१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

६ वर्षमा पनि बनेन टेलिकमको भवन

निर्माणाधीन नेपाल टेलिकम धादिङको भवन अलपत्र अवस्थामा।

धादिङ -  यहाँ निर्माणाधीन एउटा भवन तीन ढलान गरेर छाडिएको छ। रड, तार, भवन निर्माणका लागि ल्याइएका सामान तथा उपकरणहरू यत्रतत्र छरिएका छन्। सिमेन्टका बोरा डल्ला परेर कामै नलाग्ने भएका छन्। भुइँतलामा लगाइएको इँटाको गाह्रो लेउ जमेर कालो भएको छ। दोस्रो र तेस्रो तलामा ढलान मात्र गरिएको छ। यो ६ वर्ष अघिदेखि सदरमुकाम धादिङबेसीको शान्तबजारमा निर्माणाधीन नेपाल टेलिकम धादिङको भवनको अवस्था हो।

भूकम्प, ठेकेदार कम्पनीको ढिलाइ र पैसा निकासाजस्ता कारण देखाई निर्माणकार्य रोकिएकाले भवन अलपत्र बनेको छ। भवन निर्माणका लागि चाँदनी/राम जेभी कन्स्ट्रक्सनले २०७० चैत १८ गते नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयसँग सम्झौता गरेको थियो। सुरुवातमा केही काम भए पनि अहिले ठप्प छ। करिब एक सय बोराको सिमेन्ट चाङ लगाएर राखिएको छ। जुन एउटै बोराको सिमेन्ट काम लाग्दैन, जमेर एउटै डल्लो परेको छ। रड तथा चुरी तारहरू खिया लागेर काम नलाग्ने भएका छन्। निर्माण कार्य रोकिएको लामो समय बितिसक्दा पनि भवन निर्माणको काम सुचारु भएको छैन।

पक्की चारतले भवन निर्माणका लागि दुई करोड दुई लाख ४८ हजार सात सय ८९ रुपैयाँ ७८ पैसामा सम्झौता गरिएको नेपाल टेलिकम जिल्ला शाखा धादिङका प्रमुख श्याममणि अर्यालले  बताए। ‘२०७१ साल वैशाख २ गतेबाट २१ महिनामा भवन सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म भवनले पूर्णता पाएको छैन,’ उनले भने, ‘लामो समयदेखि निर्माण सुरु भएको भवनको बनेको संरचना पनि दिन प्रतिदिन जीर्ण बन्दै गएको छ।

२०७० सालदेखि भाडाको घरमा सञ्चालन हुदै आए पनि निर्माणाधीन भवनले पूर्णता पाउन नसकेको नेपाल टेलिकम धादिङका प्रमुख अर्यालले बताए। ‘घर बन्ला भन्दै कुरेको बर्षौ भयो तर बन्ने छाँटकाट देखिएन,’ उनले भने, ‘कार्यालयको भवन बन्ला र सरौंला भनेको प्रयोगमा नआई निर्माणाधीन भवन भत्किने भयो।’ टेलिकमले घर भाडा मात्र मासिक ८० हजार तिर्छन्। त्यही पनि घरधनीले घर खाली गरिदिन पटकपटक अनुरोध गरिहेको उनले सुनाए।   

भवन अभावका कारण सेवाग्राहीलाई सेवा तथा सुविधा विस्तार गर्न समस्या भएको अर्यालले बताए। कार्यालय भवन बन्दै छ। तर, सेवा विस्तार गर्न टावर राख्न सकिएको छैन। कार्यालयमा प्रयोगमा ल्याइने सामग्री राख्ने ठाउँ पनि छैन। ठेकेदारले पटकपटक समय थपे पनि बनाउन सकेको छैन। करिब आठ लाख रकम जरिवाना मात्र तिरिसकेका छन्।

आफ्नो भवन नहुँदा भाडाका घरमा बसेर कार्यालय सञ्चालन गर्नुपरेको छ। जसका कारण कार्य सम्पादनमा समेत निकै समस्या उत्पन्न भएको दूरसञ्चार शाखा कार्यालय धादिङले जनाएको छ। कार्यालय सञ्चालन र दूर सेवा सञ्चारका लागि आवश्यक उपकरणहरू राख्ने सुविधायुक्त कोठा भाडाको घरमा नभएका कारण सेवा प्रदानमा समेत समस्या उत्पन्न भएको कार्यालयले जनाएको छ। भवन अभावका कारण सामान पनि सुरक्षित तरिकाले राख्न नपाउँदा झनै समस्या थपिएको प्रमुख अर्यालले बताए।

भवनको पिल्लर र ढलानबाहेक अन्य काम हुन सकेको छैन। बनेका संरचना पनि कमजोर देखिन्छन् भने केही भाग भत्कनसमेत सुरु भइसकेको छ। बहाना खोज्ने र समयसीमा मात्र थप्न खोज्ने काम ठेकेदार कम्पनीले गर्दै आएको क्षेत्रीय निर्देशनालय त्रिपुरेश्वरले जनाएको छ।

प्रकाशित: २५ पुस २०७६ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App