२६ भाद्र २०८१ बुधबार
image/svg+xml
समाज

खाडीका नेपालीको सुरक्षाका लागि अन्तरनिकाय समन्वय समिति गठन गरिने

काठमाडौ – सरकारले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिका कारण त्यस क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि अन्तर निकाय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।

बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा मन्त्रालयमा बसेको सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको हो। उक्त संयन्त्रले त्यस क्षेत्रमा विकसित घटना क्रमलाई नजिकबाट नियाल्ने र परिस्थिति अनुसार नेपाली नागरिकहरूको सुरक्षाका लागि तयारी गर्नेछ।

परराष्ट्र मन्त्रालयको मध्य र पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा रहने संयन्त्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि रहने छन्। त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि समेत उक्त संयन्त्रमा रहने जनाइएको छ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका उच्च प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यसैबीच, सरकारले पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमलाई गम्भीरताका साथ निहालिरहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै त्यस क्षेत्रमा ठूलो परिमाणमा नेपाली कामदार कार्यरत रहेको र उनीहरूको सुरक्षा नेपालको अत्यन्तै प्राथमिकताको विषय भएको जनाएको छ। नेपालले त्यस क्षेत्रमा द्वन्द्वको अवस्था सिर्जना गर्ने गतिविधि रोक्न र संयमता अपनाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। विज्ञप्तिमा नेपाल विवाद र असमझदारीलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने पक्षमा रहेको जनाइएको छ।

प्रकाशित: २५ पुस २०७६ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App