१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्राविधिक एआइजी बढुवा सिफारिस विवादमा

काठमाडौं – नेपाल प्रहरी अस्पतालको प्राविधिक एआइजी बढुवा सिफारिस विवादमा परेको छ। गृह मन्त्रालयले प्रहरी अस्पतालमा कार्यरत डिआइजी डा. मिनराज पाठकभन्दा कनिष्ठ डा. आशा सिंहलाई बढुवा सिफारिस गरेका कारण विवादमा परेको हो। प्रहरी अस्पतालको एआइजीमा बरीयताक्रममा दोस्रो नम्बरमा रहेकी सिंहलाई गृह मन्त्रालयले बढुवा सिफारिस गरेको थियो। त्यसविरुद्ध डा. पाठकले लोकसेवाको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरीसमेत दिएका छन्। उनले आफूभन्दा बरीयतामा दोस्रो नम्बरमा रहेकी सिंहको बढुवा बदर गर्न आवश्यक छानबिन गर्नसमेत माग गरेका छन्।

बालरोग विशेषज्ञ रहेका डा. पाठक र उनीसँगै डिआइजीमा बढुवा भए पनि सिंह बरीयतामा दोस्रो नम्बरमा रहेकी थिइन। २०५२ सालमा प्राविधिक प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पाठक डिएसपी, एसपी, एसएसपी र डिआइजी बढुवासम्म सधैं पहिलो नम्बरमा रहेका थिए। आफूलाई पछिल्लो ३ आवको कार्यसम्पादन मूल्यंकनमै अन्याय गरिएको भन्दै त्यसको छानबिन गर्न माग गरेका छन्। ‘प्रहरी नायब उपरीक्षक(डएसपी)देखि नायब महानिरीक्षक (डिआइजीसम्मका हरेक दर्जामा म आफ्नो सहकर्मीमाझ वरिष्ठतम भई आएकोमा डिआइजीबाट एआईजीमा बढुवा नदिन षड्यन्त्रपूर्वक कार्यसम्पादन मूल्यांकनमा मलाई अस्वभाविक रुपले कम नम्बर दिएको शंका लागेको हुँदा कम नम्बर दिनुको कुनै जायज कारण नभएको र कुनै विभागीय कारबाही नभएको तथा आफ्नो पदीय दायित्व अनुरूप काम गर्दागर्दै पनि मेरो नाम बढुवाका लागि सिफारिस नभएकोले यो निवेदन न्यायका लागि पेस गरेको छु,’ डिआइजी पाठकले लोकसेवामा दिएको निवेदनमा भनिएको छ। उनले आफू इमान्दारी र निष्ठापूर्वक कार्य गर्दागर्दै आएको फलस्वरूप आफ्नो व्याचबाट हरेक दर्जामा वरिष्ठ हुँदै आएको व्यक्तिले आफू मुकामनजिक पुग्नै लाग्दा अकर्मण्यता हुनसक्ने प्रश्नै उठ्दैन, अझ बढी लगनशील, निष्ठावान र अनुशासित भई कार्य गर्दागर्दै पनि एआइजीमा मलाई कुनै पनि हालतमा बढुवा हुन नदिन कार्यसम्पादन मूल्यांकनमा कम नम्बर दिएको दाबी गरेका छन्।

डा.सिंहविरुद्ध अख्तियारमा उजुरी
डा. सिंहले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी नभई त्यसको लोगो तथा नेपाल सरकारले प्रदान गर्ने पदक नपाई पदकको समेत दुरुपयोग गरेका कारण सो बारे छानवीन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो। सिंहले कार्यालय पोसाकमै सुडान मिसनमा सहभागी भएबापत प्रदान गरिने पदक लगाएको र सरकारले प्रदान गर्ने पदक लगाइएको पाइएको छ । युनाइटेड नेसन्स मिसन इन सुडान(अनमिस) बाट प्राप्त हुने पदक सिंहले लगाएकी छिन्। तर डा. सिंहले भने आफूले कुनै पदक दुरुपयोग नगरेको बताउँछिन्। ‘मैले कुनै पदक दुरुपयोग गरेकी छैन सरकारले जे पदक दिएको छ त्यो लगाएकी छु,’ उनले नागरिकसँग भनिन। उनले आफूविरुद्ध गलत प्रचार भएको पनि उनको दाबी छ।

सरकारले प्रदान गर्ने पदक पाएबापत प्रहरी नियमावलीमा २ नम्बर पाउने व्यवस्था भएकाले सो पदकको पनि नम्बर जोडिएको सो उजुरीमा उल्लेख छ। तर उनले ०७४ सालमा सरकारले उनलाई जनसेवा तृतीय दिएको थियो। उनले सो पदक २०७५ वैशाख १ गत राष्ट्रपति विद्यादेवी भण्डारीबाट ग्रहण गरेकी थिइन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा भने पदक दुरुपयोगबारे अनुसन्धान गर्न माग गरिएको छ। आयोगमा परेको उजुरीअनुसार उनलाई पदक दुरुपयोग गरेकोमा कानुनी कारवाहीको माग पनि गरिएको छ। यदि उनले पदक दुरुपयोग गरेको पुष्टि भए मुलुकी देवानी फौजदारी संहिता कानुनअन्र्तगत सरकारी कर्मचारीको हकमा कसुरको मात्रा अनुसार एक वर्षदेखि दुई वर्षसम्म कैद र ५० हजार रुपैयासम्म जरिवाना हुनसक्छ।

प्रकाशित: २३ पुस २०७६ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App