१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

किर्ते उपभोक्ता समिति गठन: दोषीमाथि कारबाही गर्न कांग्रेसको माग

किर्ते उपभोक्ता समिति गठनका विषयमा बिहिबार साँझ छायाँ सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी कांग्रेस नेताहरु। तस्बिरः दमन राई/नागरिक

खोटाङ – नेपाली कांग्रेसले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विधिवत गठन गरिएको उपभोक्ता समितिलाई लत्याएर किर्ते कागजात खडा गरी गठन गरिएको अर्को उपभोक्ता समितिलाई योजना सम्झौता गराउनमा संलग्न दोषीलाई कारबाही गर्न माग गरेको छ।

बिहिबार साँझ कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसको छायाँ सरकारले संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरको ३० लाख बजेटबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सञ्चालन हुने भुते जिरो किलोबाट आयुर्वेद कार्यालयसम्म एकीकृत वस्ती विकास तथा पुर्वाधार निर्माणका लागि विधिसंगत गठन गरिएको उपभोक्ता समितिलाई लत्याएर अर्कै उपभोक्ता समितिलाई योजना सम्झौता गराउन स्वीकृति दिइएको विरोधमा छायाँ सरकारले सो कार्यमा संलग्न दोषीमाथि कारबाही माग गरेको हो। अख्तियारको दुरुपयोग गरेर किर्ते उपभोक्ता समितिलाई सम्झौताका लागि सिफारिस दिएकामा मेयर दिपनारायण रिजाल र प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई लगायतलाई कारबाही गर्न माग गरिएको छायाँ सरकार प्रमुख एबं कांग्रेसका क्षेत्रीय सभापति तिर्थराज भट्टराईले बताए।

गत पुस १८ गते सहायक प्रमुख जिल्ला अधिकारी टिकाराज पोखरेललाई ज्ञापनपत्र बुझाउँदै किर्ते हस्ताक्षर गरेर किर्ते उपभोक्ता समिति खडा गर्नमा संलग्न व्यक्तीलाई पहिचान गर्दै कारबाही गर्न माग राखेको कांग्रेसको छायाँ सरकारले पत्रकार सम्मेलन गरेर सोही माग दोहो¥याएको हो। किर्ते उपभोक्ता समिति गठन गरेर आयोजना दिलाउन खोजिएको प्रयासले नगरपालिकाभित्रका हरेक आयोजनामा पारदर्शीताको प्रश्न उठेको कांग्रेस महासमिति सदस्य सुवासकुमार पोखरेलले बताए। ‘कुरा कसले कुन योजना पाए भन्ने होईन, कुरा अख्तियार दुरुपयोगको हो,’ महासमिति सदस्य पोखरेलले भने, ‘संघीय आयोजनाको कार्यान्वयनको अवस्था यस्तो छ भने नगरपालिकाकै योजनाको हविगत कस्तो होला भन्ने छर्लङ्ग भएको छ।’

नगरपालिकाको मंसिर ३० गते प्राप्त पत्र अनुशार वडा कार्यालयले पुस ९ गते भवप्रसाद आचार्यको अध्यक्षतामा गठन गरेको ९ सदस्यीय उपभोक्ता समितिलाई लत्याएर मंसिर ६ गते युवराज आचार्यको अध्यक्षतामा गठन गरिएको ५ सदस्यीय उपभोक्ता समितिलाई योजना सम्झौताका लागि सिफारिस दिइएको खुलेपछि कांग्रेसको छायाँ सरकार बिरोधमा उत्रिएको हो। नगरपालिकाले युवराज अध्यक्ष रहेको उपभोक्ता समितिलाई पुस ९ गते नै सम्झौताका लागि संघीय आयोजना कार्यान्वयन ईकाई बिराटनगर समक्ष सिफारिस दिइसकेको पाइएको छ। योजनाबाट गैर–लाभ लिने मनसायले हिरा आचार्यको किर्ते हस्ताक्षर गरेर युवराज अध्यक्ष रहेको उपभोक्ता समितिको कोषाध्यक्ष राखिएको कांग्रेसले जनाएको छ।

योजनाको उपभोक्ता समिति गठन गर्न र सम्झौता गर्नका लागि मंसिर २३ गते नगरपालिकालाई पत्र प्राप्त भएको थियो तर मंसिर ६ गते नै युवराजको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको र सोही समितिलाई योजना दिलाउने गलत नियत देखिएको भट्टराईले बताए। युवराजको अध्यक्षतामा बनाइएको उपभोक्ता समितिमा रहेकी कोषाध्यक्ष हिरा आचार्यले आफ्नो किर्ते हस्ताक्षर गरेर समितिमा राखेको भन्दै पुस १६ गते वडा कार्यालयमा उजुरी दिएकी थिइन्।

सम्झौताका लागि नगरपालिका पुग्दा अर्कै उपभोक्ता समितिलाई सम्झौताका लागि सिफारिस दिइसकेको पाइएपछि भवप्रसादको अध्यक्षतामा गठित उपभोक्ता समितिले वडा कार्यालयमा ताला लगाउने धम्की दिएपछि वडाध्यक्ष आचार्यले पुस १६ गते साँझ पत्रकार सम्मेलन गरेका थिए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर रिजालले भने समस्या देखिएपछि तत्कालका लागि सम्झौताको काम रोकेको बताए। भवप्रसादलाई कांग्रेस र युवराजलाई नेकपाको समर्थन र उक्साहट छ।

छायाँ सरकारले विगतमा समेत नगरपालिकाका विभिन्न योजनामा भ्रष्टाचार भएको विषयमा प्रशासनलाई ज्ञापनपत्र बुझाएर निष्पक्ष छानवीन कार्य अघि बढाउन माग गरिएको जनाएको छ।

सूचना माग्दा नगरपालिकामा घम्साघम्सी
यसैबीच, कांग्रेसको छायाँ सरकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विगत तीन वर्ष यताको विकास निर्माण तथा योजना आम्दानी र खर्च माग गरेको छ। बुधबार नगरपालिका समक्ष लिखित माग गर्दै कांग्रेसले आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ को शिर्षक र खर्चको विवरण माग गरेको हो। सूचनाको हक अनुशार भौतिक तथा विकास निर्माणका लागि विभिन्न वडामा वितरित योजनाको शिर्षक, बिल र भर्पाईको प्रतिलिपी र कार्य सम्पन्न विवरण, प्रदेश, संघीय सकार तथा विभिन्न दातृ निकायबाट प्राप्त भएको कार्यक्रमको बिल भर्पाई सहितको विवरण, चालु आर्थिक वर्ष भएका खर्चको विवरण र कार्य सम्पन्नताको विवरण, नगरपालिकाबाट भएका विविध खर्चको विवरण माग गरिएको छायाँ सरकार प्रमुख तिर्थराज भट्टराईले बताए। सूचना लेनदेनको विषयमा बुधबार प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई र कांग्रेस नेता तथा कार्यकर्ताबीचमा घम्साघम्सी परेको श्रोतले जनाएको छ।

प्रकाशित: २५ पुस २०७६ ०५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App