रक्तदान कार्यक्रम आयोजना गरिदिन आह्वान गर्दै आएका छन्। उनी अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको उपाध्यक्षसमेत छन्।
बेलायतमा आयोजित कार्यक्रममा सहभागी भएर रक्तदान कार्यक्रम आयोजना गरिदिन पहल गर्छन्। उनी मानवीय तथा परोपकारी कार्यमा सहभागी बन्न सबैलाई प्रेरणा दिन्छन्। ‘रक्तदान गरी जीवन दान गरौं,  तपाईंले गरेको रक्तदानले कसैको ज्यान बच्छ र कसैको परिवारमा खुसी मिल्छ भने जीवनमा त्योभन्दा ठूलो सन्तुष्टि अरू केबाट मिल्छरु’ उनी रक्तदातालाई यसरी नै हौस्याइरहन्छन्।


लामो समयदेखि फ्रान्समा बस्दै आएका  प्रशान्त उप्रेती नेपाल जुनियर रेडक्रसका कार्यक्रममा  सहभागी हुन्थे। उनले विद्यार्थी जीवनबाटै रक्तदानको महत्व  र आवश्यकता बुझ्ने अवसर पाएका थिए। उनी स्वास्थ्यकर्मी भाउजूबाट स्वास्थ्यसम्बन्धी ज्ञान सिक्ने अवसर पाएको बताउँछन्। उच्च शिक्षाका लागि काठमाडौँ आएपछि  रक्तदानबारे गहिरिएर सिक्ने मौका मिलेको सुनाए। सन् २०१४ मा स्थापित  अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको संस्थापक सदस्यका रूपमा क्रियाशील छन्।

उप्रेती ‘म होइन हामी’ मा विश्वास राख्छन्। उनले फ्रान्समा झन्डै एक दशकदेखि रक्तदान अभियानलाई साथ दिँदै आएका छन्। उनकै अगुवाइमा सन् २०१९ मा २१ कार्यसमितिसहित  नेपाली रक्तदाता संघ फ्रान्समा स्थापना भयो। उनी एनआरएन फ्रान्सको सल्लाहकारसमेत छन्।

उप्रेतीले गृह जिल्ला चितवनका मित्रहरूलाई रक्तदान अभियानमा लाग्न झकझकाउँदै आएका छन ्। उनी सामाजिक सञ्जालमार्फत पनि रक्तदान अभियानलाई उचाइमा पु-याउन प्रयत्नशील हुन्छन्। उनी फ्रान्सेली संस्था ‘फ्रेन्च ब्लड बैंक’सँग नेपाली जनसमुदायलाई रक्तदानप्रति उत्प्रेरित गराउन र सहजीकरण गर्न  निरन्तर सक्रिय छन्। घरपरिवार र  कामभन्दा बढी समय र मेहनत रक्तदान अभियानमा खर्चन्छन्। उनी पेसाले व्यापारी हुन्, फ्रान्सको उपल्लो सदनमा नेपाल–फ्रान्सको ७०औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा सम्मानित भएका थिए।

प्रकाशित: २६ पुस २०७६ ०८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App