१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘मूड फ्रेस’ पार्न प्रचण्ड पुगे सिन्धुपाल्चोक, यसपटक सुकुटे गएनन्!

सिन्धुपाल्चोक– प्रतिनिधिसभाका सभामुख छनोटमा नेकपामा रस्साकस्सी चलिरहेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सुटुक्क सिन्धुपाल्चोक आइपुगेका छन्। 

पार्टीका केही नेता र सीमित सचिवालयका सहयोगी लिएर आएका उनी चौतारा साँगाचोकगढी नगरपालिका—९ कदमवासका एक कार्यकर्ताको घरमा बास बसेका छन्। प्रचण्ड साँझ पार्टी कार्यकर्ता बलराम गिरीको घर पुगेका थिए।

‘अध्यक्षज्यू आराम र मुड फ्रेसका लागि आउनु भएको हो,’ प्रचण्डका एक सहयोगीले नागरिकसँग भने। पेचिलो राजनीतिक अवस्थाकाबीच प्रचण्ड शान्त वातावरण खाज्दै बारम्बार सिन्धुपाल्चोक आइरहन्छन्। उनी यसअघि सुकुटेस्थित विच रिसोर्टमा बस्थे। यस पटक भने प्रचण्ड कार्यकर्ताको घरमा बास बस्न पुगेका हुन्। 

प्रचण्ड बास बसेको घरका धनी बलाराम दाहालका प्रिय कार्यकर्ता हुन्। उनले प्रचण्डलाई आफ्नो घरमा आतिथ्यताको लागि बोलाएको लामो समय भइसकेको थियो। तर अध्यक्ष प्रचण्डको समय मिलेको थिएन। यसअघि केही पटक बलारामको घर आउन समय मिलाइए पनि अन्तिममा रद्द भएको थियो। भूकम्पपछि भत्किएको घर पुनर्निर्माण सकिएसँगै बलाराम अध्यक्ष प्रचण्डलाई आफ्नो घरमा स्वागत गर्न चाहन्थे। 

यसलाई ध्यान दिँदै बलरामले गाडी पार्किङसहितको घर बनाएका छन्। अध्यक्ष प्रचण्ड पनि बलरामले बनाएको खानाको परिकार खान रुचाउँछन्। यसअघि प्रचण्ड सुकुटे विचमा बस्दा पनि परिकार तयार गर्न भने बलरामलाई नै बोलाइन्थ्यो। ‘अध्यक्षज्यू खाना जस्तो भए पनि मिठो मानेर खानुहुन्छ,’ जिल्ला स्तरीय एक नेताले भने, ‘बलरामले बनाएका खाना परिकार उहाँ (प्रचण्ड)ले निकै स्वादिलो मान्नु हुन्छ।’

शान्ति प्रक्रियापछिदेखि नै सुकुटेसँग अध्यक्ष प्रचण्डको साइनो गाँसिएको हो। यो पटक आरामकै लागि आएकाले नेता, कार्यकर्ता भेटघाट लगायत अन्य कुनै औपचारिक कार्यक्रम नरहेको जिल्ला पार्टी स्रोतले जनाएको छ।

प्रकाशित: २१ पुस २०७६ १३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App