१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘पृथ्वीनारायणको सालिकको मात्रै होइन, उनको कर्मको माया लाग्छ’

कविराज कार्की
सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा रङ लगाउँदै थिए। बटुवा, सवारीचालक चकित परेर हेर्दै थिए। सेतो कुर्तामाथि नेपालको झन्डाको रंगीन चित्र। पृथ्वीनारायणप्रति श्रद्धाभावका अनेक शब्द। सेता र लामा दाह्रीमाथि भादगाउँले टोपी। यो उनको हुलिया हो। उनी हुन्, काठमाडौं चन्द्रागिरीका लक्ष्मणसिंह खड्का।

‘पृथ्वीनारायणको सालिक हेरचाह गर्न थालेको १५–१६ वर्ष भयो। पृथ्वीनारायणले देशलाई एक ढिक्का बनाइबक्सियो, त्यसैले म नेपालमा गर्वसाथ बस्न पाएको छु,’ उनी रङ लगाउँदा लगाउँदै रोकिए।

लक्ष्मणसिंहको पुख्र्यौली थलो पाल्पा हो। ‘काठमाडौं जितेपछि पृथ्वीनारायण शाहले हाम्रा पुर्खालाई पाल्पाबाट काठमाडौं बोलाउनुभएको हो,’ उनले भने।

२०६२ सालमा लक्ष्मणसिंह सिंहदरबारस्थित पृथ्वीनारायणको सालिक सफा गर्दै थिए। एक्कासि उनलाई एउटा समूहले घेरेर सोध्यो, ‘तँ यहाँ राजाको ब्यानर राख्ने ?’ उनले भने, ‘पृथ्वीनारायण राजा मात्रै होइनन्, वीर  होइबक्सन्छ। उहाँले बाइसे–चौबिसे राज्यलाई एक ढिक्का बनाइबक्सियो। त्यसैले तपाईं हामीलाई कुनै पनि जिल्लामा जाँदा राहदानी चाहिँदैन।’

लक्ष्मणसिंहले उनीहरूसँग प्रतिवाद गरे। उनको ज्यान पनि जान सक्थ्यो। तर, उनीभित्रको साहस देखेर उनीहरू पछि हच्किए। उनले गर्वसाथ भने, ‘पृथ्वीनारायण शाहको सालिक त्यतिखेरै भत्काइन्थ्यो, मैले नै बचाएको हुँ।’

लक्ष्मणसिंह पृथ्वीनारायण शाहको सालिकमा नेपालको झन्डा राख्छन्।  वीर पुरुषको वीरता र गौरवलाई  आमनेपालीले बचाउनुपर्ने उनको विचार छ। उनी राष्ट्रहितका लागि राजसंस्था आवश्यक भएको वकालत गर्दै हिँड्छन्।

‘आज हामी यो भूभागमा नेपाली भनेर, आफ्ना मौलिक संस्कृतिलाई जोगाएर बस्न पाएका छौँ। त्यसैले मलाई यो सालिकको मात्रै होइन, पृथ्वीनारायणको कर्मको माया लाग्छ,’ लक्ष्मणसिंह खड्काले एकै सासमा भने।

लक्ष्मणसिंह  भत्केका बाटाघाटा पनि मर्मत गर्छन्। आपतमा परेकालाई सहयोग  गर्छन्। उनी नयाँ पुस्ताले समाजप्रतिको माया र राष्ट्रप्रेमलाई अवहेलना गरेको सुनाउँछन्। उनी वीर नेपालीको सालिक खोजीखोजी रङ लगाउँछ। उनले यस्तो काम गरेको १६ वर्ष भइसक्यो। उनमा अझै अदम्य साहस छ, जोसजाँगर हराएको छैन।

‘मैले पृथ्वीनारायण  शाह, पासाङल्हामु शेर्पा, मदन भण्डारी, जंगबहादुर राणा, भक्ति थापा, बलभद्र कुँवर, वीरेन्द्रलगायतको सालिक  सफा गरेर रङ लगाएको छु,’ उनले भने, ‘नेताहरूले केही गर्न  सकेनन्। वीर गोर्खालीको कामलाई म स्यालुट हान्न चाहन्छु।’

विगतमा कांग्रेस, एमाले, माओ, पञ्चे कसैले पनि यो देश र जनताको हितमा काम नगरेको उनको बुझाइ छ।  उनले भने, ‘सबैले देश लुछेर खाए। अहिले मेरो नेपाल भन्छन्, लाज लाग्दैन ?’

नेतृत्वले देशको अस्तित्व रक्षा गर्न नसकेकाले ‘राजा आऊ देश बचाऊ’ अभियानमा लागेको बताए।  उनले भने, ‘देशमा विकास आवश्यक छ। पदमा मात्रै होइन, नेपाललाई समृद्ध बनाउन सबैजना लाग्नुप-यो।’

प्रकाशित: २६ पुस २०७६ ०५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App