१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

समस्यै समस्यामा कान्तिबाल अस्पताल

काठमाडौं - कान्तिबाल अस्पताल समस्यै समस्याले घेरिएको छ। मंगलबार अस्पतालको ५८ औं वार्षिकत्सोवका अवसरमा अस्पतालका निर्देशक डा.आरपी बिच्छाले मुलुकको एक मात्र बाल अस्पतालमा अनेकौं समस्याबाट गुज्रीनु परेको भन्दै मन्त्री र सचिवलाई गुनासो गरेका थिए। अस्पतालमा अहिले आइसियु, चिकित्सक तथा जनशक्ति अभाव, भौतिक पूर्वाधारको अभाव हुँदा पुराना भवनमा काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

सरकारले वृद्धि गरेको २७ प्रतिशत तलवभत्ता विकास समिति तर्फका कर्मचारीका लागि व्यवस्थापन गर्न नसकिएको निर्देशक डा. बिच्छाले बताए। उनका अनुसार अस्पतालमा २० जना मेडिकल अधिकृत, ३० जना नर्सिङ कर्मचारी तत्काल आवश्यक रहेको छ। अस्पतालले पछिल्लो एक वर्षमा भने केही सुधारका काम गरेको उनले बताए। विभिन्न संघ संस्थाको सहयोगमा केही भौतिक पूर्वाधारका काम गरिएको उनको भनाइ छ।

कार्यक्रममा काठमाडौं महानगरपालिका–३ का वडाध्यक्ष दिपक केसीले कान्तिबाल अस्पतालको विकास समिति र अस्पतालका प्रमुख दुवैको भूमिका फितलो हुँदा विभिन्न समस्याबाट गुज्रीनु परेको आरोप लगाए। अस्पताल विकास समितिका पूर्वसदस्यसमेत रहेका केसीले बाल अस्पतालको सुधारका लागि मानवस्रोतको व्यवस्था मुख्य समस्या रहेको बताए। मावनस्रोतको व्यवस्थापनका लागि संघीय सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकलाई सेवा उपलब्ध गराउने अस्पताल आफै विरामी नहुन आग्रह गरेका थिए। अस्पतालका समस्या समाधानका लागि सक्दो सहयोग गर्ने उनले प्रतिवद्धतासमेत व्यक्त गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले सरकारी अस्पतालका कर्मचारीको मिलेमतोमा विरामी निजीमा पठाउने गरेको आरोप लगाएका छन्। विपन्न विरामीलाई सरकारीबाट निजी अस्पतालमा पठाउने काम बन्द गर्न उनले निर्देशन दिए। ‘पहिला विरामी सरकारीमा आउँछन् तर स्वास्थ्यकर्मीले नै निजीमा पठाउने गरेको पाइन्छ,’ उनले भने, ‘निजीमा उपचार हुन नसकेपछि पुनः सरकारीमा बोलाएर उपचार गराउने गरिन्छ त्यसैले अब यो काम बन्द गर्नुपर्दछ।’

कार्यक्रममा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. डिएन शाहले कान्तिबाल अस्पतालले बालचिकित्सा शिक्षामा महत्वपूर्ण योगदान पु-याएको बताए। यसको सुधारका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: २४ पुस २०७६ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App