१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महिलामा यौनरोग संक्रमण बढ्दो

डोटी– नेपाल परिवार नियोजन संघ डोटीले सन् २०१६ को हालसम्ममा एक हजार ३ सय ४४ महिलाको स्वास्थ्य परीक्षण ग¥यो। जसमा ७ सय ८२ जना महिलामा यौनरोगको संक्रमण देखिएको छ । जुन करिब ५९ प्रतिशत हुन आउँछ ।

नेपाल परिवार नियोजन संघ डोटीले आफ्नै शाखामा रहेको क्लिनिकमा र शिविरमा गरेर दुई किसिमले महिलाको स्वास्थ्य परिक्षण गर्दछ । जसमा गाउँमा पुगेर शिबिरमा गरिएका परिक्षणमा यो अबस्था झन बढी देखिएको छ ।

संघले यसबर्ष बाँझककानी, सरस्वतीनगर,गैरागाउँ, डौड, कालिकास्थान, दहकालिकास्थान र  मुडेगाउँ गाविसमा पुगेर शिबिर संचालन गरेको थियो । ती शिबिरहरुमा कुल एक हजार ६२ जना महिलाको परिक्षण गरिएकोमा ६ सय ४५ जना महिलामा यौनरोगको संक्रमण भेटिएको तथ्यांक छ । जसको दर ६१ प्रतिशत हुन आउछ ।

यस्तो तथ्यांक आएको यो पहिलो पटक होईन् । परिवार नियोजन संघले तीन बर्षअघि देखि यसरी नै महिलाको स्वास्थ्य परिक्षण गर्दै आएको छ ।जसमा बर्षेनी महिलाहरुमा यौनरोगको संक्रमण देखिने दर बढ्दै गैरहेको छ ।  

संघले सन् २०१४ मा कुल ३ सय २८ जनाको परिक्षण गरेको थियो । जसमा ९५ जनामा यौन संक्रमण देखिएको तथ्यांक छ । सन् २०१५ मा चार सय ४१ जनामा गरिएको परिक्षणमा २ सय जना महिलामा यौनरोगको संक्रमण देखिएको छ ।

‘खासमा हामीले गर्ने परिक्षण भनेको पाठेघरको मुखको क्यान्सर लाग्ने सम्भाबित अबस्थाबारे हो । साथमा यौनिक समस्याको पनि जानकारी लिन सकिन्छ,’ नेपाल परिवार नियोजन संघ जिल्ला शाखा डोटीका प्रबन्धक चेतराज फुलारा भन्छन्, ‘जताको परिक्षणमा पनि अधिकांश महिलामा यौनरोगको समस्या देखिन्छ ।’

ग्रामीण क्षेत्रमा शिबिर संचालन गर्दा  यौनरोग भेटिने दर अत्याधिक रहेको प्रबन्धक फुलाराको भनाई छ । ‘शहरी क्षेत्रमा अलि चेतनास्तर राम्रो भएको र पटक–पटक उपचार गर्ने भएकाले कम पाईन्छ । गाउँमा जाँदा त, यो समस्या निकै बिकराल देखिन्छ,’ उनले भने ।

जिल्ला अस्पताल डोटीमा पनि यौनरोगको संक्रमण भएका   बिरामीहरु आउने क्रम निरन्तर   बढीरहेको अस्पतालले जनाएको छ ।  फोहोरी आनीबानी, व्यक्तिगत सरसफाईमा ध्यान नदिईनु, चेतनाको अभाव र यौन सम्पर्क राख्दा  सुरक्षामा ध्यान नदिईनुले यौन संक्रमण बढेको प्रबन्धक फुलारा  बताउछन् ।

यौन रोग लागेका महिलाहरुले रोग लुकाएर बस्ने समस्या पनि उत्तिकै रहेको उनी बताउछन् । उनले भने, ‘सामान्य यौन रोगको सहजै उपचार हुन्छ, तर रोग लुकाएर बस्ने प्रबृत्तीले जटिलता ल्याएको छ ।’

प्रकाशित: ७ पुस २०७३ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App