१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुदूरपश्चिममा दिनहुँ हजार पर्यटक

धनगढी –  सुदूरपश्चिममा भ्रमण वर्ष २०२० सुरु भएयता दिनहुँ एक हजारभन्दा बढी पर्यटक आइरहेका छन्। यस प्रदेशमा आउने धेरैजसो पर्यटक भारतका हुन्। भारतबाट आएका पर्यटक डडेल्धुरासम्म पुगेर हिउँसँगै रमाउने गरेका छन्।

प्रदेश ट्राफिक कार्यालयको तथ्यांकअनुसार धनगढीको त्रिनगर, महेन्द्रनगरको गड्डाचौकी र टीकापुरको खग्रौला नाकाबाट मात्र प्रत्येक दिन हजारभन्दा बढी भारतीय पर्यटक आइरहेका छन्। सबैभन्दा बढी धनगढीको त्रिनगर नाकाबाट पर्यटक आउने गरेका छन्। भ्रमण वर्ष सुरु भएको पहिलो दिन पुस १६ गते एक हजार ८० जना पर्यटक सुदूरपश्चिम प्रदेशमा आएको ट्राफिक प्रदेशका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए। पाँच दिनमा तीन नकाबाट मात्र चार हजार चार हजार पाँच सय ६१ पर्यटक सुदूरपश्चिममा आइसकेका छन्। ‘मौसम प्रतिकूल भएका बेला अलि पर्यटक कम आए, दिनहुँ हजारभन्दा बढी पर्यटक आइरहेका छन्,’ उनले भने, ‘पर्यटक आउने क्रम बढेको छ।’ पुस २० गते एक हजार एक सय ७५ जना पर्यटक आएका छन्।

सुदूरपश्चिमबाट भारतका उत्तरप्रदेश, उत्तराखण्ड, हरियाना, दिल्ली राज्यका धेरै सहर र वस्ती ८–१० घण्टाको सडक दूरीमा रहेकाले भारतीय पर्यटकको ठूलो सम्भावना यस प्रदेशमा रहेको पर्यटन व्यवसायी कृष्ण महरा बताउँछन्। यहाँबाट तीन सयदेखि चार सय किलोमिटर दूरीमा भारतको राजधानी नयाँ दिल्लीलगायत ३० करोडभन्दा बढी जनसंख्या रहेका भारतीय सहर र वस्ती छन्। भारतको राजधानी दिल्ली, गुडगाउँ, लखनउ, रुद्रपुर, कानपुर, देहरादुन, बरेलीलगायत आधा दर्जनभन्दा बढी सहर नजिक छन्।

हिउँमा रमाए पर्यटक
सुदूरपश्चिममा गत बिहीबार बाक्लो हिमपात भयो। भारतीय नाकाबाट करिब एक सय २० किलोमिटर दूरीमै भीमदत्त पन्त राजमार्गअन्तर्गत डडेल्धुराको हगुल्टेमा तीन फिटभन्दा बढी हिउँ परेको थियो। डडेल्धुरामा पनि हिउँ खेल्न पर्यटक पुगे।‘दुधुवा नेसनल पार्क घुम्न आएका थियौं, केही घण्टामै हिउँ हेर्न पाइन्छ भन्ने थाहा पाएपछि डडेल्धुरा पुगेर हिउँको मजा लियौं,’ परिवारसहित आएका भारतका मुरली मौराले भने, ‘हिउँमा सपरिवार धेरै रमाइलो भयो।’

सूचना संकेत नहुँदा पर्यटकलाई कठिनाइ
सरकारले भ्रमण वर्ष २०२० वर्षमा २० लाख पर्यटक भित्र्याउने भनेर उद्घाटन भव्य गरे पनि पर्यटकलाई रिझाउने र खुसी बनाउने योजना र तयारी गर्न सकेको देखिँदैन। भ्रमण वर्षको सुरुवातसँगै सुदूरपश्चिम प्रदेशमा आएका पर्यटकले पर्यटकीय स्थलसम्म पुग्ने सूचना संकेत नभएको, सवारीसाधनमा तेल हाल्ने ठाउँ कति दूरीमा छ भन्ने सूचना अभाव र खाने बस्नेसमेत सुविधा नभएको भन्दै गुनासो गरेका छन्।

‘रमणीय स्थल छन्, अझै हिउँमा सपरिवार खेल्न पाउँदा धेरै रमाइलो भयो,’ भारतबाट आएका सुधिश विध्यारथीले भने, ‘खान बस्न र जानकारीमूलक संकेत नहुँदा हामीलाई गाह्रो भयो।’डडेल्धुरा पुगेर फर्किदा राजमार्ग क्षेत्रमा इन्धन सकिएपछि समस्यामा परेको उनले बताए। ‘खान र बस्नको सुविधा खोज्न पनि समस्या भयो,’ उनले भने, जानकारीमूलक संकेत र बोर्ड भइदिए सहज हुन्थ्यो,’ प्राकृतिक सुन्दरताले मन लोभ्याएको उनले बताए।

भारतीय पर्यटकले यहाँ सुविधा राम्रो छैन भन्ने सन्देश लगेर गएमा आउने पर्यटक संख्या घट्नेमा पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। ‘सरकारले धुमधामसँग उद्घाटन मात्र गरेर पुगेन, वर्षभरी लाखौं पर्यटक नेपाल भित्र्याउने तयारी र योजना बनाउनु प-यो,’ नेपाल उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य गोपाल हमालले भने, ‘पर्यटकलाई बस्ने, खाने सुविधा, सुरक्षा र आत्मसम्मान हुने अवस्था हुनुपर्छ।’ सुदूरपश्चिममा गोरो छालाका पर्यटक नआउने र भारतीय पर्यटक नै भित्र्याउने योजना बनाउनु पर्ने उनको भनाइ छ। ‘गोरो छाला भएका पर्यटकभन्दा पनि भारतीय पर्यटक पैसा खर्च पनि बढी गर्छन्।’

सुदूरपश्चिममा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण प्रशस्त पर्यटकीय स्थल छन्। स्कन्दपुराणको मानसखण्डमा प्रदेश ७ मा रहेका घोडाघोडी, खप्तडदेखि कैलाश सरोवरसम्मका धेरै स्थलको वर्णन गरिएकाले भारतीय धार्मिक पर्यटनको ठूलो सम्भावना छ। गोदावरी धाम, परशुराम धाम, दिल्पेश्वर धाम र वैद्यनाथ गरी चार धाम सुदूरपश्चिममा छन्। दुर्लभ सात देवी बहिनीका मन्दिर पनि यहीं छन्। बाजुरामा रहेका बडीमालिका, डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको निंगलाशैनी, त्रिपुरासुन्दरी, डिलाशैनी र मेलौली सात बहिनी भगवती हुन्।

प्राचिन महत्वका देवलका साथै घोडाघोडी ताल, टिकापुर पार्क लगायत पर्यटकीय स्थल यहीं छन्। यसैगरी साहसिक पर्यटनको पनि यहाँ सम्भावना छ। साहसिक पर्यटनका लागि अपि, सैपाल लगायत हिमाल पर्वतारोहणको सम्भावना छ। मनोरन्जनका लागि खप्तड, बढीमालिका, रामारोशन, शुक्लाफाँटा, वेदकोट ताल, घोडाघोडी ताल, टीकापुर पार्कका साथै कर्णालीमा -याफ्टिङको आनन्द लिन सकिन्छ। थारु संस्कृति, सौका/व्यासीको संस्कृति, गौरापर्व, विभिन्न भेषभूषा, मेला, पर्वले पर्यटकलाई आकर्षण गराउन सक्छन्।

प्रदेश सरकारले भ्रमण वर्ष २०२० मा लाखौं पर्यटक भित्र्याउन योजना बनाउने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए। ‘पर्यटकलाई दिइने सेवा, सुविधा र सुरक्षामा कुनै कसर बाँकी नराखी बढीभन्दा बढी पर्यटक भित्र्याउन प्रदेश सरकार लाग्ने छ,’ उनले भने।

सीमामा भारतीय पर्यटकलाई अनेक बहानामा प्रहरी लगायतबाट हुने ज्यादती र सास्ती कम हुनुपर्ने उनको भनाइ छ। ‘सुरक्षा, सम्मान र मनोरन्जन प्राप्त गर्न सकिन्छ भन्ने अवस्था सिर्जना गर्न सकिए पर्यटक आउँछन्,’ उनले भने।भारतमा नैनितालबाहेक अन्य गन्तव्य नभएकाले सुदूरपश्चिम प्रदेशमा ती पर्यटक आउनसक्ने भारत उत्तरप्रदेशका पत्रकार विवेक पाण्डेयको भनाइ छ। ‘खान, बस्नका लागि राम्रो सुविधा र सुरक्षा छ भन्ने सन्देश प्रवाह गर्न सकिए भारतबाट सुदूरपश्चिममा ठूलो संख्यामा पर्यटक आउन सक्छन्,’ उनले भने।

सीमा नाकाबाट ४८ किलोमिटर दूरीमा रहेको कैलालीकै खानीडाडाका साथै डडेल्धुरालगायत पहाडी जिल्लाका विभिन्न ठाउँ तराईको गर्मी छल्न सम्भावना भएका ठाउँ हुन्। यसका साथै यहाँबाट थुप्रै हिमाल हेर्न सकिन्छ।

प्रकाशित: २२ पुस २०७६ ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App