१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खोला तथा चुरे क्षेत्र दोहनमा माफिया सक्रिय

रौतहट – रौतहटका खोला तथा चुरे क्षेत्रमा बोल्डर, डुंगा, गिटी र बालुवामाथि माफियाको गिद्धे नजर परेको छ। चुरे क्षेत्रबाट दैनिक ५० टिप्पर ढुंगा उत्खनन गरी ल्याइरहेको देखिएको छ भने बागमतीमा नदीजन्य पदार्थको खुलेआम दोहन गरेको सार्वजनिक भइसकेको छ। लालबकैया नदीमा तीन वर्षदेखि फतुवा विजयपुर नगरपालिकाका प्रमुखकै मिलेमतोमा नदीजन्य पदार्थको लुट मच्चिएको भने सरकारी संयन्त्र पंगु देखिएको वर्तमान अवस्थाको फाइदा उठाउँदै माफियाले चुरे क्षेत्र तथा विभिन्न नदीमाथि लगातार धावा बोलिरहेका छन्।

रौतहटमा चुरे दोहन गरेको भन्दै ७ वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको छ। जिल्ला वन कार्यालय रौतहटको सशस्त्र वन रक्षक टोलीले गस्तीको क्रममा ढुंगासहित सातवटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो। सो कार्यालयका अनुसार जिल्लाको सीमावर्ती क्षेत्र धनसरमा गत आइतबार रामपुकार साह र विनोद श्रेष्ठको नेतृत्वमा गएको वन गस्ती टोलीले बारा र रौतहट सीमाक्षेत्रबाट ती ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिए।

वन कार्यालयको गस्ती टोली देखेपछि ती ट्र्याक्टर भागेर चुरेको तटीय क्षेत्रमा लुक्न गएका थिए। चुरे क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन वर्जित छ। तापनि तस्करहरूले नेता, स्थानीय प्रशासन, वन प्रशासनलगायतको सहयोगमा अतिरिक्त लाभ दिई चुरे क्षेत्रको नदीजन्य पदार्थ ढुवानी गरिरहेको पाइएको छ। डिभिजन वन कार्यालय रौतहटअन्तर्गत पर्ने स्थानीय धनसर सब डिभिजन कार्यालयका कर्मचारी वनपाले र सहायक वन अधिकृतको मिलेमतोमा लाइन क्लियर गरी ढुंगाको तस्करी गराइरहेको र सोबापत ५ दिनका लागि प्रतिट्र्याक्टर पाँच सय रूपैयाँका दरले जनही २५ सय रूपैयाँ दिएको एक ट्र्याक्टर व्यवसायीले जनाए। उनका अनुसार धनसरमा रहेका वनपाले, रेन्जर, सहायक वन अधिकृत वैजनाथ मण्डललगायतको मिलिभगतमा काठ तथा नदीजन्य पदार्थको तस्करी भइरहेको जनाइएको छ।

गुजरा नगरपालिकाको जंगल सहियाका पटके ढुंगा तस्कर श्याम गिरीले लाइन चलाइरहेका छन्। पक्राउ परेका ट्र्याक्टरमा गिरीका २ वटा ट्र्याक्टर रहेका छन्। ढुंगाको कारोबारले रातारात धनी भएका तस्कर गिरीले वनका कर्मचारी केही होइनन्, मेरो पावर छ, जे हुन्छ म मिलाउँछु भन्दै आएका छन्। तस्कर नाइके गिरीले ट्र्याक्टर मजदुर र अन्यलाई थर्काउने गरेका छन्। तस्कर गिरीले रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिना र ठेकेदार श्याम कार्कीको हवाला दिँदै ट्र्याक्टर छुटाउने गरेका छन्। उनले सधैं सांसद तिमल्सिनाको धाक लगाउने गरेका छन्। सांसद तिमल्सिनालाई तस्कर र फटाहा गिरोहले प्रयोग गर्ने सम्भावना रहेकोप्रति सचेत रहन जरुरी भएको एक वन कर्मचारीले बताए।

प्रकाशित: २५ पुस २०७६ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App