१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वधशाला नहुँदा अस्वस्थकर मासु खान उपभोक्ता बाध्य

बैतडी- जिल्लामा पशु वधशाला नहुँदा यहाँका स्थानीय अस्वस्थ्यकर मासु खान बाध्य भएका छन्। जिल्ला सदरमुकाममै जथाभावी रुपमा मासु, माछा बिक्री गरिरहेको पाइएता पनि त्यस्ता अस्वस्थ्यकर मासु बिक्रेतामाथि रोक लगाउन कुनै पहल हुन सकेको छैन। सदरमुकामका गोठालापानी, गडी, शाहीलेक लगायतका बजारका विभिन्न ठाउँमा मासु बिक्री गर्ने घुम्ती, सडक छेउका टेबल र नालामाथि खुल्ला रुपमा मासु बिक्री वितरण भइरहेको छ।

जथाभावी खुला ठाउँमा अस्वस्थ्यकर मासुमा झिंगा भन्कि रहेको र धुलोमा राखी गुणस्तरहीन अवस्थमा बिक्री गरिरहँदासमेत सम्बन्धित निकायले भने त्यसलाई रोक्न कुनै पहल नगरेको स्थानीयको गुनासो छ। सुरक्षित र स्वस्थ मासु बिक्री वितरण गर्ने उद्देश्यले १० वर्षअघि गोठालापानीको बसपार्क छेउमा वधशाला भन्दै भवन निर्माण गरिए पनि उक्त भवन अन्य प्रयोजनमा भाडामा दिइएको छ। ‘हामीले वधशाला निर्माण गर्ने उद्देश्यले भवन बनाएका थियौं,’ दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख बिनोदबहादुर चन्दले भने, ‘तर वधशालाको लागि कसैले टेण्डर खरिद नगर्दा होटल प्रयोजनको लागि भाडामा दिएको हा।’

जिल्लाका अन्य स्थानमा पनि वधशाला छैन। स्थानीय तहले पनि वधशाला निर्माणमा चासो नदिएको स्थानीय बताउँछन्। जथाभावी काटिएका फोहर मासुले आफूहरुको स्वास्थ्यमा समस्या आउने गरेको उनीहरुको भनाइ छ। पशु वध र बिक्री एकै स्थानबाट गरिँदै आएको छ। स्वस्थ मासुका लागि वध गर्नुअघि १२ घण्टा पशुलाई भोकै राख्नुपर्ने, वध गरिसकेपछि सबै रगत निथ्रिन दिनुपर्ने र १२ घण्टासम्म मासु फ्रिजिङ्ग गर्नुपर्ने भए पनि त्यो मापदण्ड लागू हुन नसकेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख मोहनदेव भट्टले बताए। व्यवस्थित वधशाला नहुँदा खानयोग्य र अयोग्य पशुपंक्षी एकै स्थानमा राख्ने, सबैले देख्नेगरी खुल्ला ठाउँमा राख्ने, छालासहित बिक्री गर्ने, डिप फ्रिजिङ नगर्ने भएकोले  जिल्लामा अस्वस्थ मासु बिक्री वितरण हुने गरेको छ।

वधशाला नहुँदा सुरक्षित र स्वस्थ मासु पाउन समस्या भएको छ। अस्वस्थ्यकर मासुकै कारण स्वास्थ्यमा समस्या आउने जिल्ला अस्पताल बैतडीका डा.बशन्त जोशीले बताए। पशु वधशाला नहँुदा स्थानीय व्यापारीलाई सुरक्षित र सफा मासु बेच्न आग्रह गर्दै आएका खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख कृष्णदत्त लेखकले बताए। ‘हामीले स्थानीय बजारमा पटकपटक अनुगमन गर्दै आएका छौं,’ उनले भने, 'तर वधशाला भए मासु अझै सुरक्षित गर्न सकिन्थ्यो।’

प्रकाशित: २२ पुस २०७६ ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App