१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'मेयरसाब, विकासे काममा किन ढिलाइ'

गोरखा – ‘योजना छनोट साउन/भदौभित्रै गरिन्छ, उपभोक्ता समिति पनि बनिसक्यो,’ गोरखा नगरपालिका–१० की सदस्य जुनमाया श्रेष्ठले भनिन्, ‘मेयरसाब् विकासनिर्माणको कामचाहिँ किन अहिलेसम्म सुरु नभएको ?’ गोरखा नगरपालिकाले चालू वर्ष सञ्चालन गर्ने विकासनिर्माणका काम कार्यान्वयन ढिला भएको भन्दै नगरप्रमुख लाई उनले प्रश्न गरिन्, ‘काम थालौं भन्दा स्टमेट भएको छैन, नापजाँच हुनुपर्छ भन्नुहुन्छ, कहिले सुरु गर्ने ?’

‘योजना छनोट भएर उपभोक्ता समिति बनेपछि पनि किन काम ढिलो भइरहेको छ ?’ सोमबार गोरखा सदरमुकाममा आयोजित महिला जनप्रतिनिधिसँग नगरप्रमुखको अन्तरक्रियामा सहभागीले भने। वडा सदस्यलाई काम भएपछि मात्रै थाहा हुने, वडा अध्यक्षले जिम्मेवारी नदिने, अति आवश्यक परेको ठाउँमा मात्रै सहभागी गराउनेलगायत गुनासो महिला सदस्यको थियो। वडानम्बर ८ की राधिका कट्टेलले भनिन्, ‘हामीलाई वडामा के भइरहेको छ भन्ने कमै मात्र थाहा हुन्छ, वडा कार्यालयमा सदस्यको भूमिका र कामको जिम्मेवारी अलि धेरै भए हुन्थ्यो।’ वडानम्बर १४ की पवित्रा बिकले दलितका लागि छुट्याएको ३ लाखमध्ये पनि ५० हजार विपद्का लागि छुट्याउने भनेकाले लक्षित वर्गको बजेट कार्यान्वयनमा पनि महिला आवाजको बेवास्था गरिएको गुनासो गरिन्। त्यस्तै वडानम्बर ७ की मैना रोकाले महिला सदस्य र दलित सदस्यले बोलेका कुरा खासै सुनुवाइ नभएको बताइन्।

यस्ता धेरै गुनासापछि नगरप्रमुख पन्तले महिला तथा दलित सदस्यको गुनासो सुन्नकै लागि आफूले अन्तक्रिया गरेको बताए। सदस्यहरूले राखेका सवालको जबाफ दिँदै उनले भने, ‘नगरपालिकामा प्राविधिक थोरै भएकाले योजना कार्यान्वयनमा ढिलाइ भएको हो, मंगलबारबाट तीनवटा टोली वडास्तरमै पुगेर योजना सम्झौताका लागि खटिन्छन्, गत वर्षभन्दा ढिला केही योजना सुरु पनि भएको छ।’ लोकसेवा आयोगले पदपूर्ति गर्नुपर्ने कर्मचारी नआउँदा एउटै प्राविधिकले धेरै वडाको काम गर्नुपर्दा समस्या भएको उनले बताए।

वडा कार्यालयले प्राथमिकीकरण गरेर पठाएका योजना नगरबाट नकाटिएको, लक्षित वर्ग, कृषि, पशु, स्वास्थ्यलगायत काम वडाले अघि बढाउन ढिला गरेकाले महिला सदस्यलाई छिटो कार्यान्वयन गर्न नगरप्रमुख पन्तले सुझाव दिए। नगरपालिकाले आइतबार र सोमबार महिला तथा दलित सदस्यलाई क्षमता अभिवृद्धि तालिम दिएको थियो। सोच नेपालको समन्वयमा भएको तालिमको मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी, अधिवक्ता स्थानेश्वर दुवाडी, सामाजिक अभियन्ता उत्तम निरौलालगायतले धारणा राखेका थिए।

प्रकाशित: २२ पुस २०७६ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App