१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘छोरालाई जलाएर हाम्रो साहारा खोस्ने को हो?’

धादिङ– धादिङको थाक्रे गाउँपालिका वडा नं २ उज्यालो गाउँकी सरस्वती कार्कीको परिवार शोकमा डुबेको छ। सहारा दिने छोराको मृत्युपछि न दिनमा भोक छ न रातमा निन्द्रा।

कहिले बेहोस भएर ढल्छिन् भने कहिले छोरा सम्झेर भक्कानिन्छिन्। घरको जेठो छोरा गुमाउनुपर्दा आमा सरस्वतीको पीडा खपिनसक्नुको छ।

 घर नजिकैको जंगलमा आगो लगाइदिएको अवस्थामा छोरा सन्तोष कार्कीको शव फेला परेपछि कार्की परिवारको खुसी पनि जलेको हो। 

‘आँखै अगाडी छोराको शव देख्नुपर्दा पीडा भएको छ, विश्वास लागेको छैन, मन थाम्न सकिरहेको छैन’ उनले भनिन्, ‘शरीर पूरै जलेको छ, कसैले मारेर पछि आगो लगाइदिएकै हो।’

२१ वर्षीय छोरा सन्तोष कार्कीको शव घर नजिकैको जंगलको खोल्सामा डढेको अवस्थामा फेला पर्‍यो। गत मंसिर २४ गतेदेखि सन्तोष हराएका थिए।

मिलमा गएका आमा र खेतमा गएका बुबा र बहिनी बेलुकी मात्रै आए। त्यतिबेला छोरा घरमा थिएन। छरछिमेकमा गए होला भनेर त्यति खोजी गरेनन्। राती अबेरसम्म घर नफर्किएपछि खोजी गरियो तर भेटिएनन्। आफन्त, साथीभाई सबै ठाउँमा खोजी भयो तर छोराको अत्तोपत्तो लागेन। 

५१ वर्षीय बा शरण कार्कीका अनुसार सन्तोष चारवर्ष अघिदेखि गाडी लाइनमा सहचालकको रुपमा काम गर्ने गर्थे। डेढ वर्षअघि गाडी लाइनमा हिड्दा सामान्य झगडा हुदाँ अर्को ट्रकका मानिसहरु आएका कुटपिट गर्न थालेपछि भागेर ज्यान बचाएका थिए।

दशै यताबाट आमाबुबासँग घरमा बस्दै आइरहेका सन्तोष न साथीभाईको लहैलहैमा जाने, न जाँडरक्सी खाने गर्थे। प्रहरीले पनि सन्तोषलाई खोजे तर पत्ता लागेन। मन काँपेर बस्नु बाहेक कार्की परिवारमा अर्को विकल्प थिएन।        

हराएका छोरा १५ दिनपछि पुष ९ गते घर नजिकैको करिब १ किलोमिटर टाढा जंगलमा मृत अवस्थामा भेटिए। गाउँकै बालबालिकाहरु खेल्न गएको बेला थाक्रे गाउँपालिका वडा नं २ गणेशस्थान नजिकैको जंगलमा जलेको अवस्थामा सन्तोषको शव भेटिएको हो। छोराको शव जलेको अबस्थामा भेटियो भन्ने खबर पाउँदा आमा, बुबाको मन भाँचियो। रुवाबासी चल्न थाल्यो। चिन्नै नसक्ने गरी जलेको शव आमाले हेर्न सकिनन्। 

इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा आए र मुचुल्का उठाएर काठमाडौंस्थित टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि लगियो। पोष्टमार्टम रिर्पोटमा अस्पतालले मारेर आगो लगाइएको पुष्टि गरेको सन्तोषका बुबा शरण कार्कीले बताए। ‘घटनाको प्रकृति हेर्दा पनि मेरो छोरा आफै मरेको होइन कसैले मारेर आगो लगाइदिएको हो’, मारेर भित्तामा अढेस लगाएर राखेको अवस्थामा भेटियो’ उनले भने, ‘जसले मेरो बुढेसकालको सहारा खोस्यो, हत्यारालाई कडा कारबाही भएमात्रै छोराको आत्माले शान्ति पाउँछ।’ 

‘छोरालाई जलाएर हाम्रो साहारा  खोस्ने को हो? चाहे म नै होस् चाहे जो भएपनि हत्याराले सजाय नपाइ मेरो छोराको आत्माले शान्ति पाँउदैन’ उनले भने,‘प्रहरीले घटना भएदेखि निरन्तर अनुसन्धान मात्रै गरिरहेको छ। हत्यारा चाडै पत्ता लाग्ने आश्वासन प्रहरीले दिइरहेको छ।’ तर यति लामो समय हुँदा पनि हत्यारा पत्ता नलाग्दा झन निराशा थपेको उनले बताए। 

छोरा हराएको एक महिना र शव फेला परेको १५ दिन बित्यो। घटनाको अनुसन्धान गर्न दैनिक रुपमा घरमा प्रहरी आउने गर्छन् तर छोरालाई कसले मार्‍यो भन्नेबारे पत्ता लाग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले घटनाको अनुसन्धान भइरहेको बताए। 

प्रकाशित: २४ पुस २०७६ ०९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App