१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

किर्ते गरी औषधि बेच्ने अझै पक्राउ परेनन्

धनगढी – निरन्तर दुई आर्थिक वर्ष नक्कली कर चुक्ता प्रमाणपत्र पेस गरेर करोडाैँको औषधि बिक्री गर्ने अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुईजना एक महिना बित्दा पनि पक्राउ परेका छैनन्। सुदूरपश्चिम प्रदेशकै धरोहर स्वास्थ्य संस्था गेटा आँखा अस्पतालमा किर्ते कर चुक्ता प्रमाणपत्र पेस गरेर धनगढीस्थित अमित मेडिसिन डिस्ट्रिब्युटर्सले तीन करोड ५० लाखको औषधि बिक्री गरेको थियो।

किर्ते गरेको अभियोगमा गत महिनाको तेस्रो साता मुद्दा परेपछि सञ्चालक अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेत र प्रदीप अग्रवाल फरार भएका थिए। सरकारी छाप, दस्तखत किर्तेमा उनीहरूविरुद्ध मुद्दा परेपछि जिल्ला अदालतले पक्राउ गर्ने अनुमति दिएको थियो। पक्राउ पर्ने सुइँको पाएपछि उनी फरार भएका हुन्। फरार भएको एक महिनासम्म उनीहरू पक्राउ परेका छैनन्। दुवैजनाको खोजतलास भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए। ‘देशभरि सबैतिर प्रहरीलाई परिपत्र गरेर खोजीकार्य भइरहेको छ,’ उनले भने, ‘नेपालमा छैनन् र भारततिर भागेर गएको जानकारीमा आएको छ।’ उनीहरूविरुद्ध कैलाली जिल्ला अदालतमा सरकारी छाप दस्तखत किर्तेमा मुद्दा दर्ता भएको उनले बताए। जहिले पक्राउ परे पनि उनी दुईजनामाथि मुद्दा लाग्ने उनको भनाइ छ। सरकारी छाप, दस्तकत किर्तेमा सात वर्ष जेल सजाय र ७० हजार जरिवाना हुने कानुनी प्रावधान छ।

आन्तरिक राजस्व कार्यालय धनगढीले छानबिन गर्दा आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा गरेर दुई वर्ष नै नक्कली करचुक्ता प्रमाण पत्र पेस गरेर औषधि बिक्री गरेको पाइएको थियो। आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख चन्द्रकुमार श्रेष्ठले अमित मेडिसिन डिस्ट्रिब्युटर्सले पेस गरेको करचुक्ता प्रमाणपत्र हाम्रो कार्यालयबाट जारी नभएको र नक्कली भेटिएकाले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी लेखिपठाएको बताए।

गेटा आँखा अस्पतालले आर्थिक वर्ष २०७५/७६ मा दरभाउ पत्रका आह्वानका आधार उनीबाट दुई करोड ८९ लाख ४२ हजार र आर्थिक वर्ष २०७६/७७ मा ६१ लाख ५६ हजारको औषधि खरिद गरेको छ। सार्वजनिक खरिद ऐनअनुसार एक व्यक्ति वा संस्थाबाट २० लाखभन्दा बढीको औषधि खरिद गर्न टेन्डर गरिनुपर्छ। सार्वजनिक खरिद ऐनविपरीत नक्कली करचुक्ता प्रमाणपत्र पेस गरेर उनले करोडाैँको औषधि बिक्री गरेका हुन्।

फरार बस्नेत र अग्रवाल सञ्चालक रहेका अमित मेडिसन, ड्रग सेन्टर धनगढी र डिबी मेडिसिनले वर्षौंदेखि सुदूरपश्चिमका सेती अञ्चल अस्पताललगायत विभिन्न जिल्ला अस्पताल र स्वास्थ्य संस्थामा एकलौटीजस्तै औषधि र उपकरण बिक्री गर्दै आएका थिए। साम, दाम, दण्ड, भेद सबै उपाय अपनाएर यिनीहरूले टेन्डर लिने गरेको औषधि व्यवसायी बताउँछन्। गेटा आँखा अस्पतालमा मात्र नभई अन्य स्वास्थ्य संस्थामा पनि औषधि बिक्रीमा अनियमितता भएको उनीहरू बताउँछन्।

प्रकाशित: २५ पुस २०७६ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App